काठमाडौं । सडक विभागले मनसुनका समयमा हुनसक्ने सम्भावित सडक अवरोध र प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै देशभर उच्च शतर्कताका साथ पूर्वतयारी पूरा भएको जनाएको छ ।
विभागले यस वर्ष पनि आफ्नो स्थापित कार्यविधिअनुसार राजमार्गहरूमा हुने अवरोध तत्काल हटाउन र यातायात व्यवस्था सुचारु राख्न विशेष योजना अघि सारेको हो ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीकाअनुसार विभागले हेर्ने कुल १५ हजार किलोमिटर सडक सञ्जालमध्ये करिव १० हजार किलोमिटर ‘अल वेदर’ सडकमा विशेष प्राथमिकताका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ ।
विभागले तय गरेको नीतिअनुसार मुख्य राजमार्गहरूमा पहिरोका कारण सडक अवरुद्ध भए दिउँसोको समयमा आधा घण्टाभित्र प्राविधिक टोली पुग्ने र सामान्य अवस्थामा दुई घण्टाभित्र बाटो खुलाउने लक्ष्य राखिएको छ ।
प्रविधिको प्रयोग र उपकरण परिचालन
विगतका वर्षहरूमा म्यानुअल तरिकाले सूचना सङ्कलन गर्ने गरिए पनि यस वर्षदेखि विभागले आधुनिक प्रविधिको प्रयोगलाई तिब्रता दिएको छ । महानिर्देशक जैसीले ‘सेतु’ नामक सफ्टवेयरमार्फत देशभर रहेका २ सय ७७ वटा हेभी इक्विपमेण्ट र तिनका अपरेटरहरूको ‘लाइभ लोकेसन’ ट्रयाक गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।
उनले भने, ‘यस सफ्टवेयरको माध्यमबाट कुन उपकरण र अपरेटर कहाँ छन् भन्ने कुराको प्रत्यक्ष निगरानी गर्न सकिन्छ । कुनै स्थानमा पहिरो गएको सूचना आउनासाथ सो स्थानको सबैभन्दा नजिक रहेको मेसिनलाई तत्काल परिचालन गर्न यसले सहज बनाउनेछ ।’
विभागको यान्त्रिक महाशाखा र सिभिल डिभिजन कार्यालयहरूबीच समन्वय गरी उपकरणहरूलाई जोखिमयुक्त क्षेत्रको नजिकै तयारी अवस्थामा राखिएको छ ।
पहिरो नियन्त्रण र जोखिम न्युनिकरण
नेपालको भौगोलिक बनावट र कमजोर भू–बनावटका कारण जुनसुकै स्थानमा पहिरोको जोखिम रहने तथ्यलाई आत्मसात गर्दै विभागले सम्भावित जोखिमयुक्त स्थानहरूको पहिचान गरेको छ ।
बजेट र क्षमताको अभावका कारण पहिचान भएका सबै स्थानमा स्थायी रोकथाम गर्न नसकिए पनि नागढुङ्गा–मुग्लिङ, नारायणगढ–मुग्लिङ र कान्ति लोकपथका मुख्य पहिरोहरूलाई बायो–इन्जिनियरिङ, रक एङ्करिङ र सर्टक्रिटिङ जस्ता प्रविधिमार्फत स्थिर (स्ट्याबलाइज) गरिसकिएको विभागले जनाएको छ ।
विशेष गरी झ्याप्ले खोला, महेश खोला र कृष्णभिर जस्ता पुराना र जटिल पहिरोहरूलाई नियन्त्रणमा लिइएको छ भने नारायणगढ–मुग्लिङ खण्डको तुइन खोला र कान्ति लोकपथका केही स्थानमा काम जारी रहेको छ ।
यात्रुहरूलाई सुरक्षित यात्राको अपिल
महानिर्देशक जैसीले मनसुनको समयमा यात्रा गर्दा मौसम पूर्वानुमान विभागको बुलेटिन र सडकको अवस्था बुझेर मात्र निस्कन सर्वसाधारणलाई आग्रह गरे ।
‘अत्यावश्यक काम नपरी जोखिमपूर्ण मौसममा यात्रा नगर्न र सुरक्षा निकाय तथा सडक विभागका कर्मचारीहरूको निर्देशन पालना गर्न हामी अनुरोध गर्दछौँ ।’ उनले भने ।
सडकमा कुनैपनि विपत्ति आइपरेमा विभागको हटलाइन, सुरक्षा निकाय वा नजिकैको प्रहरी चौकीमा तत्काल खबर गर्न समेत विभागले सूचित गरेको छ ।
निर्माणाधीन सडकहरूको हकमा निर्माण व्यवसायीलाई नै जिम्मेवार बनाइएको र अन्य सडकमा विभागले २४ सै घण्टा सेवा दिने प्रतिवद्धता व्यक्त गरेको छ । न्युज एजेन्सी नेपाल
View : 48
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved