विराटनगर । जेन जी समुहको नाममा चर्किएको प्रदर्शन विराटनगरमा अनियन्त्रित बनेको छ । विराटनगरका सरकारी कार्यालयमा तोडफोड र आगजनीपछि लुटपाट चलेको छ । कार्यालयहरुमा अहिले पनि आगो दन्किइरहेको छ । दमकल परिचालन हुन सकेको छैन ।
जेनजी प्रदर्शनको पहिलो दिन तुलनात्मक रुपमा शान्त रहेको कोशी प्रदेशको राजधानी सहर विराटनगर मंगलबार ध्वस्त भन्न मिल्नेगरी आगजनीको शिकार बन्यो ।
विराटनगरमा रहेको प्रदेशसभा भवनसहित धेरै सरकारी कार्यालयमा आगजनी भएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनको प्रतिक जस्तै मानिने कोइराला निवासदेखि व्यवसायिक केन्द्र भाटभटेनी सुपरस्टोरसम्म जलेका छन् ।
महानगर कार्यालयदेखि वडा कार्यालयसम्म एकै दिन खरानी बनेका छन् । रोडशेषमा रहेको मुख्यमन्त्री कार्यालय आगजनीबाट ध्वस्त भएको छ ।
अघिल्लो दिन प्रदर्शनकारीहरुलाई कार्यालय पुग्नै नदिएका सुरक्षाकर्मीले मंगलबार भने उनीहरुलाई रोक्न सकेनन् ।
देवकोटा चोकमा रहेको प्रदेशसभाका दुई वटै भवन पनि पूर्ण रुपमा जलेका छन् । प्रदेशसभा परिसरमा दुई भवन थिए । एउटा सभाको बैठक कक्ष र अर्को प्रशासनिक भवन । ती दुवै भवनमा भएको आगजनीले प्रदेशसभाका सबैजसो सामग्री ध्वस्त भएका छन् ।
जिल्ला प्रशासन, अदालतका भवनहरुमा ध्वस्त भएका छन् ।
साँझतिर त्यहाँ बचेका सरसामान लुटपाट गर्नेहरुको लर्को देखियो । आगजनीपछि सयौंको संख्यामा प्रदेश सभाभित्र प्रवेश गरेका व्यक्तिहरुले प्रदेशका अधिकांश मन्त्रालय, विराटनगर महानगरपालिका, आन्तरिक मामिला तथा कानून मन्त्रालय लगायतका सरकारी कार्यालयहरुमा दिनदहाडै लुटपाट गरेका छन् ।
भाटभेटनीमा लुटपाटपछि आगजनी भएको छ । त्यहाँ सल्केको दनदनी आगो बलेको छ ।
विराटनगरका हरेक चोकमा टायर बालेर छाडिएका छन् । विराटनगर धुँवाको मुस्लोले छोपिएको छ ।
आगजनीका कारण निस्किएको धुँवाले बालबालिकाहरुलाई सासै फेर्न अप्ठेरो भएको छ । जताततै आगो लागेपछि दमकल निस्कने अवस्था नभएको महानगरका एक नगरप्रहरीले जानकारी दिए ।
View : 576
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved