Biratnagar, Morang, Nepal
६ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एमालेको जिल्लापछि महानगर अधिवेशन हुँदै

ढकालले कसलाई बनाउलान् महानगर अध्यक्ष ?

भर्खर सम्पन्न मोरङ जिल्ला अधिवेशनबाट अध्यक्षसहितको पदाधिकारी जिताएर आफ्नो शक्ति देखाएका ढकालले महानगर अधिवेशनमा के गर्लान् ? चासोको साथ हेरिएको छ ।
उद्‌घोष सम्वाददाता
३१ चैत २०८१, आइतवार

विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनमा पृष्ठभागमा बसेर शक्ति प्रदर्शन गरेका विनोद ढकाललाई विराटनगर महानगर कमिटीमा कसको नेतृत्व स्थापित गर्ने भन्ने एउटा नयाँ काम थपिएको छ । 

नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशन यही बैशाख २ र ३ गते हुँदैछ । उक्त अधिवेशनले चयन गर्ने नेतृत्व प्रक्रियामा ढकालले के गर्छन् भनेर निकै चासोका साथ हेरिएको छ । 

यसअघि ढकाल पक्ष भएकै कारण अध्यक्ष रहेका सागर थापालाई कारवाही गरी अध्यक्षबाट हटाइएको विराटनगर महानगर कमिटीको अधिवेशन मोरङ जिल्ला अधिवेशन भएको डेढ महिनापछि हुँदैछ । 

डेढ महिनाअघि भएको मोरङ अधिवेशनमा ढकाल समूहले पदाधिकारीसहितको आफ्नो बलियो टिम जिताइसकेको छ । जुन टिममा कुनै समय पार्टीमा कारवाही भोगेका सागर थापा अहिले जिल्ला उपाध्यक्षको हैसियतमा छन् । अब उपाध्यक्ष थापा र उनले नेता मानेका ढकालले महानगर कमिटीमा अघि सार्ने उम्मेदवार नै बलियो हुने एक एमाले कार्यकर्ता दावी गर्छन् । 

थापा कारवाहीमा परेपछि महानगर कमिटीको अध्यक्ष रोहित कोइराला छन् । कुनै समय ढकाल समूहमै रहेका कोइराला पछिल्लो समय पर्शुराम बस्नेतलाई आफ्नो राजनीतिक गुरु मान्दै उनीअनुरुप चल्दै आएका छन् । बस्नेत र ढकालबीच भने पहिलाको जस्तो हार्दिक पारस्परिक सम्बन्ध छैन । 

पार्टीको कोशी प्रदेश अधिवेशन हुँदा अध्यक्ष उठेका ढकालविरुद्ध बस्नेत खुलेयाम विरोधमा उत्रेका थिए । एक एमाले कार्यकर्ताका अनुसार, बस्नेतले पार्टीको कोशी प्रदेश अधिवेशन हुँदा घनश्याम खतिवडालाई खाने, बस्नेलगायत कार्यकर्ता व्यवस्थापनसहितको धेरै प्रकारको सहयोग गरेका थिए । 

प्रदेश अधिवेशनताका बस्नेतले ढकालसँग बोलचाल नै बन्द गरेर खतिवडालाई काँध हालेको एक एमाले कार्यकर्ता बताउँछन् । 

ढकालसँगको काँध फुस्काएर अन्त काँध जोडेपछि बस्नेतमात्रै होइन उनका कुनै पनि मान्छे अब ढकाल समूहको प्राथमिकता नपर्ने ती कार्यकर्ता बताउँछन् । 

‘महानगर अधिवेशनले अब रोहित कोइरालालाई नै सर्वसम्मत अध्यक्ष चयन गरेर लैजाला नि ?’ उद्घोष दैनिकको प्रश्नमा उनले भने, ‘सम्भावना जिरो छ । चुनाव हुन्छ ।’

कोइरालालाई कुनै पनि हालतमा ढकाल–थापा समूहले नस्वीकार्ने भएकाले चुनावबाटै नेतृत्व चयन हुने अवस्था आफूले देखेको उनले बताए । 

कोइराला एमाले महानगर अधिवेशनमा पार्टीको केन्द्र तथा प्रदेश संस्थापन पक्षबाट अध्यक्षका एक मात्र उम्मेदवार हुन् । 

यता भर्खर सम्पन्न जिल्ला अधिवेशनबाट अध्यक्षसहितको पदाधिकारी जिताएर आफ्नो शक्ति देखाएको ढकाल–थापा समूहबाट अध्यक्षमा दुई जना प्रत्यासी देखिएका छन् । 

उक्त समूहले महानगर अध्यक्षमा मीनकुमार आचार्य वा नवराज नेपाललाई उठाउने तयारी गरिरहेको छ । आचार्य वडा नंं. ५ का पूर्ववडाध्यक्ष हुन् । 

नेपाल यसअघि कारवाही गरिएको कमिटीका उपसचिव हुन् । दुईमध्ये एक जना अध्यक्षको उम्मेदवार हुने उक्त समूहका एक कार्यकर्ता बताउँछन् । 

यसबाहेक सर्वसम्मतिका धेरै विकल्प अघि सारिएको खण्डमा मौजुदा कमिटीमा सचिव रहेका बलराम गिरी पनि अध्यक्षका दावेदारका रुपमा देखिएका छन् । गिरी ढकाल–थापा समूहमा रहेर पनि प्रदेशका मुख्यमन्त्री तथा पार्टी स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीसँग अतिरिक्त सम्बन्ध राख्ने खुबी भएका महानगर नेता हुन् । 

मुख्यमन्त्री कार्कीसमेतले भूमिका खेलेको अवस्थामा गिरीको अध्यक्ष हुने सम्भावना बलियो रहेको ती कार्यकर्ता विश्वास व्यक्त गर्छन् । 

दुवै समूहले अहिलेसम्म अध्यक्ष कसलाई बनाउने भन्नेमा मात्र छलफल गरेको बताइन्छ । ‘सम्भवतः अन्य पदाधिकारीको सूची नयाँवर्ष मनाउँदै बन्ला’ एक कार्यकर्ताले भने ।

नेकपा एमाले विराटनगर महानगर अधिवेशनको उद्घाटन तथा बन्दसत्रसहितका कार्यक्रम पाञ्चालीस्थित पार्टी कार्यालयमा हुँदैछ । 

अधिवेशनका लागि वडा तथा जनसंगठनबाट आउने प्रतिनिधि छनोट सम्पन्न भइसकेको महानगर कमिटीका प्रवक्ता एवं प्रचार उपसमिति संयोजक राम पोखरेलले यसअघि पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

उनका अनुसार, महानगर अधिवेशनका लागि महानगरका १९ वटा वडाबाट २ सय २० जना प्रतिनिधि छनोट भएका छन् । जसमा खुला क्षेत्रबाट १ सय १५, महिलाबाट ६८ र युवाबाट ३७ जना रहेको पोखरेलले बताए ।

उनका अनुसार महानगरमा क्रियाशील १६ जनसंगठनबाट ७९ जना प्रतिनिधि छनोट भएका छन् । 

पोखरेलले क्रियाशील जनसंगठनमध्ये अधिवेशनलाई थप समावेशी तथा प्रतिनिधिमूलक बनाउन अखिल नेपाल महिला संघ, नेपाल उत्पीडित जातीय मुक्ति समाज र नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) बाट १० जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको तथा अन्य जनसंगठनको हकमा पार्टीको निर्णयबमोजिम प्रतिनिधि चयन गरिएको बताएका छन् ।

अधिवेशनको उद्घाटन पार्टी स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री शेरधन राईले गर्ने भएका छन् ।

View : 942

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved