Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

आङ्बोको स्वार्थले बन्धक बन्यो माओवादी

‘२० महिना भयो, खै सचेतक, खै प्रमुख सचेतक, खै उपनेता ?’ एक माओवादी सांसद प्रश्न गर्छन् । जबकि प्रदेश सभाको चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टीसमेतले संसदीय दललाई पूर्णता दिंदा आङबो भने यस विषयमा अहिलेसम्म असफल छन् ।
उद्घोष सम्वाददाता
३ साउन २०८१, बिहिवार

नेकपा माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता आङ्बो ।

विराटनगर । सरकारमा बस्ने र छाड्ने विषयमा आफूअनुकूलको व्याख्या हुन थालेपछि कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रभित्र तिब्र असन्तुष्टि बढेको छ । एक वर्षअघि बजेटको मुखैमा तत्कालीन हिक्मतकुमार कार्की नेतृत्वको सरकार ता–तात्तै छाडेको माओवादी केन्द्र अहिले उस्तै प्रकृतिको अवस्थामा भने फरक व्याख्या गर्दै सरकारमा बसिरहने प्रपञ्चमा लागेपछि उक्त पार्टीमा असन्तुष्टि बढेको हो ।

माओवादी केन्द्र प्रदेश सभाको पहिलो र दोस्रो कार्यकालमा निरन्तर सरकारमा रहने क्रममा अघिल्लो वर्षको पुस २९ गते हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा सहभागी थियो । त्यतिखेर माओवादीबाट दुर्गाप्रसाद चापागाईं र जीवन आचार्य मन्त्री भएका थिए । केन्द्रको राजनीतिमा फेरबदल भएपछि उनीहरूलाई माओवादी संसदीय दलले राजीनामा दिन निर्देशन दियो ।

दलको निर्देशनका कारण उनीहरूले जेठ २३ गते बजेटको मुखमा मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाएका थिए । त्यसबेलाका मुख्यमन्त्री कार्कीले बजेटको मुखमा सरकार नछाडिदिन गरेको आग्रहविपरीत माओवादी मन्त्रीहरूले राजीनामा दिएका थिए ।

‘बजेटको अन्तिम तयारी थियो, हप्ता दिनपछि बजेट प्रदेश सभामा पेश हुँदै थियो, यस्तो बेलामा सरकार नछाड्नुस्, छाडे पनि बजेटपछि छाड्नुस् भनेको, तर मानेनन्’ त्यसबेलाको अवस्था स्मरण गर्दै पूर्वमन्त्री एवं एमालेका सांसद बुद्धिकुमार राजभण्डारी भन्छन्, ‘पोहोर गठबन्धन फेरियो भन्दै बजेट ल्याउने बेलामा सरकार छाड्ने माओवादी अहिले कुन नैतिकताका आधारमा सरकारमा बसिरहेका छन् ?’ राजभण्डारी त्यसबेला कार्की नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री थिए ।

स्रोतका अनुसार, बजेटको मुखमा स्वयं माओवादी मन्त्रीहरू पनि सरकार छाड्ने कि नछाड्ने द्विविधामा थिए । तर, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफू अनुकूलका मन्त्रीहरू नभएपछि उनीहरूलाई एकछिन पनि टिकीखान दिएनन् । केन्द्रमा समीकरण अदलबदल हुनासाथ कोशी प्रदेशमा माओवादी मन्त्रीलाई राजीनामा दिन बाध्य पारे । 

आज बजेट पेश भई पारितसमेत भएर कार्यान्वयनको अवस्थामा तिनै आङबोको मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग अनौठो पिरिम गाँसिएकोमा एक माओवादी कार्यकर्ता आश्चर्य प्रकट गर्छन् । उनको भनाइमा आङबो लामो समयसम्म सरकारमा रहेका कारण पछिल्ला दिनहरूमा परोक्ष अपरोक्ष फाइदा लिन सिपालु भइसकेका छन् । 

आङ्बोले पछिल्लो समय आफू मुख्यमन्त्री हुन नपाएको ईखसमेत बिर्सिएर दुबै कार्की मुख्यमन्त्रीसँग सम्बन्ध सुमधुर बनाएको बताइन्छ ।

आङ्बोले केदार कार्की मुख्यमन्त्री हुँदा पनि उनलाई राम्रैसँग भरथेग गरेका थिए । जबकि गत वर्षको असोज २७ गते आङबोको मुखैमा आएको मुख्यमन्त्री पद दुई कार्कीबन्धु मिलेर खोसेका थिए । दुबै मुख्यमन्त्रीलाई आङबोले भरअभरमा सहयोग गर्नु बाहिरबाट हेर्दा राजनीतिक जस्तो देखिए पनि अन्तर्यमा आर्थिक भएको एक माओवादी सांसदको आरोप छ । 

आङबोले यसबीचमा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता भएर सत्ताको वरिपरि अलमलिनुबाहेक अरु माखो नमारेको माओवादी सांसदहरू गुनासो गर्छन् ।

‘२० महिना भयो, खै सचेतक, खै प्रमुख सचेतक, खै उपनेता ?’ एक माओवादी सांसद प्रश्न गर्छन् । जबकि प्रदेश सभाको चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टीसमेतले संसदीय दललाई पूर्णता दिंदा आङबो भने यस विषयमा अहिलेसम्म असफल छन् ।

आङबोकै कारण कोशी सरकारमा माओवादी मन्त्रीहरूले सरकार छाड्न आनाकानी गरेका छन् । स्रोतका अनुसार, केही दिनअघिसम्म कोशी सरकारबाट ब्याक हुनू भन्ने केन्द्रको निर्देशनविपरीत आङबोले कोशी सरकारबाट बाहिरिने निर्णय अहिलेसम्म संसदीय दलमा गरेका छैनन् । 

उनले कोशी प्रदेशमा कांग्रेसले आनाकानी गरे संख्या पुर्याउन एमालेलाई माओवादी नै चाहिने भएकाले सम्भावनाका चौतर्फी खेल हेर्नुपर्छ भनेर सरकारको बसाइ लम्बाइरहेका छन् । आङबो स्वयंले यसो गर्दा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पनि हाइसञ्चो भएको छ । कांग्रेस नआए माओवादी छँदैछ नि भन्ने सन्देश दिन पनि कार्कीले माओवादी मन्त्रीलाई सरकार छाडेर नजान भनेको बुझिएको छ । 

तर नेकपा माओवादी केन्द्रकै नेता तथा पूर्वमन्त्री दुर्गाप्रसाद चापागाई मुख्यमन्त्री कार्कीको यस्तो चातुर्यबाट आफ्नो पार्टी भलिभाँती जानकार भएको उल्लेख गर्छन् ।

‘कोशी प्रदेशमा सर्वदलीय सरकार वा सहमतिको सरकार बन्छ भनेर गुलिया कुरा गरेर मात्र हुँदैन’ उनी भन्छन्, ‘लोकाचारका लागि भएपनि मिल्नुपर्छ भन्नु ठिकै हो, तर यो कुरा न हिजो व्यवहारमा देखियो न भोलि देखिने सम्भावना छ ।’ चापागाई माओवादी कार्ड प्रयोग गरेर कांग्रेसलाई साइजमा राख्ने मुख्यमन्त्री कार्कीको योजनामा पार्टी नअलमलिने बताउँछन् ।

View : 324

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved