सुनसरी । डिभिजन वन कार्यालय सुनसरीले अबैधरुपमा ल्याएको आशंकामा चारवटा ट्रकमा ल्याइएको ठूलो परिमाणको खयरको काठ नियन्त्रणमा लिएको छ । रामेछापबाट सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगको नाममा ल्याइएको सो परिमाणको काठ मंगलबार राति नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको डिभिजन वन कार्यालय सुनसरीका प्रमुख धर्मनाथ यादवले जानकारी दिए ।
रामेछापबाट ल्याइएको बा प्र ०१००६ ख २१११, बा प्र ०१००६ ख ३३४९, म प्र ०३००२ ख ००९५ र क प्र ०२००१ ख ०४१९ नम्बरको ट्रकमा कैफियत देखिएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको निर्देशनमा प्रहरीसँगको समन्वयमा नियन्त्रणमा लिइएको हो । उक्त ट्रक धरानस्थित वन कार्यालयमा राखेर अनुसन्धान भैरहेको डिभिजन वन कार्यलय सुनसरीका प्रमुख यादवले जानकारी दिए ।
चारवटा ट्रकमा हालेर ल्याइदै गरेको ३२ लाख मूल्य बराबरको ९८९.३२ घन फिट खयरको काठ डिभिजन वन कार्यालय रामेछापले नै शंकास्पद देखिएको जानकारी दिएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको यादवले जानकारी दिए ।
नियन्त्रणमा लिइएको उक्त काठबीच बाटोमै सिल खोलिएको पाइएपछि अनुसन्धानको लागि नियन्त्रणमा लिइएको यादवको भनाइ छ ।
डिभिजन वन कार्यालय रामेछापले पछि गुनासो आएपछि कैफियत भेटिएको भन्दै सिन्धुली प्रहरीलाई नियन्त्रणमा लिन अनुरोध गरेको थियो । सिन्धुली प्रहरीले केहीबेर ट्रक नियन्त्रणमा लिएर टिभिजन वन कार्यलय दुधौलीको रोहबरमा छाडेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिए ।
वन ऐन अनुसार सुनसरी डिभिजन कार्यालयले नै अनुसन्धान गर्नुपर्ने काफ्लेले बताए । उक्त काठ अबैधरुपमा सुनसरी भित्रिएको सूचना पाएपछि वन कार्यालय सुनसरी र प्रहरीलाई नियन्त्रणमा लिन आफूले निर्देशन दिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।
नियन्त्रणमा लिइएको काठ सहितका ट्रक मंगलबार रातिनै सुरक्षा अधिकारीहरुको टोलीले अनुगमन गरेर छानबिन गर्न वन कार्यालयलाई निर्देशन दिएको तिवारीले बताए ।
View : 182
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved