लुटपाट भएका सामान फिर्ता माग्दै प्रदेश सभा सचिवालय
विराटनगर । जेनजी समुहको आगजनी र तोडफोडका क्रममा लुटपाट भएका विभिन्न किसिमका सरसामग्री कोशी प्रदेश सभा सचिवालयले फिर्ता मागेको छ ।
सचिवालयले गत मंगलबार भएको आन्दोलनका क्रममा आगलागी र तोडफोड गरी कोशी प्रदेश सभा सचिवालयमा रहेका सवारी साधन (गाडी, मोटरसाईकल), कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, स्वीचर, मिक्सचर, क्यामेरा, एसी, टिभी, कुर्सी, टेबल, सोफा लगायतका सामाग्रीहरु तथा कर्मचारीहरुका निजी सवारी साधनसमेत लुटिएको जनाएको छ ।
कोशी प्रदेश सभा सचिवालयका कार्यवाहक सचिव गौतम राज अमात्यले शनिबार सूचना निकालेर लुटिएका सामान फिर्ता गर्न आग्रह गरेका छन् । साथै, कसैले लुटपाट गरेर सामानहरु लगेको देखेमा जानकारी गराउने व्यक्तिको परिचय गोप्य राखिने उनले बताए ।
‘चोरी लुटपाटमा संलग्न व्यक्तिहरुको पहिचान खुल्ने गरी भिडियो र फोटो समेत फेला पारिरहेका छौं, लुटिएका सामग्री तत्कालै फिर्ता गर्न आग्रह गर्दछौं’ सचिव अमात्यले भने, ‘सामान देखु भएमा वा कुनै कारणबाट भेटाउनु भएमा वा कुनै माध्यमबाट आफ्नो साथमा रहेको भएमा यस प्रदेश सभा सचिवालयमा बुझाई सहयोग गरिदिनु हुन यो सूचना प्रकाशन गरिएको छ । साथै उल्लिखित सामाग्रीहरूको सम्बन्धमा कुनै जानकारी भएमा जानकारी दिने व्यक्तिले चाहेमा निजको परिचय गोप्य राखिने छ ।’
सचिवालयले लुटपाट गरिएका सामग्री फिर्ता नगरे संलग्न व्यक्तिहरूको पहिचान गरी प्रचलित कानून बमोजिम अनुसन्धानको दायरामा ल्याएर कारवाही प्रक्रिया अगाडी बढाइने चेतावनी दिएको छ ।
मंगलबारको उग्र प्रदर्शनका क्रममा प्रदेश सभा सचिवालयमा आगजनी हुँदा ठुलो संख्यामा प्रदेश सभा सचिवालयमा प्रवेश गरेका व्यक्तिहरूले सामग्रीहरू लुटपाट गरेका थिए । सचिवालयमा लुटपाट हुँदाका भिडियोहरू अहिले धमाधम सार्वजनिक भइरहेका छन् ।
प्रदेश सभा सचिवालयबाट लुटिएका केही सामग्री भने केही व्यक्तिहरूले संलग्न व्यक्तिहरूबाट नियन्त्रणमा लिएर सचिवालयलाई फिर्ता समेत दिएका छन् ।
View : 494
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved