विराटनगर । कोशी प्रदेश सरकारले माघ ११ देखि १३ गतेसम्म आयोजना गर्ने गरी तयारी अघि बढाएको प्रदेश लगानी सम्मेलन २०८१ को व्यवस्थापनको विषयलाई लिएर यहाँका उद्योगी व्यवसायीहरूबीच मतभेद उत्पन्न भएको छ ।
प्रदेश सरकारले उक्त लगानी सम्मेलनका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिसहित उद्योग व्यवसायी सम्वद्ध संघसंस्थालाई सहसंयोजक राखेर मुल आयोजक समिति गठन गरिसकेको छ ।
सरकारले तयार पारेको लगानी सम्मेलनको अवधारणा पत्रमा सरकारले कुनै संघसंस्थालाई लगानी सम्मेलनको व्यवस्थापकका रुपमा जिम्मेवारी तोक्न सक्ने र सम्मेनलको पूर्ण वा आंशिक कार्यहरु सम्झौता गरी गराउन सक्ने व्यवस्था गरेको छ ।
सरकारले उक्त व्यवस्था अनुसार उद्योग संगठन मोरङलाई मात्रै जिम्मेवारी सुम्पिने योजना बनाएको आरोप लगाउ“दै उद्योगी व्यवसायीहरू अहिले राजनीतिक दलका नेताहरूको दैलोसम्मै पुग्न थालेका हुन् ।
उद्योग संगठनले भने लगानी सम्मेलनकै अवसर छोपेर माघ ११ देखि २० गतेसम्म विराटनगरको डिग्री क्याम्पसको मैदानमा एक्स्पो आयोजना गर्ने तयारी अघि बढाएको छ । प्रदेश सरकारले आयोजना गर्ने लगानी सम्मेलन समेत सोही एक्स्पो स्थलमा गर्ने गरी तयारी अघि बढाएको भन्दै नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवनकुमार सारडाले असहमति जनाएका छन् ।
सारडाले संगठनका अध्यक्ष राकेश सुरानालाई आइतबार पत्र लेख्दै आपसी समझदारी अनुसार अघि बढ्न आग्रह गरेका छन् ।
सुरानाले भने परिसंघसँगकै सहमतिमा उक्त समयमा एक्स्पो आयोजना गर्न लागिएको दाबी गरेका छन् । उनले प्रदेश सरकारले आयोजना गर्ने लगानी सम्मेलन पनि सोही एक्स्पो स्थलमा भव्य रुपमा उद्घाटन गर्नका लागि संगठनले सरकारसँग सहकार्य गरेकोले निजी क्षेत्रका सवै संघ–संगठनले सहयोग गर्नुपर्ने बताए ।
परिसंघ कोशी प्रदेश अध्यक्ष सारडाले भने संगठनले पुसमा लगाउने तयारी गरेको एक्स्पोलाई आफूले नै माघ ११ देखि लगाउनका लागि सहमति गरेको बताएका छन् । तर संगठनले माघमा हुने भनिएको प्रदेश सरकारको लगानी सम्मेलनको स्थलका रुपमा एक्स्पो आयोजना गर्न लागेको भन्दै अहसहमति जनाएका हुन् ।
सारडा नेपाली कांग्रेस निकट उद्योगी हुन् । उनी कांग्रेसकै कोटाबाट संविधान सभा सदस्यसमेत भइसकेका छन् । एक्स्पो र लगानी सम्मेलनको विवाद चर्किएपछि सारडासहित परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, सल्लाहकार महेश जाजू लगायतले कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापालाई भेटेर ध्यानाकर्षण गराएका छन् ।
उद्योग संगठनका अध्यक्ष सुरानाले भने पूर्व अध्यक्ष सुयश प्याकुरेल लगायतका उद्योगी व्यवसायीहरूको परामर्शमा माघ ११ देखि सुरु हुने एक्स्पोको तयारी अघि बढाएका छन् । प्याकुरेल भने एमाले निकट उद्योगी हुन् ।
उद्योगी व्यवसायीहरूबीच राजनीतिक स्वार्थ बाझिएका कारण लगानी सम्मेलन र एक्स्पो एकै मितिमा गर्ने बिषयमा विवाद चर्किएको जनाइएको छ ।
View : 54
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved