Biratnagar, Morang, Nepal
२१ माघ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

उमागौरीका अध्यक्ष रौनियार पुर्पक्षका लागि जेल चलान

उद्‌घोष सम्वाददाता
२१ माघ २०८१, सोमवार

Advertisement

विराटनगर । मोरङको धनपालथानमा सञ्चालित उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार अनुसन्धानका लागि जेल चलान भएका छन् । अध्यक्ष रौनियारको बयानपछि आइतबार मोरङ जिल्ला अदालतमा भएको थुनछेक बहसपछि थुनामै राखेर अनुसन्धान अघि बढाउन आदेश भएको हो ।

न्यायाधीस अरुणकुमार झाको एकल इजलासले सहकारीका अध्यक्ष रहेका रौनियारलाई पूर्वक्षका लागि थुनामा पठाउने आदेश दिएको मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । अदालतको आदेश लगत्तै रौनियारलाई कारागार चलान गरिएको उनले बताए ।

माघ १४ गते मोरङ जिल्ला अदालतमा हाजिर भएका अध्यक्ष रौनियारलाई अभियोजनका क्रममा प्राप्त भएको प्रमाणका आधारमा थप अनुसन्धानबाट ठहर हुनेगरी पूर्पक्षका लागि जेल चलान गरिएको जनाइएको छ ।

उनीमाथि अदालतमा तीन दिन लामो बयान चलेको थियो ।

सहकारीको बचत रकम र ऋणीको ऋण समेत अपचलन गरेको आरोपमा उमागौरी कृषि सहकारीका अध्यक्ष रौनियारसहित २६ जना विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मंसिर २७ मा अभियोग दायर गरेको थियो । 

उक्त मुद्दापछि फरार भएर अध्यक्ष रौनियारसहित अदालतमा हाजिर भएका ८ जना मध्ये ६ जना भने धरौटीमा छुटेका छन् । धरौटी बुझाएर छुट्नेमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासमेत छन् । 

उनीसँग अदालतले १० लाख धरौटी माग गरेको थियो । सोही मुद्दामा रंगेली वडा नम्बर २ का वर्तमान वडाध्यक्ष सन्तलाल खवास पनि धरौटीमा छुटेका छन् । तर धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशी भने पूर्पक्षका लागि कारागार चलान भएका छन् । 

आरोपी २६ जनामाथि सहकारीको रकम हिनामिना गरेको आरोपमा जनही २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको हो ।

पछिल्लो पटक अदालत हाजिर भएका अध्यक्ष रौनियार भने सहकारीको कार्यालय नै बन्द गरी कागजात समेत लुकाएर बसेका थिए । 

प्रहरीले सहकारीमा छापा नै मारेर सहकारीका महत्वपूर्ण कागजात बरामद गरेको थियो ।

View : 45

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved