Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

अमेरिकाविरुद्धको टी–२० सिरिज नेपाल गर्यो क्लिनस्वीप

सोमपाल बने प्लेअर अफ दि टुर्नामेन्ट, सेलिब्रेसनमा पुगे सन्दीप
उद्घोष सम्वाददाता
५ कार्तिक २०८१, सोमवार

विराटनगर । डालसमा भएको तीन खेलको टी–२० आई सिरिज नेपालले अमेरिकालाई उसकै घरेलु मैदानमा क्लिनस्वीप गरेको छ ।

दुई खेल जित्दै सिरिज कब्जा गरेको नेपालले अन्तिम तथा तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै सिरिज क्लिनस्वीप गरेको हो । 

नेपाली समय अनुसार सोमबार बिहान भएको अन्तिम खेलमा अमेरिकाले १५७ रनको लक्ष्य दिएको थियो । त्यो लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्दै सिरिज जितेको हो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ५० रनको योगदान गरे । अनिल शाहसँगको ओपनिङ खेलेका उनले ३९ बलमा दुई छक्का र पाँच चौका हानेका थिए । ओपनर अनिल भने १३ रनमा आउट भए । अविजित कुशल मल्लले ४४ र कुशल भुर्तेलले ४० रन जोडे ।

अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले समान एक–एक विकेट लिएका थिए ।

डालसमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो । सैतेजा मुक्कामल्लाले सर्वाधिक ६८ रनसहित मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडेका थिए ।

२७ बलको खर्चमा सोमपाल कामीले तीन विकेट लिए । त्यस्तै रिजन ढकाल र ललित राजवंशीले एक÷एक विकेट लिए ।

सोमपालले यो सिरिजमा उत्कृष्ट प्रदर्शन गरे । उनले सुपर ओभरमा पुगेको दोस्रो खेलमा अमेरिकालाई ३ रनमा समेट्न महत्वपूर्ण दुई विकेट लिएका थिए । जसका कारण दोस्रो खेल नेपालले सहजै आफ्नो पक्षमा पारेको थियो ।

सोही कारण उनी यो सिरिजको प्लेअर अफ दि टुर्नामेन्टको उपाधि जिते । त्यसैगरी अन्तिम खेलमा अर्धसतक खेलेका आसिफ प्लेअर अफ दि म्याच घोषित भए । 

पहिलो खेलमा नेपालले अमेरिकाविरुद्ध १७ रनको जित निकालेको थियो ।

ग्राण्ड प्रेइरी क्रिकेट स्टेडियममा नेपाली टोलीले सिरिज उचाल्दा लेग ब्रेक स्पिनर सन्दीप लामिछाने पनि खुसियाली साट्न सेलिब्रेसनमा सहभागी भएका थिए ।

View : 156

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved