विराटनगर । आगामी आर्थिक बर्ष २०८१–८२ का लागि कोशी प्रदेश सरकारले ल्याउन लागेको वार्षिक नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरेको छ ।
आइतबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।
स्वीकृत भएको नीति तथा कार्यक्रम सोमबार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभा बैठकमा प्रस्तुत गर्ने जनाइएको छ । त्यसका लागि सोमबार अपरान्ह ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
‘कोशी प्रदेश सरकारको आव २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरिएको छ, प्रदेश सरकारको उक्त नीति तथा कार्यक्रम सम्बोधनका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरिएको छ’ मन्त्री अधिकारीले भने, ‘त्यसका लागि सोमबार बस्ने प्रदेश सभामा सम्बोधनको उचित व्यवस्था मिलाउनका लागि प्रदेश सभालाई अनुरोध गर्ने निर्णय गरिएको छ ।’
सरकारले २०८० फागुन २३ गतेको मन्त्रिपरिषद्को बैठकबाट निर्णयको अनुसूचीको युवा तथा खेलकुद तर्फको प्रस्तावमा आधारित खेल पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्यक्रमको सञ्चालनका लागि स्थानीय तहमा वित्तीय हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
फागुन २३ को उक्त निर्णयमा खेल पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्यक्रमको सञ्चालनका लागि सहरी विकास तथा भवन कार्यालयलाई बजेट पठाउने उल्लेख थियो ।
सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय संसोधन गर्दै स्थानीय तहलाई वित्तीय हस्तान्तरण गरी योजनाको कार्यन्वयन गर्ने निर्णय गरेको मन्त्री अधिकारीले बताए ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको जनाइएको छ ।
View : 176
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved