विराटनगर । लिग चरणबाटै बाहिरिने खतराको नजिक पुगेर उत्कृष्ट पुनरागमन गरेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा शनिबार फाइनलमा विपक्षी सुदूरपश्चिम रोयल्सविरूद्ध लगभग एक पक्षीय जित निकाल्दै रोहित पौडेल नेतृत्वको लुम्बिनीले उपाधि हात पारेको हो । लुम्बिनीले दिपेन्द्रसिंह ऐरी नेतृत्वको सुदुरपश्चिमलाई ६ विकेटले हराएको हो ।
लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएपछि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो ।
सुदूरपश्चिम एनपीएलमा पहिलो पटक १ सय रन कटाउन असफल रह्यो । एनपीएल इतिहासमा पहिला ब्याटिङ गरेको टोलीले बनाएको यो सबैभन्दा कम स्कोर हो ।
दिनेश अधिकारीले पहिलो ओभरमै ४ छक्का प्रहार गरेपछि लुम्बिनीले एकतर्फी फाइनलमा ९ ओभरमै लक्ष्य पूरा गरेको थियो ।
लुम्बिनी पहिलो पटक विजेता बनेको हो । सुदूरपश्चिम लगातार दोस्रो वर्ष फाइनलमा पराजित भएको छ । गत वर्ष पनि टोली फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
लुम्बिनीले लगातार खेल ६ जित्दै उपाधि जितेको हो । यसका साथै लुम्बिनीले सुदूरपश्चिमको लगातार ६ खेल जितेको कीर्तिमान बराबरी गरेको छ ।
एनपीएल सिजन २ को सुरूआत सुदूरपश्चिमले लगातार ६ खेल जितेर गरेको थियो । तर सातौं खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो । त्यही विराटनगरलाई क्वालिफायर १ मा पराजित गरी सुदूरपश्चिम फाइनल पुगेको थियो ।
लुम्बिनीले लिगचरणको अन्तिम ३ खेल जितेर प्लेअफमा स्थान बनाएको थियो । त्यसपछि टोलीले इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई क्वालिफायर २ मा विराटनगरलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको थियो । गत वर्ष पनि सुदूरपश्चिमले लुम्बिनीमाथि ४५ रनको सहज निकालेको थियो । गत वर्ष लुम्बिनी ७ खेलमा ६ पराजय भोगी पुछारमा रहेको थियो ।
लुम्बिनीका लागि दिनेशले पहिलो ओभरमै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ४ छक्का प्रहार गरेपछि लुम्बिनीले २७ रन जोडेको थियो ।
दिनेश र डार्सी शटले ४ ओभरमै ५८ रन जोडेर लुम्बिनीलाई तुफानी सुरूआत दिलाएका थिए । शट १३ बल खेली १४ रनमा आउट भए । ३ चौका प्रहार गरेका उनलाई हेमन्त धामीले आउट गरे । हेमन्तले सोही ओभरमा दिनेशलाई पनि आउट गरे । दिनेशले १३ बलमै ४२ रन बनाए । उनले ५ छक्का र १ चौका प्रहार गरे ।
रोहित १२ बलमा १६ रन बनाएर आउट भए । उनले २ चौका र १ छक्का प्रहार गरेका थिए । निरोशान डिकवेला ११ रन बनाई अविजित रहे ।
सन्दीप जोरा स्कोर बराबर भएको समयमा शून्यमा आउट भएपछि दीलिप नाथले विजयी रन प्रहार गरेका थिए ।
प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी पनि लुम्बिनी लायन्सकै रोहित पौडेल घोषित भएका छन् । रोहितले ओमोडा कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा रोहितले २७६ रन बनाउनुका साथै १० विकेट पनि लिएका थिए । यस्तै रेड बूल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका अविनाश बोहरा घोषित भएका छन् । उनले १७ विकेट लिएका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका नामिबियन पेस बलर रूबेन ट्रम्पलमन घोषित भएका छन् ।
१५ विकेट लिएका उनले ५ लाख रूपैयाँ प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगरका सन्दीप लामिछाने घोषित भए । उनले पनि पल्सर बाइक प्राप्त गरे । उनको र बोहोराको समान १७ विकेट रह्यो ।
प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि रोहित पौडेल घोषित भएका छन् । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् ।
लुम्बिनीका तिलकराज भण्डारी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् । उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनी लायन्सका शेर मल्ल घोषित भएका छन् । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् ।
View : 186
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved