विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले सुनसरीको देवानगञ्ज तथा आसपासका क्षेत्रमा हालै भएका घटनाक्रमबाट उत्पन्न परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र कानुनी शासन कायम गर्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै परिसंघले नेपालको आर्थिक विकास, लगानी प्रवद्र्धन तथा औद्योगिक उत्पादनका लागि सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, कानुनी शासन तथा शान्ति–सुरक्षा अत्यन्त महत्वपूर्ण आधार भएको उल्लेख गर्दै पछिल्ला घटनाले ती आधारहरू कमजोर हुने जोखिम बढाएकोमा चिन्ता व्यक्त गरेको छ ।
वर्षौंदेखि आपसी सद्भाव, सहअस्तित्व र सुमधुर सम्बन्धका साथ बसोबास गर्दै आएका नेपाली समुदायबीच यस्ता घटनाले आपसी विश्वास कमजोर बनाउने चिन्ता व्यक्त गरिएको छ ।
यसका साथै उद्योग, व्यापार, पर्यटन, ढुवानी तथा दैनिक आर्थिक गतिविधिमा समेत प्रत्यक्ष असर पर्न थालेको भन्दै परिसंघले यस्तो अवस्थाप्रति गम्भीर चासो र दुःख व्यक्त गरेको छ ।
परिसंघका अध्यक्ष पवनकुमार सारडाले प्रभावित क्षेत्रमा जारी निषेधाज्ञा तथा आवागमनमा आएको अवरोधका कारण उद्योग–व्यवसाय सञ्चालनमा प्रत्यक्ष असर परेको बताए । कच्चा पदार्थको आपूर्ति प्रभावित भएको, उद्योगमा उत्पादनका लागि आवश्यक सामग्री समयमै नपुगेको, उत्पादित वस्तुको ढुवानीमा समस्या उत्पन्न भएको तथा बजार व्यवस्थापनसमेत प्रभावित बनेको उनले बताएका छन् ।
यसले समग्र औद्योगिक तथा व्यावसायिक वातावरणमा नकारात्मक प्रभाव पारेको जनाउँदै यस्तो अवस्था लामो समयसम्म कायम रहे लगानीको वातावरण थप कमजोर हुने, रोजगारीका अवसर प्रभावित हुने तथा समग्र अर्थतन्त्रमै गम्भीर चुनौती थपिने चिन्ता व्यक्त गरेका हुन् ।
वर्तमान विषम परिस्थितिमा सबै राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, निजी क्षेत्र तथा सरोकारवाला निकायहरूले संयमता अपनाई सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न विशेष भूमिका खेल्नुपर्ने परिसंघले जनाएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई समेत कुनै पनि प्रकारका अफवाह फैलाउने, भ्रामक सूचना सम्प्रेषण गर्ने वा उत्तेजनात्मक गतिविधिमा संलग्न नहुन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
परिसंघले राज्य सबै नागरिकको अभिभावक भएको अनुभूति दिलाउने गरी सरकारले तत्काल प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औंल्याउँदै पाँच बुँदे ध्यानाकर्षण पनि गराएको छ ।
त्यस्तै, प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा, कानुनी शासन तथा सामाजिक सद्भाव यथाशीघ्र पुनःस्थापित गरी जनजीवन सहज बनाउन माग गरेको छ ।
घटनाको निष्पक्ष, पारदर्शी र शीघ्र अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम आवश्यक कारबाही गर्नुपर्ने, घटनाबाट प्रभावित व्यक्ति, परिवार तथा व्यवसायीलाई प्रचलित कानुनअनुसार उचित राहत, क्षतिपूर्ति तथा आवश्यक सहयोग तत्काल उपलब्ध गराउनुपर्ने माग पनि गरिएको छ ।
यस्तै, उद्योग व्यापार, ढुवानी तथा अत्यावश्यक वस्तुको आपूर्ति प्रणालीलाई अवरोध हुन नदिई आर्थिक गतिविधि यथाशीघ्र सामान्य अवस्थामा सञ्चालन हुने वातावरण सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गरिएको छ ।
राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, निजी क्षेत्र तथा अन्य सरोकारवालाले संयमता अपनाउँदै सामाजिक तथा धार्मिक सद्भावलाई थप सुदृढ बनाउन भूमिका निर्वाह गर्नुपर्नेमा पनि परिसंघले जोड दिएको छ ।
विज्ञप्तिमा शान्तिपूर्ण, समावेशी तथा सहिष्णु समाज नै दिगो आर्थिक विकास, लगानी प्रवद्र्धन र समृद्ध नेपालको आधार भएको विश्वास व्यक्त गर्दै देशमा शान्ति, सुरक्षा र स्थिर व्यावसायिक वातावरण कायम भएमा मात्रै उद्योग, व्यापार र लगानीले गति लिने उल्लेख गरिएको छ । त्यसका लागि सरकारले प्रभावकारी पहलमार्फत वर्तमान परिस्थितिलाई शीघ्र सामान्य बनाउने कुरामा निजी क्षेत्रले अपेक्षा गरिरहेको जनाइएको छ ।
साथै, पछिल्ला घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।
View : 38
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved