पीपीएलएको कोशी प्रदेश बैठक इटहरीमा सम्पन्न
विराटनगर । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) नेपाल, कोशी प्रदेश कमिटीले आगामी आमनिर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित बनाउन निर्णायक भूमिका निर्वाह गर्ने घोषणा गरेको छ ।
शुक्रबार इटहरीमा सम्पन्न पीपीएलए कोशी प्रदेशको प्रथम बैठक तथा अन्तरक्रिया कार्यक्रमले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा कानुनी सचेतना र विधिको शासन सुदृढीकरणका लागि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको हो ।
कार्यक्रममा बोल्दै पीपीएलए कोशी प्रदेश इञ्चार्ज एवं नेकपा एमाले प्रदेश सदस्य अञ्जु पाण्डेले लोकतान्त्रिक प्रणालीको रक्षा र निष्पक्ष निर्वाचनका लागि कानून व्यवसायीहरूको भूमिका वाचडग(निगरानीकर्ता) का रूपमा रहने बताइन् ।
अन्तरक्रियामा सहभागी वक्ताहरूले निर्वाचन प्रक्रियामा हुन सक्ने कानुनी जटिलता निवारण र मतदाता सचेतनाका लागि पीपीएलएमा आवद्ध कानून व्यवसायीहरू आ–आफ्नो कार्यक्षेत्रमा जिम्मेवार भएर खटिने निष्कर्ष निकालेका छन् ।
प्रदेश कमिटीका अध्यक्ष महेन्द्रप्रसाद वस्तीको अध्यक्षतामा बसेको प्रथम बैठकले संगठनको भावी मार्गचित्र तय गर्दै सर्वसम्मत रूपमा १२ वटा महŒवपूर्ण एजेन्डा पारित गरेको छ । बैठकले प्रदेशका १४ वटै जिल्लामा संगठनको उपस्थिति मजबुत बनाउने र पेशागत हकहितका लागि रचनात्मक कार्य गर्ने निर्णय गरेको सचिव सुरेन्द्र बस्नेतले जानकारी दिए ।
बैठकमा पीपीएलएका केन्द्रीय सचिवालय सदस्यहरू लावण्यराज कार्की, हरिबहादुर बराल, भैरवप्रसाद सापकोटा र धनपती गड्तौलाले निर्वाचनको समयमा कानून व्यवसायीले कूटनीतिक र कानुनी सन्तुलन कायम राख्नुपर्नेमा जोड दिए ।
सुनसरी जिल्ला बार संघका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले पनि निर्वाचनको निष्पक्षतामा बारको सक्रियता अपरिहार्य रहेको धारणा राखे ।
बैठकमा कोशी प्रदेशका जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरूकोे उपस्थिति थियो ।
सो अवसरमा पीपीएलए कोशीका उपाध्यक्ष नारायणप्रसाद चौलागाईं र कोषाध्यक्ष विनोदकुमार तिमल्सीनासहित प्रदेश सदस्यहरू लोकबहादुर तामाङ, वीरेन्द्र गौतम, जयप्रकाश केरूङ, सुधीर बोहरा, चित्रबहादुर मगर, महेशकुमार खड्का र शंकर पोखरेलले संगठनको आगामी कार्ययोजनामाथि आ–आफ्ना सुझाव पेश गरेका थिए ।
पीपीएलएको यो सक्रियताले आगामी फागुन २१ को निर्वाचनमा कानुनी सुरक्षा र मर्यादा कायम राख्न थप बल पुग्ने सहभागीहरुको जोड थियो ।
View : 157
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved