कोशीमा समानुपातिक मतगणना जारी :
विराटनगर । कोशी प्रदेशमा प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणना जारी छ । सोमबार साँझसम्मको कोशीको समानुपातिक परिणाम अनुसार परम्परागत दलहरुभन्दा नयाँ दलहरुले उल्लेख्य शक्ति आर्जन गरेको देखाएको छ । यसले प्रदेशको राजनीतिक शक्ति सन्तुलनमा ठूलो परिवर्तनको प्रष्ट सन्देश दिएको छ ।
कोशी प्रदेशमा प्रतिनिधिसभामा कूल २८ निर्वाचन क्षेत्र छन् । सोमबार साँझसम्मको समानुपातिक मतगणना अनुसार रास्वपा कोशीमा सबैभन्दा ठूलो दल बनेको छ ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी दोस्रो बनेको छ । श्रम संस्कृतिले कोशीमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपालगायतका स्थापित दलहरुलाई समानुपातिकमा उछिनेको छ ।
हर्कको दल दोेस्रो स्थानमा रहँदा नेपाली कांग्रेस तेस्रो, एमाले चौथो, नेकपा पाँचौं र राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) छैटौं स्थानमा छन् ।
समानुपातिक मत परिणाम अनुसार यिनै ६ वटा दलले मात्रै समानुपातिकतर्फको ३ प्रतिशत थ्रेसहोल्ड कटाउने सम्भावना देखिन्छ । थ्रेसहोल्ड पार नगर्ने दलले समानुपातिकतर्फ सिट गुमाउनेछन् ।
समानुपातिक मतपरिणामले कोशी प्रदेशमा परम्परागत दलहरुको आधार कमजोर बन्दै जाँदा नयाँ राजनीतिक शक्तिहरूको प्रभाव बढ्दै गएको देखिन्छ ।
कोशी तराईका जिल्लाहरूमा रास्वपाको प्रभाव बलियो देखिएको छ भने पहाडी जिल्लामा श्रम संस्कृति पार्टी सबैभन्दा बलियो देखिएको छ । पहाडका केही जिल्लामा एमालेले पनि आफ्नो आधार कायम राखेको छ ।
सोमबार साँझसम्मको मतगणना अनुसार रास्वपाले कोशीमा समानुपातिकमा सबैभन्दा बढी ७ लाख ४५ हजार मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा रहेको श्रम संस्कृति पार्टीले २ लाख ४१ हजार मत पाएको छ ।
तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २ लाख ४० हजार मत प्राप्त गरेको छ भने एमालेले २ लाख ३८ हजार मत ल्याएर चौथो स्थानमा रहेको छ । त्यसपछि नेपाली कम्युनिष्ट पार्टीले ८३ हजार मत पाएको छ भने राप्रपाले ५७ हजार मत प्राप्त गरेको छ ।
समानुपातिक मतका आधारमा कोशी प्रदेशमा दोस्रो स्थानमा रहेको श्रम संस्कृति पार्टीले २८ मध्ये ५ क्षेत्रमा पहिलो स्थान प्राप्त गरेको छ ।
खोटाङमा पहिलो बनेको श्रम संस्कृतिले १८ हजार १३७ मत प्राप्त गरेको छ ।
पाँचथरमा १८ हजार ३६८ मत, भोजपुरमा ७ हजार ४११ मत, सुनसरी–१ मा २९ हजार ८५४ मत र इलाम–२ मा १४ हजार ४८८ मत प्राप्त गरेको छ ।
विशेषगरी पहाडी जिल्लामा नयाँ राजनीतिक विकल्पका रूपमा श्रम संस्कृति पार्टीप्रति मतदाताको आकर्षण देखिएको छ । साथै विगतमा पहिचानवादी शक्तिहरुतिर जाने उल्लेख्य मत पनि श्रम संस्कृतिले पाएको देखिएको छ । सोलुखुम्बुमा कांग्रेस पहिलो दल बनेको छ ।
कांग्रेसले सोलुमा १० हजार ७०५ मत पाएको छ । अन्य धेरै क्षेत्रमा भने कांग्रेस दोस्रो वा तेस्रो स्थानमा सीमित भएको देखिन्छ । कोशीमा हालसम्म एमाले ३ जिल्लामा पहिलो बनेको छ ।
ताप्लेजुङमा एमालेले सबैभन्दा धेरै समानुपातिक मत पाएको छ । तेह्रथुममा र धनकुटामा पनि एमालेले सबैभन्दा धेरै मत पाएको छ । नेकपा र राप्रपा भने कोशीका कुनै पनि जिल्लामा पहिलो हुन सकेका छैनन् ।
View : 89
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved