विराटनगर । मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा मुछिएका रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास ५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । उनी बिहीबार नै अदालतमा हाजिर भएका थिए ।
मोरङ जिल्ला अदालतका न्यायाधीश मेघनाथ चापागाईंको इजलासले बिहीबार वडाध्यक्ष खवासलाई धरौटीमा छोड्न आदेश दिएको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । रंगेली–२ का वडाध्यक्ष खवास एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि उनीहरु फरार थिए ।
सभापति पोखरेल पत्नी अञ्जला भने अझै ‘फरार’ नै छन् । एमाले सांसद पोखरेल निकट मोरङका एक नेताले दिएको जानकारी अनुसार अञ्जला अदालत जाने तयारीमा छन् । तर, कहिले जाने भन्ने टुंगो भने भएको छैन ।
मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको २२ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो ।
मंसिर २७ मा कोइराला र खवाससहित २६ जनाविरूद्ध मुद्दा दायर भएको थियो । पुस २ मा अदालतले उनीहरूविरूद्ध पक्राउ पूँर्जी (म्याद पुर्जी) जारी गरेको थियो ।
सभापति पत्नी अञ्जला त्यसयता आफूले पढाउने महेन्द्र विराट रात्री विद्यालयबाट बिदा लिएर फरार भएकी हुन् । उनी दुई साताभन्दा लामो समयदेखि विद्यालयमा अनुपस्थित छिन् ।
पुस २ मा मोरङ जिल्ला अदालतले सात दिनभित्र अदालतमा उपस्थित हुन पुर्जी जारी गरेको म्याद सकिएपछि अहिले उनीहरुको म्याद तामेलीको अवधि छ । उमागौरी सहकारी ठगी प्रकरणमा पोखरेल पत्नी कोइरालासहित, रंगेली–२ का वडाध्यक्ष खवास, अध्यक्ष शम्भुप्रसाद रौनियारलगायत विरूद्ध मुद्दा दायर भएको थियो ।
सरकारी वकिलको कार्यालय मोरङले सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ बिगो असुल गर्न माग गरेको छ ।
View : 397
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved