विराटनगर, २२ मंसिर : आवर विराटनगर डटनेटका समाचार संयोजक प्रेम देवानलाई रिपोर्टिङमा बोलाएर सुनियोजित रुपमा आक्रमणमा संलग्न रहेकाहरु मध्ये एकजना पक्राउ परेका छन् । आक्रमणमा संलग्न रहेका नेकपा माओवादी निकट वाइसीएलका कार्यकर्ता रमेश रायलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
देवानमाथि रायसहित माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अभिमन्यु यादव र वाइसीएल मोरङका सचिव मोहमद रियान लगायतले बाेलाएर कुटपिट गरेका थिए । आफूमाथि योजनाबद्ध आक्रमण भएको भन्दै देवानले शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएपछि राय पक्राउ परेका हुन् ।
जाहेरीका आधारमा उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । पक्राउ परेका धनपालथान–५ घर भएका राय वाइसीएल धनपालथानकै अध्यक्ष रहेको खुलेको छ ।
पत्रकार देवानमाथि बिहीबार विराटनगर महानगरपालिका परिसरमा सांघातिक आक्रमण भएको थियो । बुधबार विराटनगर–७ सातघुम्तीस्थित कवाडीमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको र महानगरपालिकाले समयमा दमकल नपठाएको आरोप लगाउँदै माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र वाइसीएलको नेतृत्वमा बिहीबार महानगरपालिका अगाडि प्रदर्शन गरिएको थियो ।
मोहमद रियानले पटक-पटक फोन गरेर आफूलाई महानगरपालिकामा बोलाएको र महानगर परिसर पुग्नेबितिकै अन्दाधुन्द आक्रमण गरेको पीडित देवानले बताए । आफूलाई आक्रमण गर्ने रियानले बुधबार बेलुका पनि रिपोर्टिङका लागि भन्दै पटक-पटक बोलाएको उनले जानकारी दिए ।
पत्रकार देवानमाथि आक्रमण गर्नेहरुविरुद्ध अभद्र व्यवहार कसुरमा जाहेरी परेको प्रहरीले जनाएको छ ।
आक्रमण सुनियोजित ढंगबाट आक्रमण भएको देवानले बताएका छन् । नियोजित रुपमा फोन गरेर बोलाउने मो.रियान, धम्की र गालीगलौज गर्दै क्यामेराम्यानलाई भिडियो नखिच्न चेतावनी दिने अभिमन्यु यादव र आफूमाथि आक्रमण गरी घिसार्दै भीडतर्फ लैजाने रमेश रायविरुद्ध किटानी जाहेरी दिइएको पीडित पत्रकार देवानले जानकारी दिए ।
पत्रकार देवानमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ मोरङ, महासंघ कोशी प्रदेश, विभिन्न संघसंगठन र आवद्ध मिडिया र अन्य संगठनहरुले समेत विज्ञप्तिमार्फत विरोध जनाएका छन् । उनीहरुले आक्रमणकारी र संलग्नहरुमाथि कडा कारवाहीको माग गरेका छन् ।
View : 256
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved