Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

कोशी प्रदेश टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता

अविजित आर्मी र समुह ‘ए’ कै कर्णालीबीच पक्का भयो फाइनल

उद्घोष सम्वाददाता
२ चैत २०८०, शुक्रवार

विराटनगर । फागुन २२ देखि विराटनगरस्थित बैजनाथपुर क्रिकेट रङ्गशालामा सुरु भएको कोशी प्रदेश टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल आर्मी र कर्णाली प्रदेशको भेट निश्चित भएको छ ।

शुक्रबार भएका दुई सेमिफाइनलमा समुह ‘ए’ को विजेता आर्मी र उपविजेता कर्णालीले फाइनल भेट निश्चित गरेका हुन् । आर्मीले फाइनल अघि समुह ए का सबै खेल जित्न सफल भयो ।

समुह बी को विजेता सुदूरपश्चिम प्रदेशलाई आर्मीले ५ विकेटले पन्छाएको हो । अहिलेसम्मका दुईवटा राष्ट्रिय प्रतियोगितामा भाग्यको साथ नपाएको आर्मीलाई
तेस्रो प्रतियोगितामा उपाधि उचाल्ने धोको पुरा गर्न सुदुरपश्चिमसँगको खेलमा जित अनिवार्य थियो ।

टस हारेर ब्याटिङमा निम्ता पाएको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६३ रनको उत्कृष्ट योगफल तयार पारेको थियो । तर आर्मीले त्यो सहज पछ्यायो ।

१६४ रनको लक्ष्य पुरा गर्न आर्मीका वसिर अहमदको अर्ध सतक महत्वपूर्ण रह्यो । १९ दशमलव १ बलमा ५ विकेटसहित आर्मीले लक्ष्य तय गरेको हो । 

आर्मीको जितमा प्लेयर अफ द म्याच घोषित वसिर अहमदले २८ बलमा २ छक्का र ५ चौकासहित अविजित ५० रनमा बनाए । तृतराज दासले ३८ रन र सन्तोष कार्कीले ३१ रन बनाए । सुदुरका दीपक बोहोराले २ विकेट लिँदा हेमन्त धामी र नरेन साउदले पनि १–१ विकेट लिए ।

पहिलो इनिङमा सुदूरपश्चिमका नारायण जोशीले आक्रमक ब्याटिङ गर्दै २२ बलमा ६ छक्का र ४ चौका प्रहारसहित ५९ रन बनाएका थिए । उनले १७ बलमा हाफ सेन्चुरी बनाएका थिए । त्यस्तै किरण ठगुन्नाले ४३ रन बनाए । आर्मीका वसिर अहमदले नै सुदुरलाई रोक्न मुख्य योगदान गरे । उनले ४ ओभरमा २३ रनको किफायति बलिङबाट ४ विकेट लिए । त्यस्तै नितेश पटेलले पनि निर्णायक ३ विकेट लिए ।

आर्मीले यस सिजनमा प्रधानमन्त्री कप र केपी आली कपको फाइनल खेलिसकेको छ । तर दुवै ट्रफी उसले रक्षा गर्न सकेन । आर्मी प्रधानमन्त्री कपमा पुलिससँग र केपी ओली कपमा मधेश प्रदेशसँग स्तब्ध बन्नु परेको थियो ।

दोस्रो खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । 

उद्घाटन खेलमै कोशी प्रदेशसँग हारेर निरास बनेको कर्णालीले समुह ‘बी’ को विजेता लुम्बिनीलाई शुक्रबारको दोस्रो सेमिफाइनलमा स्तब्ध पारुञ्जेल लगातार चार खेलमा जित्न सफल भयो ।

टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा १८ दशमलव २ बलमै अल आउट भयो । लुम्बिनीले १५१ रनको स्कोर बनाएको थियो ।

लुम्बिनीका लागि आकाश त्रिपाठीले ३९ बलमा १ छक्का र १० चौका प्रहार  गरे । त्रिपाठीको ६५ रनको योगदान बाहेक मृनल गुरुङले २२, दिलसाद अलीले १४ र कप्तान देव खनालले १२ रन बटुले ।

लुम्बिनीलाई रोक्न कर्णालीका दिपेन्द्र रावतले ४ ओभरमा ३१ रन दिएर ४ विकेट लिए । उनी प्लेयर अफ दि म्याच बने । कर्णालीकै प्रकाश जैसीले ३ विकेट तथा दिवान पुनले २ विकेट लिएका थिए ।

१५२ रनको लक्ष्य पाएको कर्णालीले १८ दशमलव ५ बलमा ५ विकेटको क्षतिमै लक्ष्य पुरा गरेको हो । कर्णालीका अर्जुन घर्तीले २७ बलमा १ छक्का र ५ चौका प्रहार गरी अविजित ४३ रनका लागि खेले । त्यस्तै दिनेश अधिकारीले २० बलमा ३ छक्का र २ चौका प्रहार गर्दै अविजित ३६ रन जोडे ।

११ दशमलव ५ बलमा पाँच विकेट गुमाइसकेको कर्णालीसँग ७८ रनमात्रै थियो । तर घर्ती र अधिकारीले छैटौँ विकेटका लागि ४२ बलमा अविजित ७४ रनको सानदार साझेदारी गर्दै फाइनलमा पुर्या‍ए । त्यस्तै रविन्द्र शाहीले २४ र विपिन राउतले १९ रनको योगदान दिए ।

लुम्बिनीका वीर मगर, निर्मल गुरुङ, देव खनाल नर सार्की र कृष्ण कार्कीले समान १–१ विकेट लिन सफल भए ।

प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो १२ बजेलाई तय भएको छ । मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा पहिलो पटक कोशी प्रदेश टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिइने योजनाका साथ क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को राष्ट्रिय क्यालेण्डरमा समावेश गरिएको छ ।

View : 309

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved