विराटनगर, ३० कात्तिक : चार देशीय महिला टी–२० सिरिजको फाइनल पुग्ने नेपाली महिला टोलीको सपना समाप्त भएको छ । सिरिज अन्तरगत नेपाल बिहीबार हङकङसँगको दोस्रो खेलमा पराजित हुन पुग्दा फाइनल खेल्ने सपना अन्त्य भएको हो ।
घरेलु टिम हङकङसँग नेपाल ९ विकेटले पराजित भएको छ । ब्याटिङ कमजोर हुँदा नेपालले लयमा रन जोड्न सकेन । १८ ओभरको समाप्तिमा नेपालले ५६ रन बनाउँदै अल आउट हुनपुग्यो । ५७ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको हङकङले ९ ओभरमा १ विकेट गुमाएर जित निकाल्न सफल भयो ।
हङकङसँगको हारले नेपालको फाइनल यात्रा सकिएको छ । अघिल्लो खेलमा तान्जानियासँग स्तब्ध भएको नेपालले दोस्रो खेल पनि गुमाएको हो ।
हङकङका लागि नतासा माइल्सले नटआउट ३० रनको योगदान गरिन् । शान्जिन शाहजादले नटआउट २० रन जोडिन् । ओपनर मारिको हिललाई कप्तान इन्दू बर्माले ५ रनमा रनआउट गराएर केही आशा दिलाएपनि त्यसपछि हङकङको रन योगफल रोकिएन ।
नेपालको इनिङका सुरूवाती ६ ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । लगातार विकेट जाँदा रूबिना क्षेत्रीले नेपालको इनिङलाई सम्हाल्ने कोसिस गरिन् । उनी पनि ३० बलमा ४ चौकासहित २५ रनको योगदानपछि बोल्ड भएकी थिइन् ।
नेपालका लागि दोस्रो ओभरमा ओपनर पूजा महतो ४ रनमा रनआउट भएपछि खराब समयको सामना गर्नुपर्यो । त्यसपछि लगातार विकेट गुमे ।
बलिङमा हङकङकी इक्रा सहरले ३ विकेट लिँदा रुचिताले २ विकेट हात पारेकी थिइन् ।
नेपालसहित हङकङ, तान्जानिया र जापान सम्मिलित महिला टी–२० सिरिज सुरु भएको थियो । नेपाल र जापानबीचको लिग चरणकै एक खेल बाँकी रहँदा नेपालका लागि तेस्रो स्थानको सान्त्वना जितको आवश्यकता छ । नेपालले जापानसँग मंसिर २ मा भेट्ने छ ।
View : 174
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved