आठौं विराट गोल्डकप
विराटनगर । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) लाई पराजित गर्दै घरेलु टिम सांग्रिला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
विराटनगरको सहिद रङ्गशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा आरटिएफसीलाई ३–२ गोलले हराउँदै सांग्रिला अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।
जितसँगै सांग्रिलाले सोमबार हुने विभागीय टिम सशस्त्र प्रहरी बल र चर्च ब्वाइज युनाइटेडबीच हुने विजेता टिमसँग खेल्नेछ ।
जितको लागि सांग्रिलाको तर्फबाट आशिष चापागाईँ, सुशिल राई र विदेशी खेलाडी स्याङले गोल गरे । आरटिएफसीको तर्फबाट सोरब दोर्जेले दुई गोल फर्काए पनि त्यो पर्याप्त भएन ।
खेल सुरु भएको २६ औं मिनेटमा विवेक पौडेलले प्रहार गरेको कर्नर बललाई आशिष चापागाँईले हेडमार्फत आकर्षक गोल गरी सांग्रिलालाई अग्रता दिलाए । पहिलो गोल खाएपछि आरटिएफसी दबाबमा पर्यो । सांग्रिलाले अग्रता लिएको सात मिनेट बित्न नपाउँदै सुशील राईले हेड मार्फत उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे ।
मौसम लिम्बुले मध्यभागबाट निकालिदिएको पास सुशीलले सदुपयोग गर्दै ३३ औं गोल गरेका थिए । घरेलु दर्शकको साथ पाएको सांग्रिलाले दोस्रो हाफदेखि आक्रामक खेल पस्कियो । दोस्रो हाफको ५० औं मिनेटमा विदेशी खेलाडी स्याङले सांग्रिलाका लागि तेस्रो गोल गरे । आरटिएफसीको गोल किपर डेन्डुप अगाडि बढेपछि विदेशी खेलाडी स्याङले बायाँ बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो ।
आरटिएफसीको फिनिसिङ पक्ष कमजोर रहँदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेका थिए । लगातार पाएको सुन्दर अवसर आरटिएफसीका खेलाडीको फिनिसिङ पक्ष कमजोर देखिँदा क्वार्टरफाइनलबाट घर फर्किन बाध्य भयो ।
६५ औं र ७४ औ मिनेटमा आरटिएसफीका सोरब दोर्जेले दुई गोल फर्काए । केल्जाङ जिग्मेले गरेको प्रहार सांग्रिलाका गोलकिपर विशाल सुनारले पञ्च गरेको बल रिबाउन्ड भएर फर्किएपछि सोरब दोर्जेले गोल गरेका थिए । ७४ औं मिनेटमा आरटिएसफीका जिङ्माले निकालिदिएको पास सदुपयोग गर्दै सोरबले गोल गरी ३–२ गोलको स्थितिमा पुऱ्याउँदा घरेलु दर्शक समेत दवाव महसुस गरेका थिए ।
सुरुवाती १३ औं मिनेटमा आरटिएफसी भुटानका जिङ्माले निकालिदिएको क्रस पास हुँदै केन्जुङको कडा प्रहारले पोस्टको दिशा पकड्न सकेन । लगत्तै केल्जाङ जिग्मेले डिबक्स भित्रबाट गरेको प्रहार सांग्रीलाको गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाउ गरे । २४ औं मिनेटमा डिबक्स नजिकबाट किन्ले गेतसनको कडा प्रहार पनि बाहिरियो ।
सांग्रिलाका गोलकिपर विशाल सुनारले टिमलाई अघि बढाउन प्रभावकारी भूमिका निभाए । उनले आधा दर्जन बढी आरटिएफीको पोस्ट आक्रमणलाई निस्तेज पार्दै टिमलाई अन्तिम चारको यात्रा गराए ।
सांग्रीलाका सुनिल खड्काले ६० औं मिनेटमा वान भर्सेज वानको प्रहार गोल गर्नबाट चुके । उनले डिबक्स भित्रबाट गरेको प्रहार डेन्डुपले विफल पारिदिएका थिए । सुमन लिम्बुले निकालको क्रस पास डिबक्स भित्रबाट विदेशी खेलाडी स्याङले गोल गर्नबाट चुके ।
७८ औं मिनेटमा केन्जुङको डिबक्स भित्रबाट गरेको कडा प्रहार गोल गर्न चुक्दा बराबरीमा ल्याउन सकेनन् । खेलको प्लेयर अफ द म्याच सांग्रिलाको महेन्द्र कार्की घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।
हारपछि भुटानका प्रशिक्षक उगेन दोर्जेले आफ्नो टोलीले पाएको अवसर चुकाउँदा नतिजा आफ्नो पक्षमा पार्न नसकेको बताए । जितपछि प्रतिक्रिया दिँदै सांग्रिला फुटबल क्लबका प्रशिक्षक रानु राना मगरले खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका कारणले सेमिफाइनमा पुगेको बताए । ‘सेमिफाइनलमा अहिलेको सेटमा केही खेलाडी थप हुनेछ’ उनले भने ।
घरेलु टिम सांग्रिला एफसीका प्रमुख एवं विराटनगरका अग्रणी उद्योगी राजेन्द्र राउतले पनि क्लवलाई यस प्रतियाेगिताको सशक्त दाबेदारका रुपमा उतारिएको बताए । उनले त्यसैको परिणामका रुपमा आजको खेललाई लिनुपर्ने उनले बताए । घरेलु दर्शकको साथ र मायाका कारण क्लवले हौसला पाएर खेल प्रदर्शन गरेको राउतले बताए ।
आइतबारको खेल एनआरटी फुटबल क्लब काठमाण्डौ र सिक्किम ड्रयागन भारतबीच हुनेछ ।
View : 362
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved