Biratnagar, Morang, Nepal
१० साउन २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

पाँचथरको फालेलुङमा भीषण पहिरो: चार परिवार पूर्ण विस्थापित, ३३ परिवार उच्च जोखिममा

उद्‌घोष संवाददाता
१० साउन २०८३, आइतवार

Advertisement

विराटनगर । लगातारको वर्षापछि पाँचथरको फालेलुङ गाउँपालिका–५, लुङमादिनमा आइतबार बिहान भीषण पहिरो गएको छ । बिहान करिब १० बजेतिर गएको पहिरोका कारण चार घरपरिवार पूर्ण रूपमा विस्थापित भएका छन् भने ३३ परिवारका १६८ जना उच्च जोखिममा परेका छन् ।

पाँचथरका प्रतिनिधिसभा सदस्य नरेन्द्र केरुङका अनुसार पहिरोले ठूलो क्षति पुर्‍याएको छ ।

उनले स्थानीय विक्रम साँवा, चन्द्रप्रसाद साँवा र गणेशप्रसाद लिम्बूको घरमा पहिरोले क्षति पुर्‍याएको जानकारी दिए । प्रभावित परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ । त्यहाँ अझै पनि पहिरो झर्ने क्रम जारी रहेको उनले बताए ।

लुङमादिनमा निरन्तर वर्षा भइरहेको र पहिरोका कारण घरवरपरको जमिन चर्किएकाले कुल ३५ परिवार उच्च जोखिममा परेका छन् । उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको वडा नम्बर ५ का वडाध्यक्ष भरतकुमार खपाङ्गीले जानकारी दिए । गाउँमा कुल ४२ घरपरिवार रहेको उनले बताए ।

‘४२ घरधुरीमध्ये ३५ घरधुरी जोखिममा परेका छन् । तीमध्ये चार घरमा क्षति नै भएको छ । गाउँभरि चिरा परेको छ । जोखिममा परेका केही परिवार सुरक्षित क्षेत्र खोज्दै आफन्तको घरतर्फ जानुभएको छ भने अन्यलाई स्थानीय सिद्ध आधारभूत विद्यालयमा बस्ने व्यवस्था मिलाउँदैछौं,’ वडाध्यक्ष खपाङ्गीले भने ।

उक्त गाउँको तलबाट २०८१ सालयता हरेक वर्ष पहिरो खस्दै आएको वडाध्यक्ष खपाङ्गीले जानकारी दिए। उनका अनुसार माथिबाट खसेको पहिरो बगेर हेवा खोलामा खस्ने गरेको छ भने खोलाले पहिरोबाट खसेको ढुंगा र माटो बगाएर लैजाने गरेको छ। अहिले चिरा परेको गाउँ एकैचोटि बगेर झरेमा हेवा खोला पनि थुनिने जोखिम रहेको उनले बताए ।

पहिरोका कारण नरेन्द्र केरुङ, लाखबहादुर केरुङ, सुकराज केरुङ, लक्ष्मी केरुङ, सागर केरुङ, डिल्लीमान केरुङ, डिल्लीप्रसाद केरुङ, भालुमान केरुङ, कृपामाया केरुङ, दीपक केरुङ, गणेश साँवा, डम्बरबहादुर साँवा, गुमानसिंह साँवा, हरिराज साँवा, कृपाराम साँवा, हर्कप्रसाद साँवा, धनेन्द्रराज केरुङ, मोतिहाङ केरुङ र चन्द्रकुमार केरुङलगायतका परिवारका घर जोखिममा परेका छन् ।

त्यसैगरी सरिता केरुङ, गजेन्द्र केरुङ, राजेन्द्र केरुङ, धनप्रसाद केरुङ, देउकुमार केरुङ, लालबहादुर केरुङ, सङ्गीता केरुङ, सिङबहादुर थाम्सुहाङ, गोकुल थाम्सुहाङ, सन्दीप थाम्सुहाङ, शेरबहादुर थाम्सुहाङ, लछिमाया थाम्सुहाङ, मङ्गल थाम्सुहाङ, रुद्रबहादुर थाम्सुहाङ, आइतराज केरुङ र मिलन केरुङका परिवार पनि जोखिममा परेका छन् ।

प्रभावित क्षेत्रमा प्रहरी तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षलगायत जनप्रतिनिधिहरूले अनुगमन गरेका छन् । अनुगमनपछि जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाइएको छ ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले हाल चार परिवारलाई सुरक्षित स्थानमा सारिसकिएको जानकारी दिए ।

‘गाउँमा धेरै ठाउँमा चिरा परेको छ । जोखिम बढेको छ । प्रहरी परिचालन गरिएको छ र अन्य परिवारलाई सुरक्षित स्थानमा राख्नेबारे स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘बाढी–पहिरोका कारण गाउँमा जाने बाटोसमेत अवरुद्ध भएकाले उद्धार तथा व्यवस्थापनमा कठिनाइ भइरहेको छ ।’

View : 50

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved