Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

निजी क्षेत्रलाई प्रोत्साहन नगरे अर्थतन्त्र प्रभावित हुन्छ : मुख्यमन्त्री कार्की

उद्‌घोष संवाददाता
१७ वैशाख २०८३, बिहिवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी क्षेत्रको सुदृढीकरणबिना मुलुकको आर्थिक विकास सम्भव नरहेको बताएका छन् । 

बुधबार विराट व्यापार संघको २६औं साधारणसभा तथा १३औं अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले नेपाल सरकारलाई वर्तमान समस्याहरूमा ध्यान केन्द्रित गरी समाधानतर्फ अघि बढ्न आग्रह पनि गरेका छन् ।

उनले पछिल्लो समय निजी क्षेत्रमाथि सरकारका गतिविधिले नकारात्मक असर परिरहेको उल्लेख गर्दै संविधान र कानुन अनुसार मात्रै चल्न आग्रह गरे । 

उनले विश्व अर्थतन्त्रमा परेको असरमा सरकारले निजी क्षेत्रलाई साथ दिनुपर्ने सुझाव दिए ।

‘संविधानले समेत निजी क्षेत्रलाई सुदृढ बनाउँदै अघि बढ्न निर्देश गरेको छ’ मुख्यमन्त्री कार्कीले भने, ‘साना–ठूला सबै उद्योग, व्यवसाय र कलकारखानालाई सही नीति र उपयुक्त कार्यक्रममार्फत प्रोत्साहन गर्नुपर्छ, प्रतिशोधको भावनाले अगाडि बढ्नु उपयुक्त हुँदैन ।’

मुख्यमन्त्री कार्कीले निजी क्षेत्र कमजोर भएमा त्यसको प्रत्यक्ष असर मुलुकको अर्थतन्त्र, आर्थिक विकास र समग्र विकास प्रक्रियामा पर्ने बताए । 

संघ, प्रदेश र स्थानीय सरकार सबैले निजी क्षेत्रप्रति जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

हालैको निर्वाचनपछि मुलुकभित्रको राजनीतिक शक्ति सन्तुलनमा मात्रै बदलाव आएको तर शासन प्रणाली संविधानसम्मत् रुपमा लोकतान्त्रिक रहेको बताए ।

संघका अध्यक्ष अंशु बञ्जराले मुलुकका विभिन्न व्यावसायिक संघसंस्था मध्ये कोशी प्रदेशभित्र सवैभन्दा धेरै सदस्य संख्या विराट व्यापार संघमा रहेको दाबी गर्दै स्थानीय व्यापार व्यवसाय प्रवर्द्धन र चोरी पैठारी नियन्त्रणका काममा सवै क्षेत्रसँग सहकार्य गर्दै आएको बताए । 

स्थानीयदेखि राष्ट्रियस्तरमा व्यवसायिक क्षेत्रमा परेको समस्याबारे संघले सवै सरोकारवाला निकायसँग समन्वय र सडक संघर्ष गरेको बताए । 

साथै, रात्रीकालिन व्यवसाय सञ्चालनका क्रममा आइपर्ने सुरक्षा चुनौतीका विषयमा पनि संघले पहल गर्दै आएको जानकारी दिए ।

साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोरर राठी, घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला, नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकलगायतले शुभकामना दिएका थिए ।

View : 154

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved