Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

टाउकामै बोकेर लामो दुरी गाँजा तस्करी

उद्‌घोष संवाददाता
५ माघ २०८२, सोमवार

शुक्रबार राति सुनवर्षीमा भरियाले फालेको गाँजा नेपाल प्रहरीलाई बुझाउँदै सशस्त्र प्रहरी नायव उपरीक्षक विदुर भट्टराई । तस्वीर : उद्घोष

विराटनगर । एम्बुलेन्स, सरकारी गाडी र सार्वजनिक बसमा समेत प्रहरीले गाँजा पक्राउ गरेपछि कारोबारीले नयाँ उपाय लगाएका छन् । टाउकोमा बोकेर लामो यात्रा गर्दै गाँजा सीमापार गर्न थालिएको छ । 

स्रोतका अनुसार धनकुटाबाट टाउकोमा बोकेरै सीमावर्ति मोरङको रंगेलीसम्म गाँजा आई पुगेको बताइएको छ । 

गत महिना रंगेली–८ स्थित खेतमा मध्य राति प्रहरीले २९ बोरा ९ सय २१ किलो गाँजा फेला परेको थियो । यतिका गाँजा २९ जनाले धनकुटाबाट बोकेर पैदल यात्रा गर्दै ल्याएको स्रोतको दाबी छ ।

‘रातभर भरिया हिँड्छन्, खेत वा एकान्तमा लुकाउँछन्, दिनभर सुत्छन्’ स्रोतले भन्यो–‘अर्को रात फेरि यात्रा सुरु गर्छन् ।’ 

शुक्रबार मध्य राति मोरङको सुनवर्षी–८ स्थित लक्ष्मीथान नजिकै ५ जना मानिस खेतको बाटो हिँड्दै थिए । सशस्त्र प्रहरीलाई शंकास्पद मानिस खेतमा हिँडेको सूचना आएपछि त्यहाँ सुरक्षाकर्मी पुगेको थियो ।

सशस्त्र प्रहरी सिक्टी बोर्डर आउट पोष्टका सुरक्षाकर्मीलाई देखेर पाँचै जना मानिस साथमा बोकेका एक–एक थान बोरा फालेर भारततर्फ भागे । 

उनीहरुले ५ बोरा करिव एक सय ५५ किलो गाँजा फालेर भागेको सीमा सुरक्षा गुल्म बरडंगाका सशस्त्र प्रहरी नायव उपरीक्षक विदुर भट्टराईले बताए । 

मध्यरातमा अध्यारो खेतबाट भागेकाले भरियालाई पक्राउ गर्न नसकिएको उनको भनाइ छ ।

प्रहरी नायव उपरीक्षक भट्टराईका अनुसार आवश्यक कारवाहीका लागि गाँजा नेपाल प्रहरीलाई बुझाइएको छ । गाँजा बोक्ने मानिस र धनीको खोजीका लागि अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । 

नेपालमा गाँजा खेतीले वैधानिकता पाउनु पर्ने बहस चलिरहेका बेला यसको उत्पादन पनि बढाउन थालिएको छ । कोशी प्रदेशमा सबै भन्दा बढी धनकुटा, भोजपुर र उदयपुरमा गाँजाको खेती हुने गरेको छ ।

नेपालमा उत्पादन भएको गाँजाको गुणस्तर राम्रो भएकाले यसको माग भारतमा बढी छ । स्रोतका अनुसार भारतीय व्यापारीहरुले नेपालका किसानलाई गाँजा उत्पादनका लागि अग्रिम पेश्की दिने गरेका छन् । 

पहाडी क्षेत्रबाट गाँजा ‘प्याक’ गरेर भरियामार्फत खेत र खोलाको बाटो तराई झारिन्छ । सीमावर्ति क्षेत्रमा पहाडबाट आएका भरियाले भारत तर्फबाट आएका भरियालाई जिम्मा लगाउने गरेका छन् ।

‘सरकारी गाडी र एम्बुलेन्समा पनि प्रहरीको निगरानी बढेकाले प्रहरीलाई झुक्याउन नयाँ तरिका खोजिन्छ’ कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलले भने– ‘पकड धकड बढेपछि उनीहरुले तस्करीको तरिका फेर्छन् ।’ 

खेत खल्यानको बाटो पनि प्रहरीले निगरानी बढाएको पोखरेलले जानकारी दिए ।

नेपालमा गाँजा खेती सम्बन्धि कानुन बन्ने बहस चल्न थालेकाले किसानले अन्न उत्पादन हुने खेतमा त्यो भन्दा बढी मुनाफा हुने भएकाले गाँजाको खेती बढाएका छन् । गाँजा खेती भएदेखि उत्पादन भएसम्म कतिपय क्षेत्रमा प्रहरीले मौन समर्थन जनाए पनि बिक्री गर्ने बेलामा भाग नपाएकाले पक्राउ गर्ने गरेको बताइएको छ ।

‘प्रहरीलाई कसको खेतमा कति गाँजा लगाइएको छ भन्ने थाहा छ, पहिलेनै त्यसलाई रोकेको देखिदैन, उत्पादन र सामान्य प्रशोधन भएपछि ब्यापारका लागि लैजाने बेलामा अवरोध गरिन्छ’ धनकुटाका एक ब्यक्तिले भने । 

खेती गर्ने बेलामै प्रहरीले अवरोध गर्ने हो भनें किसानको लगानी डुब्नबाट जोखिने उनको तर्क छ ।

View : 162

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved