विराटनगर । डिस्कभरी र एनिमल प्लानेट जस्ता टिभी च्यानलमा देखाइने हाइना नामको मांशभक्षी जनावर मोरङको रंगेली र सुनबर्षी नगरपालिकाका विभिन्न स्थानमा झुण्डमै देखिएको हल्ला फैलिंदा त्यस क्षेत्रका स्थानीयहरू डराएका छन् ।
उनीहरूले हाइना कहाँबाट आएको हो भन्ने कतैबाट पनि आधिकारिक जानकारी नभएका कारण त्रसित बनेका छन् ।
रंगेली र सुनबर्षी नगरपालिकाको भारतीय सीमा क्षेत्रमा पर्ने बस्तीहरूमा हाइनाको झुण्ड देखिएको भन्दै सामाजिक संजालमा फोटोसहितका सूचना प्रवाह हुन थालेपनि यसबारे चासो बढेको छ । तर कुनैपनि निकायले ठोस जवाफ भने दिएको छैन ।
रंगेली नगरपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष महानन्द मण्डलले आफ्नै वडाको बाटो र खेतमा हाइनाको ठुलो बथान देखिएको जानकारी आफुलाई पनि आएको बताए । तर आँखैले देख्ने व्यक्ति आफ्नो सम्पर्कमा अहिलेसम्म नरहेको बताए । हाइना आएको भन्दै सर्वसाधारण भने आतंकित बनेको बताए ।
‘पहिले पहिले सीमावर्ती भारततर्फ हाइना आएको हल्ला मैले सुनेको हो’ वडाध्यक्ष मण्डलले भने, ‘अहिले हाम्रो वडाभित्रै स्थानीयको बाँसघारी, खेत र बाटोमा पनि रातको समयमा देखिएको हल्ला छ, मान्छेहरू डराएका छन्, यसको बारेमा सवै कुरा हामीलाई पनि थाहा छैन ।’
त्यस्तै वडा नम्बर ४ मा समेत हाइनाको बथान देखिएको हल्ला चलेको छ । यस क्षेत्रमा एक सातादेखि हाइनाको बथान देखिएको दाबी छ । तर सामाजिक संजालमा देखिएका फोटो यसै क्षेत्रमा देखिएको हाइनाको हो कि होइन भन्ने स्पष्ट नभएको प्रहरी स्रोतको भनाई छ ।
सुनबर्षी–७ को अड्डा टोल क्षेत्रमा पनि हाइना देखिएको जानकारी आफुलाई आएको वडाध्यक्ष संजय कुमार सिंहले बताए । उनले हाइनाले एकजनालाई टोकेको भनेर खबर आएकोले रेबिजको सुई लगाइदिने भनेर बोलाएको तर कोही पनि स्वास्थ्य संस्थामा नआएको जानकारी दिए ।
‘मैले पनि हल्ला सुनिरहेको छु, आफ्नै आँखाले देखेको छैन, मान्छेलाई टोक्यो भनेर पनि हल्ला भएको थियो’ वडाध्यक्ष सिंहले भने, ‘औषधी लिन आउनु, निशुल्क उपचार गरिदिने भनेर जानकारी पठाएपनि कोही आएको छैन, एक हप्तादेखि मान्छेहरूले हल्ला चैं गरिरहेको छ, अड्डा टोलतिर मान्छेहरूले समुह बनाएर गस्ती पनि गरिरहेको छ ।’
प्रहरी स्रोतलाई समेत भारतीय सीमावर्ती क्षेत्रमा एक साता अघि हाइना देखिएको र दुईवटालाई स्थानीय मारेको भनेर अपुष्ट जानकारी आएको थियो । सीमावर्ती क्षेत्रमा देखिएका कारण नेपालतर्फ पनि प्रवेश गर्नसक्ने सीमावर्ती क्षेत्रका प्रहरी युनिटलाई जानकारी गराइसकेको जनाइएको छ ।
'आयो आयो भन्ने हल्ला मात्रै छ, एकहप्ता अघि भारतमा देखिएको र दुईवटा मारेको भन्ने हल्ला थियो’ प्रहरी स्रोतले भन्यो, ‘नेपालमा पनि आउन सक्छ भनेर हामीले सतर्कता अपनाएका छौं, तर देख्ने मान्छे भेटिएको छैन ।’
यो जनावरलाई नेपाली चलनचल्तीको भाषामा हुँडार भन्ने गरिएको छ । हिन्दी भाषामा लकरबग्धा भनिन्छ । नेपालमा यसको एउटा प्रजाती पाइने गरेको संरक्षण क्षेत्रमा काम गर्नेहरूले आफ्नो आलेखमा उल्लेख गरेका छन् ।
मोरङमा देखिएको भनेर सामाजिक संजालमा सार्वजनिक भएको फोटो भने नेपालमा नपाईने खालको (स्पोटेड हाइना) जातीको जस्तो भएको जनाइएको छ ।
नेपालमा हाइनाका केही प्रजाति रहेका छन् । हाइनाले विशेष गरी मरेका जनावरको मासु खाने गरेका कारण यसले आहारा खोज्ने क्रममा नेपालतर्फ प्रवेश गरेको हुनसक्ने संरक्षणकर्मीहरु बताउँछन् ।
स्पटेड हाइना भने शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा जडित क्यामेरामा रेकर्डमा आएको गोरखापत्रले यसअघि समाचार प्रकासित गरेको थियो । तर मोरङमै कसरी आइपुगेको हो भनेर स्पष्टका साथ भन्न अध्ययन नै आवश्यक रहेको जनाइएको छ ।
कोशीटप्पुस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख विरेन्द्र गौतमले फोटोकै आधारमा हाइना देखिएको हो भनेर यकिन नहुने बताए । उनले फोटोकै आधारलाई मान्दा संख्यामा धेरै देखिएकोले फोटो वास्तविक भएको खण्डमा निकै दुर्लभ र महत्वपूर्ण हुने बताए । हाइनाको पहिचान गर्न भेटिएको भनिएको क्षेत्रमा पाइलाको अध्ययन गरेर यकिन गर्न सकिने जानकारी दिए ।
View : 718
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved