विराटनगर । विराटनगर–८ ले सोमबार आयोजना गरेको निःशुल्क दन्त शिविरमा ५२ ज्येष्ठ नागरिकले सेवा लिएका छन् । कार्यक्रमको शुरुवात ९३ बर्षीय नगेन्द्र नेपालको दन्त परीक्षण गरि शुरु गरिएको थियो ।
जीवन विकास पब्लिक हेल्थ सेन्टरसँगको सहकार्यमा आयोजित निःशुल्क दन्त शिविरमा १६ जनाले पूरै दाँत लगाएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए ।
यसअघि आयोजित शिविरमा १२९ जेष्ठ नागरिकको दाँत जाँच गरिएको थियो । दुई चरणमा सम्पन्न दन्त परीक्षणमा गरी १८१ जनाले सेवा पाएका छन् ।
६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै दन्त शिविर संचालन गरिएको वडाध्यक्ष पोखरेलले बताए ।
सबै ज्येष्ठ नागरिकको दन्त परीक्षण गरिने र आवश्यक पर्ने सबैलाई पूरै दाँतसहित निःशुल्क औषधि पनि वितरण गरिने वडाको योजना रहेको उनको भनाइ छ ।
वडा कार्यालयले ८० वर्षमाथिका ज्येष्ठ नागरिकहरूको घरमै पुगेर नियमित स्वास्थ्य परीक्षण पनि गर्दै आएको जनाएको छ ।
View : 219
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved