विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ मा २८ अर्ब ३७ करोड बराबरको रकम खर्च गरेको छ । प्रदेश सरकारले यो वर्ष तालिम तथा गोष्ठीमा झण्डै २३ करोड रकम खर्च गरेको छ ।
कोशी प्रदेश लेखा नियन्त्रक कार्यालयले मंगलबार सूचना जारी गर्दै प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८०/०८१ मा २८ अर्ब ३६ करोड ७८ लाख ७६ हजार ६४४ रुपैयाँ खर्च गरेको जनाएको छ । यो अवधिमा प्रदेश सरकारले इन्धन र सवारी मर्मत गरेर झण्डै ३९ करोड रकम खर्च गरेको छ । त्यस्तै मसलन्द तथा कार्यालय सामग्रीमात्रै १२ करोड ५५ लाखको खरिद गरेको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम(७) बमोजिम प्रदेश सरकारहरूले आर्थिक वर्ष समाप्त हुनभन्दा सात दिनअघि नै सबै प्रकारको भुक्तानी तथा खर्च गरिसक्नुपर्ने हुन्छ ।
कार्यालयहरूले भुक्तानी दिई लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने कानूनी व्यवस्था भएकाले कोशी प्रदेश सरकार मातहतका विभिन्न कार्यालयले आइतबार र सोमबार दुई दिनमात्र अरबौं रुपैयाँ खर्च गरेका छन् । खाता बन्द हुने अन्तिम दिन सोमबार एकै दिन २ अर्ब ३१ करोड बराबर भुक्तानी प्रदेश सरकारका विभिन्न कार्यालयले दिएका छन् ।
प्रदेश लेखा नियन्त्रक कार्यालयले वित्तीय व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त प्रतिवेदनअनुसार कोशी प्रदेश सरकारको प्रारम्भिक खर्च निकालेको हो । प्रारम्भिक प्रतिवेदनअनुसार, प्रदेश सरकारको यो आर्थिक वर्षमा पुँजीगत खर्च १६ अर्ब र चालु खर्च १२ अर्ब गरेको छ ।
सरकारले कर्मचारीको तलबमा एक अर्ब ७७ करोड, पदाधिकारीको तलबमा १२ करोड खर्च गरेको छ । यसबाहेक पदाधिकारीको बैठक भत्तामा ५४ लाख, अन्य सुविधामा दुई करोड ६० लाख, पदाधिकारीको अन्य भत्तामा ३८ लाख खर्च भएको छ । प्रदेशमा पदाधिकारी भन्नाले मुख्यमन्क्री, मन्त्रीलगायत सरकारले राजनीतिक नियुत्ति गरेका व्यक्ति पर्छन् ।
चालु आर्थिक वर्षमा पदाधिकारीहरूले इन्धनमा एक करोड २६ लाख खर्च गरेका छन् । इन्धन शीर्षकमा कार्यालयतर्फ ठूलो रकम खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । यो वर्ष प्रदेश सरकार मातहतका विभिन्न कार्यालयले इन्धनमा १४ करोड २६ लाख रुपैयाँ खर्च गरेका छन् ।
सवारी मर्मतमा पनि कार्यालयहरूले उल्लेखनीय रकम खर्च गरेका छन् । यो शीर्षकमा १३ करोड रकम खर्च भएको देखिन्छ । त्यस्तै मसलन्द तथा कार्यालय सामग्रीमा १२ करोड ५५ लाख खर्च भएको छ ।
प्रदेश सरकार तथा यसका मातहतका कार्यालयहरूले यस वर्ष पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशनमा ६ करोड ५६ लाख रुपैयाँ खर्च गरेका छन् ।
कर्मचारी तालिम खर्चमा ६ करोड १२ लाख, अन्य तालिम तथा गोष्ठीमा १६ करोड १९ लाख रकम निकासा/खर्च भएको प्रदेश लेखा नियन्क्रक कार्यालयले जनाएको छ । त्यस्तै विशिष्ट व्यत्ति तथा प्रतिनिधि मण्डलको भ्रमणमा ८६ लाख ३४ हजार रकम खर्च भएको छ ।
View : 222
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved