Biratnagar, Morang, Nepal
२४ फागुन २०८२, आइतवार
+977 21 450305, 515728, 578305

आँगनको सरकार

वडा नम्बर १ : व्यापार र आवासको संगम

उद्‌घोष संवाददाता
२० भदौ २०८२, शुक्रवार

विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर २ आवासीय क्षेत्र त हो नै, यो एउटा व्यापारिक केन्द्र पनि हो । एकातिर सयौं ठूला–साना व्यापारिक प्रतिष्ठानहरुको उपस्थिति अनि अर्कातिर घना आवादी यो वडाको विशेषता हो ।

‘हाम्रो वडा व्यापारिक केन्द्र त हो नै, सुरक्षित र आकर्षक आवास क्षेत्र पनि हो’ वडाध्यक्ष कुमार पोखरेल भन्छन् ‘यहाँ सबै समुदायको मिश्रित बसोबास छ । वडामा क्रमशः सुविधाहरु थपिंदै गएका छन् । त्यसैले व्यापार गर्नेहरु हुन् वा घर बनाउनेहरु हुन्, धेरैको रोजाइ विराटनगर–२ बनेको छ ।’

२०७४ र २०७९ का दुवै स्थानीय निर्वाचनबाट वडावासीले निर्वाचित गरेका वडाध्यक्ष  पोखरेलको भनाइ प्रमाणित हुने प्रमाणहरु वडाभरी प्रशस्त देख्न सकिन्छ । राम्रो  शिक्षालयहरुको उपस्थिति, फराकिला र सुविधासम्पन्न बाटाघाटाहरु, शहरीको मध्य क्षेत्र भएर पनि कोलाहलमुक्त, स्वास्थ्य संस्थाहरुको पनि उस्तै सहज उपलब्धता अनि मिश्रित समुदायको बाक्लो बसोबासले पनि यो वडालाई आवासीय क्षेत्रका रुपमा स्थापित गरेको छ ।

यसबाहेक रानी–धरान ६ लेन सडक, विराटनगरलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने अर्को मुख्य बाटो मेनरोड दुवैले जोडेका कारण पनि यो व्यापारिक केन्द्र पनि बनेको छ । 

सफा सडक, उज्यालो गल्ली, क्रमशः थपिदै गएको हरियाली, मठमन्दिरहरु पनि धेरै भएको यो वडामा  व्यस्त बजारको चहलपहल पनि उत्तिकै छ ।

यो वडामा बस्ने १८ सय घरधुरीका नागरिक हुन् वा व्यापार व्यवसायकै लागि अन्यत्रबाट आएर बसेका हजारौं अरु सर्वसाधारण नै निक नहुन्, उनीहरुका  लागि विकास अब सपना होइन वास्तविकता बन्दै गएको छ ।  यसको मुख्य श्रेय वडाध्यक्ष कुमार पोखरेल  नेतृत्वमा रहेको जनप्रतिनिधि टिमलाई जान्छ । 

वडा सदस्यहरू आशा राउत, मेनुका परियार, दीपक प्रधान, शेरसिंह दुगडसहितको जनप्रतिनिधि टोली र  वडा सचिव प्रज्ज्वल पोखरेलसहितको १९ सदस्यीय कर्मचारी टोली वडाको विकासका लागि मात्रै होइन, यहाँका नागरिकलाई सेवा प्रदान गर्न पनि उत्तिकै कटिबद्ध छ । 

जनप्रतिनिधि र कर्मचारीको यही  समर्पित टोलीकै बल अनि उनीहरुलाई होस्टेमा हैंसे दिने वडावासी नागरिकको पहलले विराटनगर–२ लाई समृद्धितिर डो¥याइरहेको छ । 

वडा सदस्य दीपक प्रधानका अनुसार विराटनगर–२ एकदमै विशेष छ । 

‘किनकि यहाँ शहरको आधुनिक स्वरूप र पुरानो बस्तीको आत्मीयता दुवै भेटिन्छ’, प्रधानले भने ‘मुख्य राजमार्गदेखि सिंघिया किनारसम्म फैलिएको यो वडामा व्यापारिक चहलपहल  पनि छ र शान्त आवासीय टोलहरू पनि छन् ।’

बिहान सबेरै मठमन्दिरमा गुञ्जिने भजनले यहाँको धार्मिक वातावरणको संकेत गर्छ, भने दिउँसो बजारमा हुने  ग्राहकको भीडले यो वडालाई आर्थिक गतिविधिको केन्द्र बनाइदिन्छ ।

यो वडामा तीन सामुदायिक विद्यालय छन् । यी तीन वटै विद्यालयको स्तर सुधारका लागि वडाले पहल गरिरहेको जनप्रतिनिधि बताउँछन् । जनता माध्यमिक विद्यालय, विराट महेन्द्र रात्री माध्यमिक विद्यालय र शंकरपुर आधारभूत विद्यालय । 

‘हामीले यी तीन वटै विद्यालयलाई बलियो तुल्याउन वडाबाट बजेट दिने, अन्य अतिरिक्त क्रियाकलापमा सहयोग गर्ने गरिरहेका छौं’ वडा सदस्य मेनुका परियारले भनिन् ‘स्थानीय बालबालिकालाई सहज र स्तरीय शिक्षा वडाकै सामुदायिक विद्यालयमा उपलब्ध होस् भन्नेमा वडाको टोली गम्भीर र सचेत छौं ।’ 

सामुदायिकमध्ये जनता स्कुलमा सुरु भएको अंग्रेजी माध्यमको पठनपाठन यहाँको  विशेष आकर्षण बन्दै गएको छ ।  त्यसो त १५ वटा संस्थागत विद्यालयहरू पनि यहीं छन्, जहाँ विराटनगर मात्रै होइन, अन्यत्रका विद्यार्थीको पनि ठूलो आकर्षण छ । 

विराटनगर–२ मा आधारभूत स्वास्थ्य केन्द्र छ ।  मोरङ सहकारी अस्पताल र निजी क्षेत्रका विराट नर्सिङ होम र तापडिया आई केयर सेन्टर पनि यहीं छन् । यी सबै स्वास्थ्य प्रतिष्ठानहरुले हरेक वर्ष नागरिकलाई स्वास्थ्य सेवा दिइरहेका छन् । 

वडा कार्यालयले हरेक वर्ष आयोजना गर्ने आँखा उपचार  शिविर, ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण शिविर र विभिन्न माध्यमबाट अन्य घुम्ती सेवाहरु पनि सञ्चालन गर्दै आएको वडा सदस्य शेरसिहं दुगड बताउँछन् । 

‘अपाङ्गता भएका नागरिकका लागि सामथ्र्य नेपालसँग सहकार्य गरेर सशक्तीकरण कार्यक्रम सुरु गरिएको छ’ दुगडले भने ‘वडाका सबै क्षेत्र र लक्षित वर्गले वडाबाट लाभ लिन सकुन् भन्नेमा हामीले विशेष जोड दिएका छौं ।’ 

वडाध्यक्ष पोखरेल दोस्रोपटक निर्वाचित भएको पनि तेस्रो वर्ष पूरा भइसकेको छ । यो अवधिमा विराटनगर–२ ले  भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेख्य फड्को मारेको छ । 

वडा कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार यो वडामा अहिले २० किलोमिटर कालोपत्रे सडक, २ किलोमिटर ग्राभेल सडक र २ किलोमिटर ढलान सडकहरु छन् । यो अवधिमा १० किलोमिटरभन्दा बढी व्यवस्थित र पक्की नाला बनेका छन् ।  जसले वर्षायाममा होस् या अरु जुनसुकै याम, पानीको निकास सहज बनाएको छ ।

वडाध्यक्ष पोखरेलका अनुसार जनप्रतिनिधिहरु आउनुअघिसम्म वडाका भित्री सडक र गल्लीहरुको अवस्था लगभग बेहाल थियो । जनप्रतिनिधिहरु आएपछि  शंकरपुर जाने बाटो, त्रिभुज मार्ग, मुनालथपको बाटो, गोपीनाथ मार्ग, भूपालग्राम र कामत टोलका बाटाहरु बने । 

विस्तारै पूरा भएका यी बाटाहरुले आवागमन मात्र सहज बनाएका छैनन्, वडाको मुहारमा  परिवर्तन पनि ल्याएका छन् । वडाकै पहलमा  हनुमान मन्दिरमा भव्य  आरतीको सुरुआत भएको छ ।  

यो वडामा पहिले एउटा पनि सामुदायिक भवन थिएन । जनप्रतिनिधिहरुकै पहलमा  अहिले तीन–तीन वटा सामुदायिक भवन यहाँ ठडिएका छन्, जुन समुदायको ठूलो सम्पत्ति बनेका छन् ।  

हनुमान मन्दिर सामुदायिक भवन, चित्रगुप्त छैठी माता सामुदायिक भवन र सनातन धर्म सेवा समिति सामुदायिक भवन निर्माण भइसकेका छन् । यी तीन वटै सामुदायिक भवनले वडाका विभिन्न सामाजिक सभा, सांस्कृतिक कार्यक्रम, धार्मिक क्रियाकलापदेखि आपतकालीन आश्रयसमेतको काम गरेका छन् । 

‘खुला ठाउँ र सामुदायिक भवन हरेक सहरको गहना मात्रै होइन, लाइफलाइन पनि हो’ वडाध्यक्ष पोखरेलले थपे ‘हामीले तीन वटा भए पनि वडाको लाइफलाइन थपेका छौं ।’ 

यतिमात्रै होइन, ज्येष्ठ नागरिक भवन पनि अन्तिम चरणमा पुगेको छ । यो भवन पूरा भएपछि वृद्धवृद्धाका लागि भेटघाट, मनोरञ्जन र अनुभव आदान–प्रदानको स्थायी थलो हुने विश्वास वडाले लिएको छ । 

वडा सदस्य आशा राउतका अनुसार वडाले हरेक वर्ष लक्षित वर्गका लागि क्षमता विकास र सीपमूलक तालिम दिने गरेको छ । हालसम्म सयौं वडावासीले प्रत्यक्ष फाइदा लिएका मुख्य तालिमहरुमा जुत्ताचप्पल बनाउने तालिम, ड्राइभिङ तालिम, कम्प्युटर तालिम, सीप विकास तालिम लगायत छन् । 

‘क्षमता विकास र आयआर्जनको बाटोमा वडावासीलाई अग्रसर तुल्याउन यस्ता तालिमहरु फलदायी भएका छन्’ राउतले भनिन् ‘ यी तालिमहरूले धेरैलाई स्वरोजगार बन्न सघाएका छन् । वडाको मुख्य लक्ष्य पनि त्यही हो ।’ 

विराटनगर महानगरका बहुसंख्यक वडाहरुले जस्तै २ नम्बर वडाले पनि ज्येष्ठ नागरिकहरुलाई दिने सेवामा कुनै कन्जुस्याइँ गरेको छैन । पाका नागरिकहरु यो समाजका ज्येष्ठ नागरिकहरु त्यस्ता जीवित धरोहरहरु हुन्, जोसँग यो ठाउँको इतिहास जोडिएको छ । सुखःदुःखका अनेकौं अनुभवका कथाहरु छन् । बुढेसकाल लाग्दै गएपछि तीर्थयात्रा गर्ने रहर हरेकजसो पाकाहरुलाई हुन्छ ।

सबैले आफ्नो इच्छा पूरा गर्ने अवस्था आर्थिक कारणले सम्भव नहुन सक्छ । पाका नागरिकलाई वडाले हरेक वर्ष तीर्थयात्रा गराइदिएर उनीहरुको रहर पूरा गर्दै आएको छ । 

हरेक वर्ष सयौं पाका नागरिकलाई वडाले तीर्थयात्रामा लैजाने गरेको छ । यसले उनीहरूमा वडाप्रति आत्मीयता मात्र होइन, भरोसा पनि बढाएको छ । वडाबाट तीर्थयात्रा गएर फर्किएका पाकाहरु सन्तुष्ट देखिदा र सुनिदा वडाले ज्येष्ठ नागरिकप्रति सम्मान अर्पण गरेको अनुभव गर्दछ । 

विराटनगर–२ मा धार्मिक र सांस्कृतिक सम्पदाहरु पनि उत्तिकै छन् । जसको संरक्षण र विकासमा वडाले निरन्तर पहल गरिरहेको छ । 

हनुमान मन्दिर, सिंघिया किनारको श्याम मन्दिर, विराटेश्वर शिव मन्दिर यी स्थानहरूमा दैनिक दर्शनार्थीको भीड लाग्छ । जनता पार्कमा रहेको आइफल टावरको प्रतिकृति पर्यटक र युवाको तस्बिर खिच्ने गन्तव्य बनेको छ ।

त्यस्तै यही वडामा रहेको गोपीनाथ पुस्तकालये वडाको ज्ञान र साहित्यिक गतिविधिको केन्द्र बन्दै गएको छ । यो पुस्तकालयको आर्थिक भरथेग गर्ने अभिभावकीय भूमिका पनि वडाले नै गर्दै आएको छ । यो वडामा ८३२ वटा बिजुलीका पोल छन् । ती  सबैमा सडक बत्ती जडान गरिएको वडाले जनाएको छ । 

‘बिग्रिएका बत्ती तुरुन्त मर्मत हुने व्यवस्था वडाले गरेको छ’ वडा सचिव प्रज्ज्वल पोखरेल भन्छन् ‘यसले वडाभरीका बाटोहरुलाई  रातमा पनि उज्यालो पारेका छन् । सडक बत्तीले सुरक्षा र सहजता प्रदान गरेको छ ।’ 

वडामा विकासको गति उच्च भए पनि, कमलपोखरी क्षेत्रमा डुबान समस्या अझै चुनौतीका रूपमा खडा छ ।  वर्षातको पानीले पुराना नालाहरूको क्षमता नाघ्ने भएकाले वडाले धरान रोड पारेर गरेर नाला विस्तार गर्ने योजना अघि बढाइरहेको छ । यद्यपि ठूलो लगानी लाग्ने कारणले वडाले माथिल्लो तहका सरकारले यो काम गरिदिए हुने भन्ने आशा गरेर पहल गरिरहेको छ । 

वडाको २ करोड ६ लाखको वार्षिक बजेट योजनाबद्ध र पारदर्र्शी ढंगले खर्च हुन्छ । 

कुनै योजना उपभोक्ता समिति र ठेक्कामार्फत भए पनि नियमित अनुगमन र गुणस्तर परीक्षणपछि मात्र हस्तान्तरण गरिन्छ । 

सडक, बत्ती, विद्यालय, स्वास्थ्य—जस्तोसुकै काममा पनि वडाको प्राथमिकता नागरिक सुविधा हो । वडाले हरेक समस्या उही बेला, उही ठाउँमा समाधान गर्ने प्रयास गरिरहेको जनप्रतिनिधिहरुको भनाइ छ । 

वडावासीको खुसी हाम्रो प्राथमिकता 

कुमार पोखरेल, वडाध्यक्ष 

वडाध्यक्षका रुपमा दोस्रो कार्यकालको तेस्रो वर्ष पूरा गरिसक्नु भएको छ । तपाईंले कल्पना गरेको वडा कस्तो हो, के कति पूरा भयो सपना ?

सपना विस्तारै पूरा हुने क्रममा छ । म मात्रै होइन, हामी सिंगो वडावासीको चाहना र सपना भनेकै रातमा पनि उज्यालो सडकमा हिंड्न पाइयोस् । प्रत्येक बालबालिकाको मुहारमा हाँसो छाएको होस् । स्वास्थ्य शिविरमा राहत पाउने वृद्धको अनुहारको चमक, सीपमुलक  तालिमपछि आत्मनिर्भर बनेको युवाको आत्मविश्वास र तीर्थयात्राबाट फर्केर आउने आमा–बुबाको खुसी हाम्रो प्राथमिकता हो । यसमा हामी सफल बन्दै गएका छौं ।

यो सपना पूरा गर्न के कस्ता योजनाहरु अघि सार्नुभएको छ ? 

मैले अघि नै भनें, सपना एकैपटक पूरा नहुन सक्छ । साधनस्रोतको सिमितता र आवश्यकताको असिमितता हाम्रो मुख्य चुनौती हो । हाम्रो वडाको वार्षिक बजेट २ करोड ६ लाख छ । यो रकमलाई धेरै योजनामा लगाउनु पर्ने बाध्यता छ । पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक कल्याण हाम्रो प्राथमिकतामा हुन् । 

अहिलेसम्म भएका मुख्य मुख्य भौतिक विकास के के हुन् ?

हामीले सडक, नाला र सामुदायिक पूर्वाधारमा ठूलो प्रगति गरेका छौं । २० किलोमिटर कालोपत्रे सडक, २ किलोमिटर ग्राभेल र २ किलोमिटर ढलान सडक बनाएका छौं । १० किलोमिटरभन्दा बढी नाला निर्माण  गरेका छौं । पहिले वडामा एउटा पनि सामुदायिक भवन थिएन, अहिले तीन वटा निर्माण भइसकेका छन् । त्यस्तै भौतिक मात्रै होइन, मानवीय विकासमा पनि हाम्रो जोड छ । हरेक वर्ष लक्षित वर्गका लागि सीपमूलक तालिमहरू सञ्चालन गर्छौं । 

वडाको मुख्य  चुनौती के हो ?

हाम्रो वडा आवासीय र व्यापारिक दुवै हो, मठमन्दिर प्रशस्त छन् । कमलपोखरी क्षेत्रमा डुबानको समस्या उच्च  छ । यसको समाधानका लागि प्रयास जारी छ । 

वडाको आगामी योजना के छ ?

सडक, स्वास्थ्य, शिक्षा र सामाजिक सेवा नै हो । साथै वडावासी नागरिकलाई विकास निर्माणका काममा अझै एकाकार तुल्याउने, हरेक आयोजनामा जनसहभागिता बढाउने विषयलाई हामीले प्राथमिकतामा राखेका छौं । जनसहभागितामा हुने कामले मात्रै बलियो संरचना बन्छ । त्यसैले वडावासीलाई कसरी विकासमा बढीभन्दा बढी सहभागी गराउने भन्नेमा हाम्रो जोड रहनेछ ।
 
'मितव्ययी वडा बनाउँदैछौं'

प्रज्जवल पोखरेल, वडा सचिव

वडामा आएको ६ महिना भएकाले भूगोल पूरै अध्ययन नगरे पनि सेवा प्रवाहमा कुनै कमी गरेको छैन । सेवाग्राहीलाई भरसक फर्काएको छैन । एक दुई वटा कामसमाधान गर्न सकिएको छैन । योजनाहरु सबै कार्यान्वयन भइरहेका छन् ।

योजनामा दवाबहरु आएका छैनन् । जनप्रतिनिधि आफैं उपस्थित हुने भएकाले कर्मचारीलाई समस्या छैन । आम भेलाबाट योजना छनोट हुन्छ, प्राथमिकताका आधारमा योजना तर्जुमा हुन्छन् । 

एक वर्षमा नभए अर्को वर्षमा हुने काम छन्, उपभोक्ताबाट नभए कोटेशन र ठेक्कामा निर्माणको काम हुन्छ । साना योजना उपभोक्ताबाट हुन्छन् । ठेक्का प्रणालीमा जाँदा महानगरमा आग्रह गरिन्छ । योजना अनुगमनमा जाने, गुणस्तर कायम गर्ने र खर्च मितव्यीतामा हाम्रो ध्यान छ । 

हामीले खर्चको प्रगति विवरण तीन–तीन महिनामा नगरपालिकामा बुझाउँछौं, सूचना लिन चाहनेले वडाबाटै पाउंछन् । प्रशासनिक काम सचिवले र समन्वयको काम अध्यक्षबाट हुने गरेको छ । नागरिकको गुनासो आफैं पनि र जनप्रतिनिधिले सुन्ने गरेका छौं । 

सडक बत्ती नबलेको गुनासो बढी आउँछ, २, ३ दिनभित्रमा समाधान गर्दै आएका छौं । महिला, दलित, अपाङ्गता भएकालाई प्रत्येक वर्ष बजेट छुट्याएर कार्यक्रम गरिन्छ । आत्मनिर्भर बनाउन बिभिन्न खाले तालिम वडाबाट दिइन्छ ।

View : 198

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved