विराटनगर । तराई-मधेसलाई सडक यातायातमार्फत पूर्वपश्चिम जोड्ने लक्ष्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको काम सुस्त छ । हुलाकी राजमार्गअन्तर्गत मोरङतर्फको सडक विस्तारका लागि दुई पटक म्याद थपेर आगामी कात्तिकसम्म सडक विस्तारको काम सम्पन्न गर्नुपर्ने सम्झौता छ। तर यो अवधिमा जम्मा २३ किलोमिटर मात्र कालोपत्रे भएको इटहरीस्थित हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ ।
२०७६ सालमा तीन वर्षभित्र चार लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । पहिलो तीन वर्षमा काम सम्पन्न नभए पनि गएको साल एक वर्ष सडक विस्तारको म्याद थप गरिएको थियो ।
हुलाकी राजमार्ग योजना कार्यालबाट ३ अर्ब ६० करोड लागतमा ४१ किलोमिटर सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीले ८० प्रतिशत रकम खर्च भुक्तानी लिइसेका छन् । तर भौतिक प्रगति भने ५० प्रतिशत हाराहारीमा मात्र रहेको कार्यालयले जनाएको छ । जसका कारण सडक निर्माण पूरा नहुँदा सर्वसाधारणले कष्ट भोग्नुपरेको छ । बर्खामा हिलो र हिउँदमा धुलोले राजमार्ग आसपासमा बस्न समस्या हुने गरेको छ ।
रतुवा खोलादेखि विराटनगरको केसलिया खोलासम्मको सडक विस्तारको काममा ८० प्रतिशत भुक्तानी भइसक्दा भौतिक प्रगति भने त्यसको आधा मात्रै छ । निर्माण व्यवसायीको हेलचेक्राइँले सडक अलपत्र पर्दा सर्वसाधारणले अनेकौं सास्ती भोग्नुपरेको छ ।
सम्झौताअनुसार मोरङतर्फको राजमार्गको निर्माणको काम चालु आर्थिक वर्ष गएको कात्तिक मसान्तसम्म सम्पन्न भइसक्नुपर्ने थियो ।
विभिन्न पाँच प्याकेजमा ठेक्का सम्झौता भई निर्माण कम्पनीहरूले सडक विस्तारको जिम्मा लिएका छन् । तीन वटा प्याकेजबाहेकका थप दुई वटा प्याकेजको काम भने ९० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार रतुवा-केसलिया खण्डअन्तर्गत रतुवादेखि झुँगी टोलसम्म १६.५ किलोमिटरमा पिएस गजुरमुखी-मोतीदान जेभी, झुँगी टोलदेखि बेतौनासम्म ७.६ किलोमिटरमा कालिका मैनाचुली-वेदान्सी जेभी, बेतौनादेखि कटहरीको नयाँबजारसम्म ११.९ किलोमिटरमा गजुरमुखी-मोतीदान जेभी र कटहरीदेखि विराटनगरसम्म ६ किलोमिटरमा श्रेष्ठ कन्स्ट्रक्सनले सडक विस्तारको जिम्मा पाएका छन् ।
कार्यालयका इन्जिनियर शिवराम देवका अनुसार सडक निर्माणमा सबैभन्दा समस्या कटहरीदेखि विराटनगरसम्मको ६ किलोमिटर सडकमा छ ।
उक्त सडक खण्डको निर्माणको जिम्मा श्रेष्ठ कन्स्ट्रक्सनले पाएको छ । तर सडक विस्तारको समय अवधि सकिए पनि भौतिक प्रगति मात्र २८ प्रतिशत रहेको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ । सो सडक विस्तारको काम भने चालु आवको कात्तिक मसान्तसम्म सक्नुपर्ने थियो ।
२०७६ कात्तिक २४ मा सम्झौता भएको बेतौनादेखि कटहरीको नयाँ बजारसम्मको ११.९ किलोमिटर सडकको भौतिक प्रगति पनि ४० प्रतिशतमा सीमित छ । गएको कात्तिक मसान्तसम्म्मा सम्पन्न गर्नुपर्ने सडकको काम रोकिँदा समस्या भएको छ । निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा सकिएकाले निर्माण कम्पनीले म्याद थपको निवेदन कार्यालयमा दिए पनि के गर्ने भन्ने विषयमा छलफल भइरहेको इन्जिनियर देवले बताए ।
हाल सडक संरचना र केही ड्रेनेज निमार्ण कार्य मात्र भएको कार्यालयले जनाएको छ ।
करिब ७८ करोडको लागतमा निमार्ण सम्झौता भएको कम्पनीलाई १४ करोड बढी भुक्तानीसमेत भइसकेको छ । तर प्रगति भने निराशाजनक छ ।
मोरङमा निर्माण कार्य जारी रतुवा केसलिया सडकखण्डअन्तर्गत झुँगी टोलदेखि बेतौनासम्मको ७.६ किलोमिटर सडकखण्डको भौतिक प्रगति सन्तोषजनक देखिएको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सो खण्डको ७.५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । सडकमा आवश्यक संरचना निर्माणको कार्य समेत सम्पन्न भइसकेको जनाइएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण तराईका जिल्लाहरू जोड्ने लाइफलाइनका रूपमा हेरिएको हुलाकी राजमार्गको मोरङ जिल्लाअन्तर्गतको निमार्ण कार्य सुस्त हुँदै आएको छ ।
तराई-मधेसका २१ जिल्लाहरू जोड्ने हुलाकी राजमार्ग विस्तारको कार्य २०६२/६३ बाट सुरु भएको थियो । राजमार्गको निर्माण कार्य केही वर्षअघिसम्म द्रुत गतिमा भइरहेको भए पनि पछिल्लो केही समययता भने ठप्प भएको छ ।
View : 188
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved