Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

मोराहाङदेखि प्रहरी महानिरीक्षकसम्म

कोशीको पहाडी जिल्ला तेह्रथुमका चन्द्रकुबेर खापुङले नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी सम्हालेका छन् ।
उद्‌घोष संवाददाता
२० भदौ २०८२, शुक्रवार

विराटनगर । कोशीको पहाडी जिल्ला तेह्रथुमका चन्द्रकुबेर खापुङले बिहीबारदेखि नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी औपचारिक रुपमा सम्हालेका छन् । गृहसचिव गोकर्णमणि दुवाडीको हातबाट नेपाल प्रहरीको ३२ औं महानिरीक्षकको दज्र्यानी चिन्ह ग्रहण गरेपछि खापुङले औपचारिक रुपमा प्रहरीको कमाण्ड सम्हालेका छन् । 

प्रहरी निरीक्षक हुँदादेखि डीआईजी हुँदासम्म मोरङसहित पूर्वका विभिन्न जिल्लामा रहेर काम गरेका खापुङले कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । 

महानिरीक्षकको जिम्मेवारी सम्हालेपछि उनले भने ‘तेह्रथुमको गाउँबाट निस्केको मेरो यात्रा आज नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्न सफल भएको छ । यो यात्रामा मसँग कुनै महत्वकांक्षा र प्राप्तिको मोह तथा अभिलासाले पच्छ्याउन सकेन । तर परिश्रम र मेहनत गर्ने उच्च आचरण र निर्भिक रहने प्रतिज्ञाले मलाई सधैं दिशानिर्देश गरिरह्यो ।’

तेह्रथुमको मोराहाङ उनको घर हो । अहिले मेन्छयायेम गाउँपालिका–६ मा पिता ललीतबहादुर र माता गङ्गामायाको परिवारमा २०२७ मङ्सिर २३ मा जन्मिएका खापुङले विद्यमान प्रहरी ऐन र नियमावलीको व्यवस्थाअनुसार जम्माजम्मी २ महिना ९ दिन मात्रै प्रहरी कमान्ड सम्हाल्नेछन् ।

२०५२ भदौ १९ मा प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवा प्रवेश गरेका खापुङ आगामी कात्तिक २७ मा अनिवार्य अवकाशमा जानेछन् । त्यसो त अहिले छलफलका क्रममै रहेको  संघीय प्रहरी विधेयक पास भए उनको कार्यकाल लम्बिन सक्ने सम्भावना पनि छ । तर पारित नभएकोे अवस्थामा भने उनी २ महिनाभन्दा केही दिन बढी मात्रै प्रहरी नेतृत्वमा रहनेछन् ।

नेपाल प्रहरीमा काबिल, इमान्दार र बेदाग प्रहरी अधिकृतको छवि बनाएका उनी शैक्षिक रुपले पनि बलिया मानिन्छन् । 

लैङ्गिक अध्ययनमा स्नातकोत्तर उनले उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम, अपराध रोकथाम रणनीति विकासका लागि क्षमता अभिवृद्धि कार्यक्रम, एसिया क्षेत्र कानून प्रवर्तन व्यवस्थापन कार्यक्रम, अपराध अनुसन्धानलगायत विभिन्न १४ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरिसकेका छन् ।

हक्की स्वभावका पनि मानिने खापुङ गीत लेखनमा पनि उत्तिकै चासो राख्छन् । 

छोटो समयका लागि महानिरीक्षक बनेका उनले बिहीबारको कार्यक्रममा प्रतिबद्धता जनाउँदै नराम्रो काम नगर्ने बताएका छन् । 

‘म जति समय रहे पनि सकेको राम्रो काम गर्छु, नराम्रो गर्ने छैन’, उनले भने ।

२०६४ मा प्रहरी नायव उपरीक्षक (डीएसपी), २०७३ मा प्रहरी उपरीक्षक (एसपी), २०७७ मा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र २०८० मा प्रहरी नायव महानिरीक्षक (डीआईजी) बनेका  उनी २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका थिए । एआईजीमा बढुवा हुनुअघिसम्म उनी कोशीको डीआईजी थिए । 

प्रहरी अधिकारीहरुका अनुसार प्रहरी इतिहासमै छोटो कार्यकालका लागि महानिरीक्षक बने मध्येका एक हुन् खापुङ । २०८१ चैत ४ मा ३१ औं प्रहरी महानिरीक्षकको रूपमा नियुक्ति पाएका दीपक थापापछि खापुङले प्रमुख बन्ने अवसर पाएका हुन् । थापाले जम्मा ६ महिना मात्र प्रहरी संगठनको नेतृत्व गरे । 

पदावधिका आधारमा थापा सबैभन्दा कम कार्यकाल बिताउने प्रहरी महानिरीक्षक भने होइनन् । यस अगाडि ठाकुरप्रसाद ज्ञवाली पाँच महिनाका लागि मात्र प्रहरी महानिरीक्षक बनेका थिए । 

ज्ञवाली अगाडि हेमबहादुर गुरुङ ६ महिनाका लागि प्रहरी महानिरीक्षक नियुक्त भएका थिए । त्यसो त सशस्त्र प्रहरी सङ्गठनमा १५ दिनका लागि मात्र पनि प्रहरी महानिरीक्षक नियुक्त भएको इतिहास छ । 

प्रहरीमा अहिले कायम रहेको अवकाश सम्बन्धी सेवा अवधि कायम रहेमा खापुङले यही कात्तिक २७ मा अवकाश पाएर नेपाल प्रहरीको सबैभन्दा कम कार्यकाल संगठन प्रमुख भएको इतिहास बनाउने छन् । 

यो बीचमा संसद्मा विचाराधीन रहेको प्रहरी विधेयक पारित भएमा भने उनको कार्यकाल स्वतः ६ महिना थपिने छ । आईजीपी भएको केही दिन अनुगमन, निरीक्षण र निर्देशनमा बित्ने र त्यसपछिको समय भने चाडबाड केन्द्रित सुरक्षामा उनको ध्यान हुनेछ ।  

दशैं, तिहार, छठलगायतका चाडबाडमा हरेक वर्ष प्रहरीले विशेष सुरक्षा योजना बनाएर कार्यान्वयन गर्दै आएको छ । अहिलेकै अवस्था कायम रहे छठ सकिएको एक सातापछि खापुङ अनिवार्य अवकाशमा जानेछन् ।

View : 411

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved