विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विकासमा विराटनगर पछि परे देशै पछि पर्ने भन्दै सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मोरङ व्यापार संघको आयोजनामा सुरु भएको मोरङ व्यापार संघ एक्स्पो २०२३ को शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सबै मिलेर विराटनगरलाई २१औं शताब्दीको नयाँ विकासको गति र शहरका रुपमा विकास गर्ने प्रक्रियाको थालनी गर्ने बताएका हुन् । दाहालले त्यसका लागि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
‘मेरो लागि देश र जनताको सेवा र विकास बाहेक अर्को कुनै सपना बाँकी छैन, तर देशमा विद्यमान चुनौति सम्बोधनका दृष्टिले मैले एक वर्षमा गरेका काम पर्याप्त छैनन् भन्ने महसुस हुन्छ,’ उनले भने, ‘विराटनगर पछि पर्नु हुँदैन, विराटनगर पर्यो भने देश नै पछि पर्छ । हामी सबै मिलेर फेरि विराटनगरलाई अहिलेको २१औं शताब्दीको नयाँ विकासको गति र सहरको हिसाबले नयाँ प्रक्रिया थाल्नु छ, मैले सकेको सहयोग त्यसमा रहने विश्वास व्यक्त गर्दछु ।’
दाहाललाई मोरङ व्यापार संघका सात जना पूर्व अध्यक्षहरूले सात किलोको माला लगाइदिएका थिए । प्रधानमन्त्री दाहालले भने सात किलोको मालाको भारी बोकाएको भन्दै भारी बोकेर हिँड्ने र विकासको चाहनालाई सम्बोधन गर्न आफू रातदिन खट्ने प्रतिबद्धता जनाए ।
उनले विराटनगर प्रति आफ्नो दृष्टिकोण अलग रहेको बताए । मजदुर आन्दोलनको केन्द्र, उद्योग विकासको केन्द्र मात्रै नभई गिरिजाप्रसाद कोइरालाले गृहजिल्ला समेत भएको भन्दै कोइरालालाई अभिभावकको रुपमा ग्रहण गरेको बताए ।
उनले मुलुकमा केही हुँदैन भन्ने गलत भाष्य बनाउन खोजिएको प्रति असन्तुष्टि व्यक्त गरे । अर्थतन्त्र पूर्णरुपमा धराशायी भएको भन्ने टिकाटिप्पणी गलत भएको तर अर्थतन्त्र दबाबमा रहेको कुरा भने सत्य भएको बताए ।
‘व्यवसायिक वातावरण बनाउने चुनौति हाम्रो सामु कायमै छ तर मुलुकमा केही छैन, केही हुँदैन, केही गर्न सकिदैन भन्ने मनोविज्ञानबाट माथि उठ्नुपर्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘नेपालमा अत्यन्तै नकारात्मक भाष्य के निर्माण गरियो भने नेपाल खत्तम भइसक्यो भन्ने बनाउने फेसन जस्तो भइसक्यो, नेपालमा कोही ठिक छैनन्, सबै पार्टी नेताहरू सिद्धिइसके, बदमास भ्रष्ट बाहेक केही छैन, नेपालमा बस्न हुँदैन, यो भाष्य राष्ट्रवादी र देशभक्तिपूर्ण भाष्य होइन, जनतालाई निरास तुल्याएर केही गर्न सकिँदैन भन्ने भाष्य निर्माण भयो भने देशकै लागि दुर्भाग्यपूर्ण हुन्छ ।’
उनले देश प्रगतिको बाटोमा छ, केही गर्न सकिन्छ, हामीले नगरे कसले गर्छ भन्ने भाष्य निर्माण गर्नु चुनौती बनेको बताए । नेपालीहरू विदेशिने क्रम नघटेका कारण आफू पनि चिन्तित भएको उनले बताए ।
प्रधानमन्त्री दाहालले विराटनगरमा कार्गो रेल सञ्चालन गर्न सरकारको तर्फबाट आवश्यक प्रक्रिया अगाडि बढाउने विश्वास दिलाए । उनले छिटै भारतबाट उच्च नेतृत्व नेपाल आउन लागेको जानकारी दिँदै त्यतिबेला पनि कार्गो रेल सञ्चालन लगायतका विषयमा छलफल गरेर निष्कर्षमा पुगिने आश्वासन दिए ।
त्यसैगरी विराटनगरको चक्रपथ निर्माणको कुरा धेरै अगाडिदेखि अघि बढेपनि गति लिन नसकेकोले आगामी बजेटमा उच्च प्राथमिकतामा राखिने विश्वास दिलाए ।
‘चक्रपथ निर्माण धेरै अगाडिदेखि अघि बढेको छ, तर गति पछुवा छ भन्ने कुरामा मेरो ध्यान गएको छ,’ दाहालले भने, ‘यसको निम्ति आवश्यक बजेट व्यवस्था गर्ने, अहिलेको त मलाई थाहा छैन कति गर्न सकिन्छ, तर आउने नीति कार्यक्रम र बजेटमा यो चक्रपथलाई उच्च प्राथमिकतामा राखिने छ, यो विश्वास पनि दिलाउन चाहन्छु ।’
प्रधानमन्त्री दाहालले आफू तेस्रो पटक प्रधानमन्त्री भएको एक वर्ष पुग्न लागेको भन्दै यसअवधिमा गरेका र हुन नसकेका कामबारे राष्ट्रका नाममा सम्बोधनमार्फत जानकारी गराउने घोषणा गरे । उनले आफ्नो कार्यशैलीमा परिवर्तन ल्याइसकेको र कार्यशैलीमै क्रमभंग गर्न सुरु गरेको बताए ।
‘तेस्रो पटक सरकारको नेतृत्व गरेको एक वर्षको अवधि केही दिनमा पुरा हुँदैछ, यो अवधिमा के कति काम भयो, हुन सकेन, त्यसबारेमा छिटै राष्ट्रका नाममा सम्बोधन गर्दैछु’ उनले भने, ‘अर्को वर्षको लागि मेरो बुझाई र मान्यताअनुसार यो एक वर्षको निरन्तरतालाई भंग गरेर अब अर्को क्रम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेको छु । तपाईंले देख्नुभयो होला, पुस लागेपछि मैले आफ्नो कार्यशैलीबाटै परिवर्तन र कार्यशैलीमा नै क्रमभंग गर्न सुरु गरेको छु, हेर्दै जानुहुन्छ ।’
View : 133
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved