Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

इञ्जिनियर्स एसोसिएसन कोशीमा नयाँ नेतृत्व

उद्घोष सम्वाददाता
३१ भदौ २०८१, सोमवार

विराटनगर । इञ्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर्स एसोसिएसन कोशी प्रदेशको तेस्रो कार्यकारिणी नेतृत्वका लागि भएको निर्वाचनमा  नेपाली कांग्रेस निकट लोकतान्त्रिक समूहका ई जगरनाथ साह विजयी भएका छन् । 

साहले ३४८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कम्युनिष्ट निकट संयुक्त प्रगतिशील इञ्जिनियर्स समूहबाट सभापतिका उम्मेदवार ई प्रदिप नेपालले ३३७ मत प्राप्त गरे । 

सो निर्वाचनमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक समूह (सिडेन) र कम्युनिष्ट निकट प्रगतिशील समूह गरी दुई समूहमा विभाजन भई प्रतिस्पर्धामा उत्रिएका थिए । 

कोशी प्रदेश समितिका लागि ५ पदाधिकारी र १० सदस्य गरी १५ जना र एक केन्द्रीय एक जना गरी कुल १६ जना छनोटको लागि शुक्रबार विराटनगर, इटहरी र विर्तामोडमा निर्वाचन भई मतगणनापछि शनिबार मत परिमाण प्रकाशित भएको निर्वाचन आयुक्त ई प्रकाशभक्त जोशीले बताए ।

सो निर्वाचनमा नेपाली कांग्रेस निकट इन्जिनियरहरूको समूह (सिडेन) को तर्फबाट उम्मेदवारी दिएका उपसभापतिमा उमेश तुम्वाहाङ, सहसचिव पवन कार्की र कोषाध्यक्षमा सुधीर यादव विजयी भएका छन् । 

पदाधिकारीमा कम्युनिष्ट निकट समूहबाट एक जना मात्र सञ्जयकुमार झा सचिवमा विजयी भएका छन् । यसैगरी सदस्यहरूमा सिडेनबाट शोमित कामत, नितु कोइराला, प्रशान्त अधिकारी, उज्ज्वल देव, अर्पण रावत, ज्योतिनारायण चौधरी र सुवर्ण कोइराला विजयी भए ।

प्रगतिशील समूहबाट सचिव झा र सदस्यहरुमा विशाल श्रेष्ठ, राजु अन्सारी र सुमन दाहाल विजयी भए । १५ सदस्यीय समितिमा सिडेनले ४ पदाधिकारीसहित ११ जना र प्रगतिशीलबाट सचिवसहित ४ जना मात्र विजयी भएका हुन् । 

केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा भने प्रगतिशील समूहका पवनकुमार झाले ३४८ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी सिडेनका उत्तम खरेलले ३३७ मत प्राप्त गरे । 

नेपाल इञ्जिनियर्स एसोसिएसन कोशी प्रदेशका अध्यक्ष ई जयनाथ यादवका अनुसार सो निर्वाचनका लागि एक हजार २१ जना मतदाताको नाम प्रकाशित गरिएको थियो । जसमा ७ सय २७ ले मतदान गरेका थिए ।

View : 519

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved