पतञ्जली र ओशो आश्रमद्वारा विशेष शिविर आयोजना
विराटनगर । अन्तर्राष्ट्रिय ध्यान दिवसको पूर्वसन्ध्यामा विराटनगरका विभिन्न योग र आध्यात्मिक केन्द्रहरूमा विशेष ध्यान कार्यक्रमहरूले रौनक ल्याएका छन्। पतञ्जली योग समिति मोरङले पाँचदिने अभियान चलाइरहेको छ भने ओशो केन्द्रमा पनि दुईदिने ध्यान शिविर सञ्चालनमा रहेको छ।
पतञ्जली योग समिति मोरङले गत बुधबारदेखि सुरु गरेको पाँचदिने विशेष ध्यान कार्यक्रम अन्तर्राष्ट्रिय ध्यान दिवसका दिन अर्थात् भोलि (आइतबार) सम्म जारी रहनेछ।
बुधबार विराटनगर–३ स्थित प्रकाशेश्वर शिवालय योग साधना केन्द्र र परोपकार अभियान समूहको केन्द्रबाट कार्यक्रमको शुभारम्भ गरिएको थियो। बिहीबार विराटनगर–११ स्थित ज्येष्ठ नागरिक योग साधना केन्द्रमा ध्यान कक्षा सञ्चालन गरियो।
प्रकाशेश्वर शिवालय र ज्येष्ठ नागरिक केन्द्रमा पतञ्जली योग महानगर समितिका पूर्व महासचिव राजुचन्द्र दाहालले प्रशिक्षण दिएका थिए । परोपकार अभियान समूहमा पतञ्जली योग समितिका केन्द्रीय सदस्य चन्द्रमणि गुरागाईंले पाँचै दिन प्रशिक्षण दिने कार्यक्रम रहेको पतञ्जली योग विराटनगरका अध्यक्ष माधव अधिकारीले जानकारी दिए ।
कार्यक्रममा पतञ्जली योग समिति कोशीकी महासचिव शोभा कोइराला, मोरङका पूर्व अध्यक्ष सुरेश अग्रवाल, मोरङका उपाध्यक्ष दामोदर पोखरेल, संगठन सचिव महेन्द्र ओस्ती, महिला अध्यक्ष सुची चौधरी, महानगर महिला अध्यक्ष कुमारी तामाङ, महानगर महासचिव डीबी बस्नेत लगायतका पदाधिकारी एवं साधकहरूको उल्लेख्य उपस्थिति रहेको छ।
ओशो धर्म प्रदीप आश्रममा दुईदिने शिविर
विराटनगर तीनपैनीस्थित ओशो धर्म प्रदीप ध्यान आश्रममा पनि अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा दुईदिने विशेष ध्यान शिविर आयोजना गरिएको छ।
शनिबार पहिलो दिनको शिविर सफलतापूर्वक सम्पन्न भएको छ। आश्रमका अध्यक्ष विकास रुपाखेतीका अनुसार भोलि आइतबार बिहानैदेखि बेलुकीसम्म दिनभर ध्यानका विभिन्न सत्रहरू सञ्चालन हुनेछन्। ओशोका अनुयायीहरू र ध्यानमा रुचि राख्नेहरूका लागि यो शिविर विशेष फलदायी हुने विश्वास लिइएको छ।
आइतबार (भोलि) अन्तर्राष्ट्रिय ध्यान दिवस
विश्वभर हरेक वर्ष डिसेम्बरको तेस्रो आइतबार (यस वर्ष डिसेम्बर २१) लाई अन्तर्राष्ट्रिय ध्यान दिवसका रूपमा मनाइने गरिन्छ। मानसिक शान्ति, तनाव व्यवस्थापन र शारीरिक स्वस्थताका लागि ध्यानको महत्त्व बुझाउन यी कार्यक्रमहरूले ठूलो भूमिका खेल्ने सहभागीहरूले बताएका छन्।
पतञ्जली योग समितिले पहिलो पटक ध्यान दिवसको अवसर पारेर कार्यक्रम गरेको जनाइएको छ, पतञ्जलीको ध्यान दिवस पहिलो पटक विराटनगरमा सुरु गरिएको हो ।
ओशो धर्म प्रदीप ध्यान आश्रम विराटनगरले भने प्रत्येक वर्ष ध्यान दिवसमा ध्यान शिविर गर्दै आएको अध्यक्ष विकास रुपाखेतीले बताए ।
View : 467
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved