काठमाडौं । साताको तेस्रो दिन सेयर बजार सूचकमा सामान्य बढोत्तरी छ । कारोबार रकम भने लगातार घटेको छ ।
मंगलबार नेप्से ६.५१ अंकले बढेर २७७६.९० को विन्दुमा रहँदा बजार कारोबार खुम्चिँदै ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ । यसअघि सोमबार परिसूचक ९.१६ अंकले बढ्दै २७७०.३९ विन्दुमा रहँदा कारोबार रकम घटेर ६ अर्ब १७ करोडमा खुम्चिएको थियो ।
गत आइतबार ७ अर्ब ७३ करोडको कारोबार भएको थियो । मंगलबार कारोबारमा आएका सबै समूहको सूचक हरियो भए पनि किनबेचको रकम ओह्रालो लागेको छ ।
बजार विश्लेषकहरुका अनुसार लगानीकर्ताहरूको ठूलो संख्या 'पर्ख र हेर'को अवस्थामा देखिएका छन् ।
ठूला लगानीकर्ताहरू ठूलो मात्रामा कारोबार गर्न हिचकिचाएको संकेत बजारले गरेको छ । बजार बढ्ने आसमा थोरै मात्रै लगानीकर्ताहरूले खरिदबिक्री कारोबार गरिहँदा परिसूचकलाई माथि धकेलिएको हो । लगानीकर्ताहरू केही निश्चित र सुरक्षित सेयरमा मात्र केन्द्रित छन् ।
ठूलो जोखिम लिन तयार छैनन् भन्ने कारोबारले देखाएको छ। १०७ कम्पनीको सेयरमूल्य घट्दा १४२ कम्पनीको बढेको छ । तर, घटबढ भएकामध्ये कसैको पनि ७ प्रतिशतभन्दा माथि उक्लिएको छैन ।
सर्वाधिक कारोबार हुने ५ कम्पनीमध्ये युनाइटेड मोदी पहिलो नम्बरमा रह्यो । उक्त कम्पनीको सेयर ३१ करोड ७२ लाख रुपैयाँ बराबरको किनबेच भएको छ ।
यस्तै हिमालयन डिष्टिलरी २८ करोड ३७ लाख, राधी विद्युत २० करोड ३३ लाख, बुटवल पावर १७ करोड ५० लाख र माउन्टेन इनर्जीको १७ करोड ८ लाखको कारोबार भएको छ ।
View : 242
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved