Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

मानगढ खानेपानीको निर्वाचन विवाद

मतदान बदर गरी पुनः निर्वाचनको माग गर्दै उच्च अदालतमा रिट दायर (रिट निवेदनसहित)

उद्‌घोष सम्वाददाता
२५ जेठ २०८१, शुक्रवार

विराटनगर । विराटनगर महानगरपालिकाको १, ३, ४, १९ र बुढीगंगा गाउँपालिकाको १ नम्बर वडामा खानेपानी वितरण गर्दै आएको विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मानगढ खानेपानी आयोजनाको कार्यसमिति निर्वाचनको विवादले अदालतमा प्रवेश पाएको छ । 

गत शनिबार भएको निर्वाचन उम्मेदवारहरूका समर्थकहरुबीच भएको विवादले अशान्त बन्दा मतदान गर्नबाट वञ्चित भएका उपभोक्ताहरूले बिहीबार उच्च अदालत विराटनगरमा मतदान बदर गरी पुनः निर्वाचनको माग गर्दै रिट दायर गरेका हुन् । 

उपभोक्ताहरू टंकप्रसाद खतिवडा, यज्ञप्रसाद खतिवडा र भरत कार्कीले दायर गरेको रिटको पहिलो पेशी शुक्रबारलाई तोकिएको छ । रिटमा निर्वाचन समितिले तोकेको समयभन्दा दुई घण्टा ढिलो मतदान सुरु गरेको तथा मतदान केन्द्र पूर्ण रुपमा अव्यवस्थित रहेका कारण मतदान अवरुद्ध भएर विवाद उत्पन्न भएको, विवादका कारण मतपत्र पाइसकेका उपभोक्ताहरूले समेत मतदान गर्न नपाएको लगायतका कारण उल्लेख गर्दै उक्त मतदान बदर गरी पुनः मतदान गर्न परमादेशको माग गरिएको छ ।

त्यसैगरी तत्कालीन निर्वाचन समितिले राजीनामा दिइसकेको अवस्थामा नयाँ निर्वाचन समिति गठन गरी शनिबार भएको मतदानलाई कायम गरी मतगणना गर्न खोजिएको भन्दै त्यससम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन प्रतिषेधको आदेश पनि माग गरिएको छ ।

खसेको मतलाई मात्र आधिकारिक मानी मतदान भइसकेको मतपत्र मात्र मतगणना गरी निर्वाचन परिणाम घोषणा गर्ने गराउने प्रवल सम्भावना रहेको भन्दै मुद्दाको टुंगो नलागुञ्जेलसम्म मतदान भएको मतपेटिका नखोल्नू नखोलाउनू, मतगणना नगर्नू नगराउनू, मत परिणाम घोषित नगर्नू नगराउनू, सोही मतपत्रको आधार लिई कुनै पनि उम्मेदवारलाई निर्वाचित घोषित नगर्नू नगराउनू, पदस्थापना लगायतका काम कारबाही नगर्नू नगराउनू, कुनै पनि निर्णय तथा काम कारबाहीहरू नगर्नू नगराउनू र यथास्थितिमा राख्न अन्तरिम आदेशको माग गरिएको हो ।

रिटमा जिल्ला जलस्रोत समिति, उक्त समितिका अध्यक्ष रहने प्रमुख जिल्ला अधिकारी, विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको तदर्थ समिति, तदर्थ समितिका कार्यवाहक अध्यक्ष तोयानाथ घिमिरे, निर्वाचन समितिका संयोजक रहेका नवराज दाहाल, सदस्यहरू बालकृष्ण आचार्य, अनिल खड्का, जिल्ला प्रशासन कार्यालय मोरङ, संघीय खानेपानी कार्यालयसमेतलाई विपक्षी बनाइएको छ ।

शनिबार मतदानकै क्रममा विवाद उत्पन्न भएपछि आइतबार विहान ८ बजेदेखि १ बजेसम्म बाँकी उपभोक्ताहरूलाई मतदानको व्यवस्था गर्ने सूचना निर्वाचन समितिले जारी गरेको थियो । तर आइतबार बिहानै निर्वाचन समितिका संयोजक र सदस्यसहित तीनै जनाले राजीनामा दिएपछि बाँकी उपभोक्ताहरूले अहिलेसम्म मतदान गर्न पाएका छैनन् ।

मतदानमा ५० प्रतिशत बढी मत खसेका कारण खसेको मतलाई नै कायम गरेर गणना गर्ने विषयमा भएको छलफल समेत बिना निश्कर्ष टुंगिएको छ । अहिले करिव तीन हजार मतदाताले दिएको मतको मतपेटिका सिलबन्दी गरेर प्रहरीको सुरक्षामा राखिएको जनाइएको छ ।

मानगढ खानेपानीमा करीव ६ हजार उपभोक्ताहरू छन् । तत्कालीन कार्यसमितिले निर्वाचनलाई व्यवस्थित बनाउन नसक्दा मतदान स्थलमा अस्तव्यस्त भएको थियो ।

सोमबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएको सर्वपक्षीय छलफल समेत बिना निश्कर्ष टुंगिएपछि पुनः निर्वाचन हुने कि नहुने तथा खसेको मतलाई नै कायम गरेर गणना गर्ने वा नगर्ने विषय अन्यौलता कायमै रहेको छ ।

उच्च अदालत विराटनगरमा पेश भएको रिट निवेदन

View : 4298

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved