Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

युवा पलायनविरुद्ध युवाहरूकै प्रयास

उद्‌घोष संवाददाता
१३ वैशाख २०८१, बिहिवार

Advertisement

विराटनगर । देशबाट भइरहेको युवा पलायन रोक्न युवा क्षेत्रकै सरोकारवालाहरूले प्रयास सुरु गरेका छन् । नेपाल उद्योग परिसंघ युवा उद्यम समितिले नेपाली बजारमा युवा विकास र अवसरहरूबारे सरोकारवालाहरूसँग छलफल गर्न लागेको हो ।

विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको सभाहलमा बैशाख १६ कार्यक्रम हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । सीएनआइवाइएफ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष मुनन रिजालले नेपाली आर्थिक क्षेत्रको विकासमा  युवाहरूको भूमिका हुने भएकोले उनीहरूलाई विदेश पलायनबाट रोक्नका लागि सबै क्षेत्रमा बहस सुरु हुनुपर्ने बताए ।

उनले युवाहरूका लागि विकास र अवसरहरूको वृद्धि गर्दै विदेश नै जाने प्रवृत्तिलाई घटाउन कार्यक्रम महत्वपूर्ण प्रयासका रुपमा आयोजना गरिएको जानकारी दिए ।

‘देशको भविष्य युवाको हातमा हुन्छ तर हामी नेपाली युवाहरू विदेश पलायन भइरहेकाले ‘ब्रेन ड्रेन’ अवस्थाको सामना गरिरहेका छौं’ उनले भने, ‘यो समस्यालाई न्यूनीकरण गर्न हामी युवाहरूलाई नेपालमा रहेका अवसरहरूबारे चेतना दिने प्रयास गरेका छौं ।’  

कार्यक्रममा बैंकिङ क्षेत्रबाट सन्तोष राठी, औद्योगिक क्षेत्रबाट गिरिजा सारडा, होटल तथा पर्यटन क्षेत्रबाट राजन श्रेष्ठ, श्रम तथा रोजगारको सरकारी क्षेत्रबाट रीता खतिवडा र चिकित्सा क्षेत्रबाट डेनिस कार्कीले नेपालमै केही गर्न सकिने सम्भावनाबारे आफ्ना धारणा राख्ने जनाइएको छ ।  

त्यसैगरी विराट नर्सिङ एण्ड विराट टिचिङ अस्पतालका संस्थापक डा. ज्ञानेन्द्रमान सिंह कार्कीले नेपालमै केही गर्न सकिने सम्भावनाबारे युवाहरूलाई प्रेरणा दिन मुख्य वक्ताको रुपमा अनुभवहरू सुनाउने जनाइएको छ ।

View : 445

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved