Biratnagar, Morang, Nepal
२० कार्तिक २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

राजधानीमा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ हुँदै

उद्घोष सम्वाददाता
१९ कार्तिक २०८१, सोमवार

Advertisement

काठमाडौँ, १९ कात्तिक । ‘अतिरुद्र विश्वकल्याण विराट महायज्ञ–२०८१’ बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ । 

नेपाल महर्षि वैदिक फाउण्डेसनले आयोजना गर्न लागेको उक्त महायज्ञमा करिब एक हजार पाँच सय  कर्ता हुने छन् । 

फाउण्डेसनले देशमा दिगो शान्ति र विश्वकल्याणको कामना गर्दै गर्न लागेको महायज्ञ र वेद एवं आधुनिक विज्ञान दोस्रो महासम्मेलन यही कात्तिक २५ गतेसम्म चल्ने छ । 

महर्षि महेश योगी नेपाल भ्रमणको स्वर्णमहोत्सव तथा गुरुकुलमार्फत प्रतिदिन भइरहेको यज्ञको उद्यापनका सन्दर्भमा महायज्ञ आयोजना गरिएको महायज्ञ आयोजक मूल समितिले जनाएको छ । 

महायज्ञ भावातीत ध्यान एवं सिद्धि साधक एक हजार एक सय ११ आचार्य तथा बटुक पण्डितबाट गरिँदैछ । 

नेपालमा यसरी पहिलो पटक अतिरुद्र विश्वकल्याण विराट महायज्ञ गर्न लागिएको हो । 

महायज्ञबाट नेपालमा शान्ति र सद्भावना अभिवृद्धिमा मद्दत पुग्ने महायज्ञ मूल समारोह समितिका अध्यक्ष दीपकप्रकाश बाँस्कोटा बताउछन् । 

“यज्ञ र योगलाई संसारभरमा शान्ति स्थापना गर्ने माध्यमका रूपमा अगाडि सारिएको छ । 

यसबाट नेपालसहित विश्वभर शान्ति, सद्भाव र भ्रातृत्व अभिवृद्धिमा मद्दत पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने ।

फाउण्डेसनले २०७० सालदेखि देशभरका करिब एक सय वैदिक गुरुकुलमा भावातीत ध्यान एवं सिद्धि साधनासहित यज्ञ गर्दै आएको छ । 

यस पटकको महायज्ञमा स्वयं कर्ता बन्ने र कर्ताहरूको समूहले सामूहिक आयोजना गरेको राष्ट्रको समृद्धि दिगो शान्ति र विश्वकल्याणको पहिलो महायज्ञ भएको महायज्ञका सञ्चार विभाग प्रमुख समीक्षा बाँस्कोटाले बताए । 

महायज्ञ परिवार, समाज र राष्ट्रको पुण्य प्राप्तिका साथै राष्ट्रको समृद्धिका लागि अपरिहार्य भएको उनले बताए ।  

यही कात्तिक २१ गते महर्षि महेश योगी नेपाल आगमनको स्वर्णमहोत्सव उद्घाटन तथा नेपालका मौलिक सांस्कृतिक झाँकी तथा एक सय आठ शङ्खघण्टसहित बिहान शोभायात्रा गरिनेछ । 

वैदिक ज्ञानमा नेपालले विश्वको नेतृत्व गर्न सक्छ भन्ने महर्षि महेश योगीको भनाइ रहेको छ । 

आधुनिक विज्ञान सम्मेलन हुने

महायज्ञकै दौरानमा यही कात्तिक २२ देखि २४ गतेसम्म वैदिक विज्ञान तथा आधुनिक विज्ञान दोस्रो सम्मेलन हुँदै छ । 

उक्त सम्मेलनमा विभिन्न देशबाट ७० भन्दा बढी विज्ञ एवं प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।

यसैगरी, यही कात्तिक २१ देखि २५ गतेसम्म आठौँ प्राङ्गारिक कृषि मेला तथा प्रदर्शनीसमेत आयोजना गरिँदै छ । 

अग्र्यानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एन्ड रिसर्च सेन्टर आयोजक रहेको उक्त मेलामा ५० भन्दा बढी अग्र्यानिक तथा प्राकृतिक उत्पादनका कक्ष रहनेछन् ।

मेला संयोजक शान्ता बाँस्कोटा कोइरालाले नेपालको अग्र्यानिक तथा प्राकृतिक कृषि उपजको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरणमा मेलाबाट मद्दत पुग्ने बताए । 

उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने उद्देश्यले मेला आयोजना गरिएको उनले बताए । 

मेलामा करिब ३० लाख खर्च हुने र झन्डै एक करोडको कारोबार हुने अनुमान गरिएको छ । रासस

View : 32

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved