Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोइराला निवासमा बालकृष्ण खाणको ‘अर्थपूर्ण’ पत्रकार सम्मेलन

खाडले भने, ‘कोइराला निवास जोकोहीका लागि मन्दिर जत्तिकै पवित्रस्थल हो ।’
उद्‌घोष संवाददाता
३२ असार २०८२, बुधवार

विराटनगर । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति उठ्ने तयारी गरिरहेका नेता डा. शेखर कोइराला सभापति शेरबहादुर देउवा निकट नेताहरु आफ्नो समूहमा तान्ने प्रयासमा छन् । यसबीचमा उनले केही सफलता पाइसकेका छन् । त्यसो त यस अवधिमा उनका निकटवर्तीहरु टाढिएका पनि छन्। जस्तो महामन्त्री गगन थापा । यद्यपि शेखरको देश दौडाहा रोकिएको छैन ।

उनी निकटहरु देउवा पक्षका खम्बा मानिने बालकृष्ण खाण र एनपी साउद जस्ता नेताहरु कोइराला समूहमा आइसकेको बताइरहेका छन्। कुनै बेला सभापति शेरबहादुर देउवाको ‘कोर टिम’ सदस्य मानिने नेपाली कांग्रेसका नेता बालकृष्ण खाण बुधबार बिहानै विराटनगरस्थित कोइराला निवास पुगे । शेखर निकट नेता-कार्यकर्ताहरुको बाक्लो जमघटबीच केहीबेर पत्रकारहरुसँग कुराकानी गरे ।

पार्टी संस्थापनसँग तपाइँ टाढिएको चर्चाबीच कोइराला निवासमा भेटिनुभयो । यसलाई कुन अर्थमा बुझ्ने ? भन्ने प्रश्नमा नेता खाणले ‘कोइराला निवास कांग्रेस कार्यकर्ताका लागि मात्रै नभइ प्रजातन्त्रमा आस्था राख्ने जोकोहीका लागि मन्दिर जत्तिकै पवित्रस्थल’ भएको बताएका थिए ।

‘‘कोइराला निवासमा अहिले पो शेखर कोइराला बस्नुहुन्छ, पहिले बीपी बस्नुहुन्थ्यो, पिताजी कृष्णप्रसाद कोइराला बस्नुहुन्थ्यो, हाम्रो गतिशील नेता गिरिजाप्रसाद कोइराला बस्नुहुन्थ्यो,’ उनले भने ‘यहाँको माटो स्पर्श गर्दा पनि सत्कर्मतिर लाग्ने प्रेरणा मिल्छ। त्यसैले यहाँ बारम्बार आउन पाइयोस्।’ सभापति देउवासँग टाढिएकोबारे प्रश्नमा खाणले सभापतिलाई सफल बनाउन आफू लागेको र लागिरहने दाबी गरे ।

‘सभापति सफल हुँदा मात्रै कांग्रेस सफल हुने हो’ उनको भनाइ थियो । पत्रकारहरुसँग खुलेर कुरा गर्न नचाहेका उनले संविधान, कांग्रेस र प्रजातन्त्रबारे आफ्नो धारणा राखिरहे । आउँदो महाधिवेशनमा तपाइँले शेखर कोइरालालाई सघाउने सम्भावना बढेको हो भन्ने प्रश्नको उत्तर उनले दिएनन् । पार्टी महाधिवेशनबारे सोधिएको अर्को प्रश्नमा नेता खाणले पाँच वर्षभित्रमा महाधिवेशन हुने बताए ।

‘‘एक वर्ष कार्यकाल थप्न सकिने प्रावधान छ,’ उनले भने ‘पाँच वर्षभित्र महाधिवेशन हुन्छ।’ उनी नजिकिएको अनुमान भइरहेका नेता कोइराला भने महाधिवेशन समयमै गर्नुपर्ने भन्दै सभापतिलाई दबाब दिइरहेका छन्। कांग्रेस अनुशासन समितिले एकपक्षीय रुपमा कारबाही गरेको भन्दै शेखर पक्ष असन्तुष्ट छ । महामन्त्री गगन थापाले पनि ‘अनुशासन पर्व’ भनेर असन्तुष्टि जनाइसकेका छन् ।

यसबारे नेता खाणले ‘कामै गरेन भनेको अनुशासन समितिले काम गरेको अब त्यसको परीक्षण केन्द्रीय समितिले गर्ने’ अभिव्यक्ति दिएका छन् । केन्द्रीय समितिको पछिल्लो बैठकमा शेखर कोइरालाले अनुशासन समितिको कामकारबाहीप्रति रोष प्रकट गरेका थिए ।

अनुशासन समितिले काम गर्नै नसकेको अभिव्यक्ति दिएका थिए। लगत्तै उनी पक्षकै बहुसंख्यक नेताहरुलाई समितिले कारबाही गरेपछि कोइराला समूह असन्तुष्ट छ । कारबाही फिर्ता हुनुपर्ने माग गरिरहेको छ । पहिले गिरिजाप्रसाद र पछिल्लो समय शेखरले बसेर कार्यकर्ता भेट्ने, पत्रकारहरुसँग कुराकानी गर्ने आसनमै बसेर खाणले भने ‘अनुशासन समितिले काम गरेन भन्ने कुरा थियो ।

उजुरीमाथि छानबिन गरेर काम त गर्यो,’ उनले भने ‘अब ठीक बेठीक के भएको छ केन्द्रीय समितिमा छलफल हुन्छ।’ यसअघि तरुण दलको नेतृत्व सम्हालेका खाणले पार्टी संगठनमा पनि बलियो प्रभाव राख्दै आएका छन् । लामो समयदेखि उनले देउवालाई साथ दिँदै आएका थिए ।

२०८० बैशाख २७ मा नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेपछि भने खाण देउवासँग बिच्किएका छन् । जतिबेला कांग्रेसका शक्तिशाली मानिने नेता खाणलाई प्रहरीले पक्राउ गर्यो, त्यसबेला माओवादी र कांग्रेस गठबन्धनकै सरकार थियो। आफ्नै सरकार छँदा पनि पक्राउ परेको घटनामा खाणले देउवाप्रति चित्त दुखाएका थिए ।

‘देउवाको ग्रिन सिग्नल भएकैले मलाई पक्राउ गरिएको हो’ भन्दै खाणले निकटवर्तीहरुलाई भन्ने गरेका थिए ‘मलाई पक्रन देउवाले संकेत दिएकै हुन् ।’ देउवासँगको निकटताकै कारण पक्राउ पर्नुअघिसम्म पनि नेता खाण कति आश्वस्त थिए भने उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धम्कीपूर्ण सन्देश नै पठाएका थिए ।

‘‘यदि मलाई पक्राउ गर्ने हो भने यो गठबन्धन टुट्छ’, उनले प्रचण्डलाई सन्देश पठाएका थिए। त्यसबे्ला खाणको आत्मविश्वासले काम गरेन। उनी पक्राउ परे। जेलमा रहेका बेला कांग्रेसका धेरै नेताहरु खाणलाई भेट्न पुगेका थिए। त्यसक्रममा उनले देउवाप्रतिको असन्तोष सुनाउने गरेका थिए। जेलमा रहेका खाण सभापति देउवासँग असन्तुष्ट रहेको सूचना पाएपछि शेखर कोइरालाले त्यो मौकाको सदुपयोग गर्न खोजे ।

उनी खाणलाई भेट्न गोप्य रुपमा जेलमै पुगे । त्यहीबेलादेखि खाण र शेखरबीच निकटता बढेको शेखर निकट नेताहरु बताउँछन् । ‘परेका बेलामा देउवाले साथ नदिएको बरु शेखर दाइले साथ दिएको भन्ने उहाँको बुझाइ छ’, शेखर निकट नेताले भने।

सात महिना लामो जेल जीवनपछि खाण धरौटी बुझाएर रिहा भएका थिए। कांग्रेस नेताहरुका अनुसार केही समयअघि मात्रै शेखर कोइरालाले संसदीय दलको नेताबाट सभापति देउवा हटाउने एउटा असफल प्रयास गरेका थिए। त्यसका लागि उनले बालकृष्ण खाणको साथ चाहेका थिए। तर, मुद्दा मामिला कायमै रहेको र आफू कमजोर अवस्थामा भएकाले अहिले नै साथ दिन नसक्ने जवाफ खाणले दिएको नेताहरु बताउँछन् ।

यस्तो प्रयास विफल भएपछि गएको जनवरी पहिलो साता शेखर एक कार्यक्रममा सहभागी बन्न लण्डन जाँदैथिए। त्यसअघि उनले सभापति देउवासँग भेट गरेका थिए। त्यो भेटको सुरुमै देउवाले शेखरलाई सोधेका थिए ‘तपाइँ त अझै पनि मलाई दलको नेताबाट हटाउन खोज्दै हुनुहुँदोरहेछरु’ जवाफमा शेखरले ‘म के त्यता लाग्नु, म लण्डन चाहिँ जान लाग्या छु। तपाइँ मज्जाले चलाउनुस्’ भनेर देउवालाई भनेको उनी निकटहरु बताउँछन् ।

लण्डनबाट फर्केपछि शेखरले फेरि देश दौडाहा सुरु गरे। केही समयअघि उनी लुम्बिनी गएका थिए । उनको साथमा डा मिनेन्द्र रिजाल पनि साथैमा थिए। लुम्बिनीमा शेखर र मिनेन्द्रसँग खाणले ठट्टा गर्दै भनेका थिए ‘यो उमेरमा म आफै डाक्टर बन्न त सम्भव छैन। तर, अब म पनि दुई डाक्टरहरुको संगत गर्नुपर्यो ।’

देउवाकै सहमतिमा आफू पक्राउ परेको गुनासो गरिरहने खाणले भने जस्तै उनी अब कांग्रेसभित्र देउवाको साथ छाडेर ‘डाक्टरहरुको संगत’ मै आउलान् कि बाध्यतावश उतै बस्लान् त्यो प्रष्ट हुन केही समय लाग्नेछ । तर, शेखर कोइराला निकट सहितका देउवाका विश्वासपात्रहरु आफ्नो टिममा आइसकेको भनेर आन्तरिक रुपमा खुसी मनाउन भने थालिसकेका छन् ।

View : 803

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved