Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सीमा नाकाबाट १०८ जनाको उद्धार

उद्‌घोष संवाददाता
१७ पुष २०८२, बिहिवार

विराटनगर । माइती नेपालले सम्भावित मानव बेचबिखनको आशंका गरिएका १०८ जना युवती तथा महिलाको सीमा नाकाबाट उद्धार गरेको छ । दुई जनालाई भारतबाटै उद्धार गरेर अभिभावकको जिम्मा लगाइएको माइती नेपालले जनाएको छ ।

माइती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले पछिल्लो पटक सामाजिक सञ्जालको माध्यमबाट प्रलोभनमा परेर भारत जाने गरेको संख्यामा बृद्धि भएको बताए । 

उनले सन् २०२५ भित्र १०८ जनाको उद्धार गरिएकोमा सामाजिक सञ्जालको माध्यमबाट भारतीय सीमा नाकामा प्रवेश गर्नेको संख्या ११ जना रहेको जानकारी दिए । 

कामको खोजीका लागि भन्दै ४१ जना युवती तथा महिला बोर्डरबाट प्रवेश गर्न खोजेको उनले बताए ।

उद्धार गरिएकामध्ये १८ वर्ष माथिका ७६ जना रहेका छन् भने ३२ जना १८ बर्ष मुनिका रहेको जनाइएको छ ।

रानी नाकाबाट उद्धार गरिएकामध्ये सबैभन्दा मोरङका ५१ जना रहेका छन् । 

मोरङसहित १९ जिल्लाका युवती तथा महिलाहरूले रानी नाकाको प्रयोग गरेर भारत लगायतका अन्य मुलुक प्रवेश गर्न खोजेको जनाइएको छ ।

माइती नेपालले विराटनगरको रानीमा भारतीय सीमा जोगबनी नाकाको प्रयोग गरी हुनसक्ने मानव ओसारपसार र बेचबिखनविरुद्ध सचेतना अभिबृद्धिका साथै उद्धार र संरक्षणको कामसमेत गर्दै आएको छ । सीमा नाकामा कर्मचारी नै खटाएर निगरानी गरिरहेको जनाइएको छ ।

कार्यक्रम संयोजक पोखरेलका अनुसार संस्थामा यस वर्षभित्र ४७ जना व्यक्ति हराएको निवेदन प्राप्त भएको र १३ जना भेटिएको, विभिन्न प्रकारका घरेलु हिंसाबाट ५४ जना प्रभावित भएको, १७६ जनालाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको छ ।

संस्थाले सन् २०१० यता हालसम्म एक हजार ६५४ जनालाई उद्धार गरिसकेको जनाएको छ । 

तर, अभिभावकहरूमा सचेतनाको कमी हुँदा उद्धार गरिएका व्यक्तिहरूलाई लिन नआउने, एक पटक उद्धार गरिएको व्यक्ति पुनः नाकाबाट प्रवेश गर्ने, बेचबिखनविरुद्धको कार्यमा संलग्नविरूद्ध उजुरी वा बयान दिन इन्कार गर्ने जस्ता समस्या भोग्दै आएको जनाइएको छ । 

गत वर्ष पनि माइती नेपालले रानी नाकाबाटै २१८ जनाको उद्धार गरेको थियो ।

View : 115

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved