Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

अञ्जला कोइराला १० लाख धरौटीमा रिहा

उद्‌घोष सम्वाददाता
२४ पुष २०८१, बुधवार

विराटनगर । मोरङ धनपालथान गाउँपालिका–४ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जोडिएकी अञ्जला कोइराला अदालतबाट धरौटीमा रिहा भएकी छन् । बुधबार मोरङ जिल्ला अदालतमा उपस्थित भएकी अञ्जलालाई अदालतले १० लाख धरौटीमा रिहा गरेको हो । 

विराटनगरस्थित महेन्द्र विराट रात्री विद्यालयकी शिक्षक अञ्जला प्रतिनिधिसभा  सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती हुन्् । 

उमागौरी कृषि सहकारीको सञ्चालक समितिमा रहेको भन्दै उनीविरूद्ध पनि रकम अपचलन अभियोगमा मुद्दा परेको थियो । 

अञ्जला बुधबार बिहान आफै हाजिर हुन जिल्ला अदालत मोरङ पुगेकी थिइन् । उनी घरमै बसे पनि प्रहरीले पक्राउ गरेको थिएन । फरार सूचीमा रहेकी अञ्जला बुधबार नै अदालतमा हाजिर भएपछि आदेशलगत्तै धरौटी बुझाएर छुटेकी हुन् ।

सरकारी पक्षले २०७२–७३ देखि अञ्जला सञ्चालक समितिमा रहेकोले उनीसहित सबै अभियुक्तको दायित्व हुने जिकिर गरेका थिए । 

२२ करोड २८ लाख २७ हजार ७ सय रकम खाने पचाउने गरी अपचलन भएको दाबी अभियोगपत्रमा थियो । 

भगीरथ खनाल एन्ड एसोसिएट्सको लेखापरीक्षण प्रतिवेदनमा कुनै पनि ठाउँमा अञ्जलाले रकम अपचलन गरेको नदेखिएको, २० जनाको जाहेरीमा कतै पनि अञ्जलाविरूद्ध किटानी नभएको र १९ जनाले गरेको कागजमा पनि उनको संलग्नता नदेखिएकोले सहकारीको रकम हिनामिना तथा अपचलनमा दाबी नपुग्ने तर्क उनी पक्षका वकिलले गरेका थिए ।

थुनछेक बहसपछि जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । सहकारीका अध्यक्ष शम्भु रौनियार, अञ्जला, रंगेली–२ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी  जारी गरेको थियो । 

वडाध्यक्ष खवास यसअघि नै ५ लाख धरौटीमा रिहा भइसकेका छन् ।

View : 200

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved