विराटनगर । मोरङ र सुनसरी जिल्लाको सिमानामा पर्ने इटहरी उपमहानगरपालिका–११ खनारबाट केही पूर्वमा रहेको बुढीखोलाको एउटा पूर्वाधार संरचना यतिबेला मानिसहरूका लागि रमाइलो गर्ने स्थलका रुपमा विकास भएको छ । यसलाई ‘बुढीखोला झरना’ को नाम दिएर सामाजिक सञ्जालमार्फत भाइरल बनाइएको छ ।
सामाजिक सञ्जालकै प्रचार प्रसारका भरमा अहिले यहाँ दैनिक रुपमा आन्तरिक पर्यटकहरूको भिडभाड लाग्ने गरेको छ ।
खनार चोकबाट करिब दुई किलोमिटर पूर्वतिर सुनसरी–मोरङ सिंचाइ आयोजनाको नहरलाई संरक्षण गरेर पानीलाई बुढीखोलामाथिबाट (सुनसरीबाट मोरङतर्फ पानी जाने ठाउँ) कटाइएको स्थान हो । बुढीखोलामा नहरको पानी कटाउने क्रममा निर्माण गरिएको पुल र त्यहाँबाट बग्ने पानी अहिले आन्तरिक पर्यटकहरूका लागि रमाईलो गर्ने प्रमुख स्थल बनेको छ ।
अग्लो र चिप्लो स्थानबाट पानी बग्ने भएकोले मानिसहरू चिप्लेटी खेलेर रमाउने गरेका छन् । यहाँ मानिसहरूको भिडभाड सुरु भएपछि ‘बुढीखोला झरना’ नाम दिइएको हो ।
बुढीखोलाको नियमित बहाव र इन्जिनियरिङ संरचनाका कारण मानिसहरूलाई रमाईलो स्थल बनेको छ ।
यो ठाउँ भाइरल बनेपछि अहिले साना पसल र विभिन्न प्रकारमा व्यवसाय समेत सुरु भएको छ । प्रदेश राजधानी विराटनगरसहित इटहरी, दुहवी, खनार, इनरुवा, विराटचोक लगायतका ठाउँबाट आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन् । विशेष गरी युवायुवतीले यहाँ चिप्लेटी खेल्ने, पानीमा रमाउने र फोटो–भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका छन् ।
जाडो मौसममा पनि पानीमा भिज्ने र चिप्लेटी खेल्नेको संख्या उल्लेख्य देखिएका कारण यहाँ आगामी सिजनको गर्मीमा मानिसको ठुलो भिड लाग्ने निश्चित भएको छ ।
यद्यपि यो संरचनामा केही प्रमुख चुनौतीहरू पनि उजागर भएका छन् । खासगरी, बुढीखोलामा बग्ने पानी प्रदुषित भएका कारण स्वास्थ्य जोखिम हुनसक्ने जनाइएको छ । साथै, चिप्लो सतहका कारण लडेर चोट लाग्ने र भीड तथा फोहोर व्यवस्थापन नहुँदा वातावरणीय असर पर्न सक्ने चिन्ता समेत सुरु भएको स्थानीय बताउँछन् ।
अहिले बुढीखोला झरना व्यवस्थापन समिति निर्माण गरेर पानीको गुणस्तर परीक्षण, सुरक्षा रेलिङ, सूचना बोर्ड, पार्किङ र फोहोर व्यवस्थापनको काम सुरु गरेको जनाइएको छ ।
View : 222
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved