Biratnagar, Morang, Nepal
३० वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

समयमा कर तिर्दा आत्मसम्मान

उद्घोष सम्वाददाता
२६ चैत २०८०, सोमवार

विराटनगर । आन्तरिक राजश्व कार्यालय (आराका) विराटनगरका प्रमुख डा डीवी क्षेत्रीले तोकिएको समयसीमाभित्र नै कर तिर्दा आत्मसम्मान बढ्ने बताए । उनले सबै व्यवसायीलाई कर तिर्न अनुरोध गर्दै आर्थिक कारोबार गर्दा बैंक चेकलाई बढी प्राथमिकता दिन जोड दिदै ५० हजार भन्दा माथिको कारोबार अनिवार्य रुपमा बैंक चेकबाट हुनैपर्ने जनाए । 

आइतबार विराट  व्यापार संघले गरेको ‘करदातालाई कर प्रणालीसम्वन्धी अभिमूखीकरण’ कार्यक्रममा बोल्दै आराका विराटनगरका प्रमुख डा क्षेत्रीले व्यवसायीले बीउ बिजक दुरुस्त राखेर कारोबार गर्न अनुरोध गरे । कसैले गाडी, मोटरसाइकल या ह्वीलचेयरबाट विना बिल सामान ल्याएर छोडेर गएको र आराकाले  त्यस्ता बिल विनाको सामग्री भेटेमा ठूलो कार्वाहीको भागीदारी हुनु पर्नेमा सचेत गराए । 

विराटनगरका धेरैले व्यवसाय दर्ता गरेर पनि लामो समयसम्म नविकरण नगरी बसका छन्, त्यसमा अधिकांश होटल रहेको बताउँदै विशेष समय पारेर नविनकरणका लागि छुट योजना ल्याउने गरेकोले त्यस्तो समयलाई सदुपयोग गर्न सुझाए ।

अब चाँडै न कर सम्वन्धी कार्य गर्न आराका धाउनु नपर्ने व्यवस्था चाँडै हुन लागेको र त्यसका लागि व्यक्तिको बायोमेट्रिक लिएपछि सहज भएको उनले बताए । 

उनले कर प्रशासन, व्यवसायी र लेखा व्यवसायी इमन्दार भएमा  कर प्रणाली स्वच्छ हुने बताउँदै चोरी पैठारीलाई नियन्त्रण गरी कसरी कर प्रशासन शुद्ध र स्वच्छ बनाउने भन्नेमा आराका लाग्दै आएको डा क्षेत्रीले प्रस्ट्याए ।

कर प्रणालीमा विराटनगरको गतिविधि महेन्द्रनगरले, पोखराको विराटनगरले तथ्याङ्क हेर्ने कार्यप्रणाली सुरु हुन गइरहेकोले अब व्यवसायमा इमान्दारित हुनै पर्ने अवस्था सिर्जना हुँदै गएको उनले बताए ।

सो विराट व्यापार संघका सदस्यहरुले कवाडी माल संकलन, कपासको बत्ती संकलन खुद्रा रुपमा गर्दा बील नहुने तर विक्री गर्दा बिल बनाउनै पर्ने भएकोले समस्या हुने गरेकोले उपयुक्त सुझावको अपेक्षा गरे । सो बारेमा  डा क्षेत्रीले आफूले उत्तर दिन नसक्ने भएकोले माथिल्लो निकायसँग प्रश्न राख्न र सुझाव दिन अनुरोध गरे ।

कार्यक्रममा आराकाका हरि सेडाई, विराट व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रमोद जिन्दल, उपाध्यक्ष मनोहर कार्की, महासचिव किरण ढुंगेल, पूर्व अध्यक्ष नरेश खत्री, रामजीवन अग्रवाल, ध्रुव दाहाल, शिव रिजाल लगायतले व्यवसायमा इमान्दार भएर कार्य गर्दागर्दै पनि कर प्रणालीको बारेमा अनभिज्ञ हुँदा समस्या हुने गरेको बताए । 

विराट व्यापार संघका अध्यक्ष अंशु बञ्जराले धेरै व्यवसायीलाई कर प्रणालीका बारेमा बुझ्न कठिन भैरहेकोले आराकासँग व्यवसायीहरुका लागि बेलाबेलामा करसम्वन्धी अभिमुखीकरण गरिदिन अनुरोध गरे ।

सो अवसरमा नयाँ वर्ष २०८१ को शुभकामनासमेत आदानप्रदान गरिएको थियो ।

View : 58

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved