Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

बाढी पहिरो मत्थर भएपछि माओवादीले बुझायो ज्ञापन

उद्‌घोष सम्वाददाता
२२ असोज २०८१, मङ्गलवार

विराटनगर । बाढी पहिरोको प्रकोप मत्थर भएपछि कोशी प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सोमबार सरकारलाई ध्यानाकर्षण गराउने औपचारिकता पूरा गरेको छ ।

चार वर्षसम्म कोशी प्रदेशकै आर्थिक मामिला तथा योजना मन्त्री रहँदा प्रकोप प्रभावितका लागि राहत र पुनर्निमाण कोष बनाउने कुनै पनि पहलमा नगरेका माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले यस पटक प्रतिपक्षमा पुगेपछि भने त्यस्तो कोष बनाउन सरकारसँग माग गरेका छन् । 

सोमबार उनले कोशी प्रदेश बाढी पहिरो प्रभावितलाई तत्कालै राहत दिन र पूर्वाधारमा भएको क्षतिको पुनर्निमाणका लागि कोष स्थापना हुनुपर्ने सरकारलाई सुझाव दिए । 

दल नेता आङ्बोसहित प्रमुख सचेतक गीता तिम्सिना नेतृत्वको टोलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कार्यकक्षमै पुगेर यस्तो सुझावयुक्त ज्ञापनपत्र बुझाएको हो । 

ज्ञापनपत्रमा बाढी पहिरोबाट कोशी प्रदेशमा ठूलो क्षति भएको भन्दै प्रभावितहरूलाई राहत, क्षति पुगेका पूर्वाधारको पुनर्स्थापना र पुनर्निर्माण सरकारको नियमित बजेटबाट सम्भव नहुने भएकोले संघीय सरकार, विकास साझेदार निकायहरू तथा निजी क्षेत्रसमेतको सहयोगमा ‘राहत एवं पुनर्निर्माण कोष’ स्थापना गर्नुपर्ने उल्लेख छ ।

त्यसैगरी बाढी पहिरोमा परी हालसम्म वेपत्ता भएकाहरूको खोजी तथा उद्दार र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचार गर्न पनि माओवादीले सरकारसँग आग्रह गरेको हो । माओवादीले राहत वितरणको झन्झटिलो प्रक्रियालाई हटाएर पीडितहरूलाई दशैँ अघि नै छोटो प्रक्रिया अपनाएर राहत दिन पनि माग गरेको छ । 

उनीहरूले विस्थापित भएका र घरमा क्षति पुगेका व्यक्तिहरूका तत्कालै बसोबासको व्यवस्था गर्न समेत सरकारसँग माग गरेको जनाइएको छ ।

त्यसैगरी विपदपूर्वको आवश्यक तयारी र त्यसपछिको प्रतिकार्यको भने सरकार र सम्वद्ध राजनीतिक नेतृत्वको सक्रियता नदेखिएको र जनतालाई सरकार छ भन्ने कुराको महसुस गराउन पनि चुकेको माओवादीले आरोप लगाएको छ । 

बाढी पहिरोले किसान र साना ठुला व्यवसायी बढी प्रभावित भएको, जलविद्युत आयोजनाहरूमा पनि ठुलो क्षति भएको भन्दै क्षति मूल्यांकन गर्न आग्रह गरेको छ ।

View : 148

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved