Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

मोरङको शिक्षामा २५ वर्ष बसेका बरालले पाए अवकाश

उद्घोष सम्वाददाता
१६ साउन २०८१, बुधवार

विराटनगर । २०५१ सालमा शिक्षा सेवा प्राविधिक सहायक पदमा मोरङबाटै सरकारी सेवामा प्रवेश गरेका  शिक्षा विकास तथा समन्वय इकाई मोरङका शाखा अधिकृत दिनेश बरालले बुधबारदेखि अवकाश पाएका छन् । उनको उमेर हदका कारण अवकाश भएको हो ।

सरकारी सेवामा ३० वर्ष ३ महिना जागिर अवधि पुरा गरेका बरालले २५ वर्ष मोरङमै बिताएका हुन् । बरालले २०८१ साउन १६ गते मोरङबाटै अवकाश पाए ।

उनले तत्कालीन दादरबैरिया, राधाकृष्ण, जनपथ स्रोत केन्द्र लगायतमा विद्यालय निरीक्षकका रुपमा काम गरेका थिए । पछिल्लो समय शिक्षा कार्यालयको संरचनात्मक परिवर्तन भएसँगै शिक्षा विकास तथा समन्वय इकाई मोरङको विद्यालय प्रशासन फाँटमा कार्यरत रहेका बराल अवकाश भएका हुन् ।

उनलाई बुधबार शिक्षा विकास र समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतमले अवकासप्राप्त जीवनका लागि शुभकामना दिँदै शिक्षा क्षेत्रमै काम गर्न र समाज सेवामा समर्पित हुन आग्रह गरे ।

अवकाश पछिको बिदाइका क्रममा जहदा गाउँपालिकाका शिक्षा अधिकृत दीपक खनाल, नेपाल राष्ट्रिय शिक्षक संगठन मोरङका अध्यक्ष प्रेमप्रसाद भट्टराई, नेपाल शिक्षक महासंघ विराटनगरका अध्यक्ष बेदु कुमार खतिवडा, मिल्स माविका प्रधानाध्यापक बिन्दुकुमार लावती, आदर्श माविका सन्तोष पोखरेल, पोखरिया माविका खेमराज भट्टराईसहित शिक्षा विकास र समन्वय इकाई मोरङका कर्मचारीहरूले शुभकामना दिएका थिए ।

View : 364

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved