विराटनगर । मानव कंकालको अबैध ओसारपसार गर्ने ब्यक्तिलाई के कारवाही होला ? धेरै मानिसका मृत शरीर बोकेर देशको सिमाना पार गर्ने व्यक्तिलाई जघन्य अपराधमा सजाय हुने भएपनि त्यही शरीर नष्ट भएपछिका कंकाल बोक्नेलाई सजाय हुने ब्यवस्थामा कानुनी अन्योल रहेको देखिएको छ ।
भारतको जोगवनीतर्फबाट विराटनगर आएका एक ब्यक्ति आइतबार बिहान ठुलो परिमाणमा मानव कंकालसहित पक्राउ परेका छन् । तर उनलाई के सजाय हुने भन्नेमा कानुनमा स्पष्ट नभएकाले मानव कंकालको कारोबार गर्ने ब्यक्ति त्यसै छुट्ने अवस्था छ ।
यसअघि पनि यस्तै घटनामा पक्राउ परिसकेका विराटनगर–१७ का विनोद रायलाई सशस्त्र प्रहरीले ३८ थान मानव खप्पर र १० थान हाडसहित पक्राउ गरेको छ ।
उनी मानव कंकालसहित यसअघि पनि पक्राउ परेर सामान्य मुद्दामा छुटेका ब्यक्ति हुन् । सशस्त्र प्रहरी प्रस्तावित गुल्म रानीले रायलाई कारवाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएको छ ।
प्रहरी नियन्त्रणमा रहेका रायलाई के मुद्दा लगाउने भन्ने विषयमा प्रहरी र सरकारी वकिलको कार्यालय नै अलमलमा परेको देखिएको छ ।
कानुनले मानव कंकालको कारोबार गर्नेलाई कारवाही गर्नेबारे स्पष्ट नपारेकाले रायलाई कस्तो मुद्दा चलाउने भन्नेबारे थप अनुसन्धान भई रहेको जनाइएको छ ।
सशस्त्रका एक उच्च अधिकृतका अनुसार अपत्यारिलो विद्या मान्ने तान्त्रिकहरुले यस खाले मानव कङ्काल प्रयोग गर्ने गरेका छन् ।
भुटान, असम र सिक्किममा यस खाले तान्त्रिकहरु धेरै छन् । रायले मानव खोपडी र हाड तान्त्रिकहरुलाई बिक्री गर्ने गिरोहलाई दिन ल्याएको हुनसक्ने अनुमान गरिएको छ ।
जोगवनीको बाटो हुँदै नेपाल भित्र्याइएको कंकाल कहाँ लैजान लागिएको हो भन्ने अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
View : 46
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved