Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

एक साधारण वडाध्यक्षको असाधारण पीडा

‘आगोले होइन, अराजकताले पोल्यो’

उद्‌घोष संवाददाता
२१ कार्तिक २०८२, शुक्रवार

विराटनगर । गत भदौ २४ मा भएको आन्दोलनको क्रममा केही अराजक व्यक्तिहरूले सरकारी र निजी सम्पत्तिमा क्षति पु¥याइरह“दा विराटनगर–१ का वडाध्यक्ष काजीबहादुर बस्नेत पनि बिटुलो रहेन ।

विराटनगरमा जलेका सबैजसो सरकारी भवनहरू मर्मत भइसके, तर वडा नम्बर १ को कार्यालय अझै मर्मत भएको छैन । 

आगोले खाएको भवनमा लागेको धुवाँको कालोले अध्यक्ष काजीबहादुरलाई जति दुखाएको छ, त्यतिकै उनको घरमा गरिएको अराजकताले पोलिरहेको छ । 

‘उनीमाथि किन यतिको अराजकता मच्चाइयो ?’ यही सोचमा उनी प्रायः घोत्लिइरहन्छन् ।

कर्मचारी भएर २७ वर्ष तत्कालीन विराटनगर उपमहानगरमा सेवा गरेका बस्नेतको राजनीतिक यात्राले २०७९ सालमा उनलाई वडाध्यक्ष बनायो । 

बितेका तीन वर्षमा उनले जुन उत्साहका साथ वडा विकास र स्थानीय सेवामा काम गरे, आगजनीपछि त्यो उत्साह हराएको छ । दोमनले सताइरहन्छ । एक मनले भन्छ, राजनीति र जिम्मेवारी छाडौं अर्को मनले सम्झाउँछ, मतदाताले दिएको भरोसा तोड्नु हुँदैन ।

‘मैले फटाइ, बदमासी गरेको भए चित्त बुझ्थ्यो, तर अब काम गर्ने मन मरेको छ,’ बिहीबार वडा कार्यालयमा भेटिएका बस्नेतले भने, ‘मैले ऐलानी जग्गामा घर बनाउन र विवरण नभएकालाई नागरिकताको सिफारिस दिन अस्वीकार गरेँ, यही हो मेरो गल्ती ’

आगजनी गर्नेहरू उनको घर खोज्दै पुगेका थिए । घर, कार र स्कुटर जलाए, उनले खान राखेको खाद्यान्नसम्म जलाएर नष्ट गरियो । 

घरमा भएका भाँडाकुँडा, सुन–चाँदीका गरगहना लुटेर लगे । आगजनी गर्नेहरूले भिडियोसमेत सार्वजनिक गरे, जसमा देखिएका धेरैजसो वडाबासी नै थिए । त्यो भिडियो अहिले प्रहरीसँग सुरक्षित छ ।

कसैको कुभलो नचाहेका काजीबहादुरमाथि लक्षित भएर कार्यालय र घर नष्ट गर्नेहरू आज पनि बजारमा हिंडिरहेका देखिन्छन् ।

आगजनी भएको चार दिनपछि मात्र उनी घर फर्किन सके । घरमा पुग्दा फेर्ने लुगा र लगाउने चप्पल पनि थिएन । श्रीमती र छोरी आफन्तको घरमा आश्रय लिएर बसेका थिए । उनले लगाउने–ओच्छ्याउने कपडा खरिद गरेर नजलेको कोठामा बस्न थाले ।

घरलाई पहिलेकै अवस्थामा ल्याउन करिब करोड रुपैयाँ जति लगानी गर्नुपर्ने अवस्था छ । गल्ती नगरे पनि कार्यालय र घर यति ठूलो असर हुनेगरी जलाइएकाले उनी दुई महिनासम्म स्तब्ध बनेर बसे ।

‘घरमा भएको सबै सामग्री जलेको र लुटिएको कारण विदेशमा रहेकी छोरीले केही रकम पठाइन् । तर कार्यालयको क्षतिमा मल्हम लगाउने एक जना बाहेक कोही देखिएनन् । 

एक व्यक्तिले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा कार्यालयलाई एक थान कम्प्युटर र रङ्गीन प्रिन्टर उपहार दिए । अर्का एक व्यक्तिले पनि कम्प्युटर दिने बताएका थिए, तर अहिले उनी फोन नै उठाउँदैनन्’ बस्नेतले भने ।

विराटनगरमै नमुना भवन बनाउने उद्देश्यले उनले लिफ्टसहितको वडा कार्यालय निर्माण गरेका थिए । तर अब आगोको रापले लिफ्ट नै चल्ने अवस्थामा छैन । अपाङ्गता भएका व्यक्तिहरू सेवा लिन लिफ्टबाट वडाध्यक्ष र सचिवको कार्यकक्षमा पुग्न सक्दैनन् ।

‘म ठूला ओहदामा भएको मान्छे भए के गर्थे होला ? नाथे वडाध्यक्षलाई यति सारो गर्लान भन्ने त सोचेकै थिइनँ,’ उनले पीडा पोख्दै भने ।

भदौ २४ को घटना हुनु केही दिनअघि अस्ट्रेलियामा रहेकी भतिजीको विवाहमा जानका लागि उनले तयारी गरेका थिए । विवाहका लागि दुई सुटकेस कपडा किनेर राखेका थिए । तर आगोले सबै डढाएपछि उनले दशैं र तिहार पनि छलेर बिताए । कतै गएनन्, रमाइलो गरेनन् ।

विराटनगरका १९ वडाध्यक्ष मध्ये काजीबहादुरको घर मात्रै जलेको थियो भदौ २४ गतेको आन्दोलनमा । 

वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेलको घरमा आन्दोलनकारी पुगे पनि समाजले रोकेको थियो । वडा ४ का जितन थापा, वडा १९ का श्याम घिमिरे र मेयर नागेश कोइरालाको घरको सिसा फुटाइएको थियो ।

View : 393

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved