विराटनगर । विश्वप्रसिद्ध प्रेरणादायी वक्ता तथा ब्रह्माकुमारी संस्थाकी प्रमुख दूत सिस्टर बीके शिवानीले यही शुक्रबार विराटनगरमा प्रवचन दिने भएकी छन् ।
सिस्टर बीके ‘सकारात्मक सोच, शान्त मन र सन्तुलित जीवन’ भन्ने सन्देश लिएर विश्वभर लाखौं मानिसको जीवनमा परिवर्तन ल्याउँदै आएकी व्यक्ति हुन् ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले मंगलबार पत्रकार सम्मेलन गरी सिस्टर शिवानीको आगामी कार्यक्रमबारे विस्तृत जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा केन्द्रका प्रतिनिधिहरूले कात्तिक १४ गते शुक्रबार विराटनगरस्थित जैन भवनमा हुने प्रवचन कार्यक्रमले विराटनगरमा सकारात्मक सोचाइको लहर फैलाउने विश्वास व्यक्त गरे ।
आयोजकका अनुसार, शुक्रबार दिउँसो ४ः३० बजे सुरु हुने कार्यक्रम झन्डै २ घण्टा ३० मिनेटसम्म चल्नेछ । कार्यक्रममा करिब अढाई हजार विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ । उद्योगी, व्यापारी, शिक्षाविद्, सामाजिक अभियन्ता र युवा वर्गको उल्लेख्य सहभागिता हुने बताइएको छ ।
सिस्टर शिवानीको यो कार्यक्रम विराटनगरको निजी क्षेत्रको पहलमा आयोजना हुन लागेको हो । मोरङ उद्योग व्यापार संघ विराटनगर, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ कोशी र नेपाल उद्योग वाणिज्य महासंघ कोशी विराटनगरले संयुक्त रूपमा कार्यक्रमलाई भव्य र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न तयारी थालेका छन् ।
निजी क्षेत्रका तर्फबाट कार्यक्रम संयोजनको जिम्मेवारी उद्योगी महेश जाजूलाई दिइएको छ ।
उद्योगी जाजूले भने, ‘सिस्टर शिवानीजस्तो व्यक्तित्वले हाम्रो सहरमा सकारात्मक सोच फैलाउने अवसर मिल्नु गर्वको कुरा हो ।’
अहिले समाजमा निराशा, असन्तुलन र तनावको मात्रा बढिरहेको भन्दै जाजूले यस्तो समयमा सकारात्मक ऊर्जाको सन्देश दिने व्यक्ति विराटनगर आउनु नै ठूलो प्रेरणा भएको बताए ।
ब्रह्माकुमारीले यसअघि काठमाडौं, पोखरा र बुटवलमा सिस्टर शिवानीका प्रवचनहरू गराइसकेको छ ।
नेपालमा उनको कार्यक्रमहरूमा प्रमुख रूपले ‘मनको शक्ति, आत्म–नियन्त्रण, सम्बन्धमा सामञ्जस्य र आध्यात्मिक नेतृत्व’ जस्ता विषयहरू केन्द्रमा रहन्छन् ।
विश्वका सयौं देशमा प्रवचन दिंदै आएकी सिस्टर शिवानी ब्रह्माकुमारीसँग सम्बन्धित अन्तर्राष्ट्रिय टेलिभिजन कार्यक्रमकी प्रस्तुतकर्ता पनि हुन् ।
सो कार्यक्रम भारत र विश्वभरका टेलिभिजन च्यानल तथा युट्युबमार्फत प्रसारण हुँदै आएको छ । उनले हालसम्म ५० भन्दा बढी देशमा जीवनशैली, आध्यात्मिकता र मानसिक स्वास्थ्यका विषयमा प्रवचन दिइसकेकी छन् ।
सिस्टर शिवानीको भनाइमा, ‘सकारात्मक सोच भनेको समस्या देख्दा डराउने होइन, समाधान खोज्ने दृष्टिकोण हो ।’ यही सोचलाई फैलाउन उनी विगत दुई दशकदेखि सक्रिय छिन् । उनका भाषणहरूले लाखौं मानिसलाई तनावमुक्त र उद्देश्यपूर्ण जीवन बा“च्ने प्रेरणा दिएको छ ।
विराटनगरमा हुने यो कार्यक्रमलाई सफल बनाउन आयोजक समिति तीब्र तयारीमा जुटेको छ । यो कार्यक्रम केवल धार्मिक वा आध्यात्मिक सभा मात्र नभई व्यवहारिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने अभियान भएको उद्योगी जाजूले बताए ।
उनका अनुसार, ‘आजको ‘फास्ट लाइफस्टाइ’ले मानिसलाई थकित र असन्तुलित बनाइरहेको छ । सिस्टर शिवानीको सन्देशले मानिसको सोच, बोली र व्यवहारमा सन्तुलन ल्याउनेछ ।’
सिस्टर शिवानीले मानिसको जीवनमा आत्म–जागरूकता र नकारात्मक सोच परिवर्तनका उपायहरूबारे पनि सुझाव दिने छिन् । कार्यक्रममा प्रवेश निःशुल्क भए पनि स्थान सीमित हुने भएकाले अग्रिम आमन्त्रण कार्ड वितरण सुरु गरिएको जाजूले बताए ।
View : 723
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved