विराटनगर । इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएको पाँच दिनभित्रै फरार अभियुक्त खोटाङका १९ वर्षीय किरण राई कतारबाट पक्राउ परे । इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रहरूको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका चार जना फरार अभियुक्तलाई दुबई र कुवेतबाट एक हप्ताभित्रै पक्राउ गरी गत पुस पहिलो हप्ता नेपाल ल्याइयो ।
देशमा अपराध गरी विदेशमा फरार रहेका प्रतिवादीहरूलाई इन्टरपोलको सक्रियतामा पक्राउ गरी स्वदेश फिर्ता ल्याएर कानूनी पक्रिया अगाडि बढाउने कामले तिव्रता पाएको छ ।
फरार अभियुक्तहरूको अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट विभिन्न नोटिस जारी हुने गर्दछ ।
सन् १९९१ देखि हालसम्म १ सय ६८ जनाविरूद्ध रेड नोटिस, २४ जना विरूद्ध एल्लो नोटिस, १ जनाविरूद्ध ब्ल्यु नोटिस, १ जनाविरूद्ध ब्ल्याक नोटिस, १ जनाविरूद्ध पर्पल नोटिस र १ सय ३ जनाविरूद्ध डिफयुजन नोटिस जारी भएको छ । ती मध्ये ६१ रेड नोटिस, ११ एल्लो नोटिस, १ ब्ल्याक नोटिस, १ पर्पल नोटिस र ३५ डिफयुजन नोटिस हाल कारबाहीको प्रक्रियामा छन् ।
कारबाहीको प्रक्रियामा रहेका रेड नोटिस जारी भएकामध्ये ५५ जना नेपाली र ६ जना विदेशी नागरिक, एल्लो नोटिस जारी भएका ११ जना नेपाली नागरिक र डिफ्युजन नोटिस जारी भएकामध्ये ३० जना नेपाली र ५ जना विदेशी नागरिक छन् ।
फरार अभियुक्तहरूका विरूद्ध इन्टरपोलद्वारा नोटिस जारी गर्ने र पक्राउ फर्ने क्रम जारी छ । सो त्रममा सन् २०२४ फेब्रअरी २ तारिखमा मात्र ६ जनाविरूद्ध रेड नोटिस जारी भएको छ । ती मध्ये वैदेशिक रोजगार ठगीमा ४ जना र सहकारी ठगीमा २ जना छन् ।
नोटिस जारी गर्न एनसीबी काठमाडौंले गर्ने अनुरोधका सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल भन्छन्, सन् १९६७ देखि एनसीबी काठमाडौंले इन्टरपोलको सुरक्षित एवं बिश्वव्यापी प्रहरी सञ्चार प्रणालीको सुविधाबाट इन्टरपोलका सदस्य राष्ट्रहरुसँग समन्वय र सूचना आदान–प्रदान गर्दै आएको छ । सोही सुविधाकै कारण एनसीबी काठमाडौंले विभिन्न नोटिस एवं डिफ्यूजन जारी गर्नका लागि इन्टरपोल महासचिवालयमा अनुरोध गर्ने गर्दछ ।
नोटिस जारीको साथै विदेशमा फरार रहेका अभियुक्तहरू इन्टरपोल तथा सम्बन्धित सदस्य राष्ट्रको प्रहरीसँगको समन्वय र सहयोगमा पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरी सक्रिय छ ।
यस कार्यलाई पछिल्लो समय उच्च प्राथमिकताका साथ तिव्रता दिएको छ । हालसम्म युएईबाट १९ जना, कतारबाट ९ जना, साउदी अरेबियाबाट ३ जना, भारत र कुबेतबाट ३–३ जना, मलेसिया, मकाउ र चीनबाट २–२ जना र थाइल्याण्ड,क्यानडा,संयुक्त राज्य अमेरिका, पोर्चुगल तथा बहराइनबाट १–१ जना फरार अभियुक्तहरूलाई पक्राउ गरी नेपाल फिर्ता ल्याएको छ ।
यसैगरी नोटिस तथा डिफ्युजन जारी भएका ४ जनालाई नेपालमा नै पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ । पक्राउ पर्नेहरूमध्ये कर्तव्य ज्यान, ठगी, अपहरण, डकैती, वन्यजन्तु अपराध, बैंकिङ कसूर, सुन तस्करी, संगठित अपराध, कीर्ते, लागूऔषध ओसारपसार, साइबर अपराध, वैदेशिक रोजगार ठगी, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार लगायत मुद्दाका फरार अभियुक्त छन् ।
वारेन्ट जारी भएका फरार अभियुक्तहरूको खोजीका लागि रेड नोटिस, वारेन्ट जारी नभएका तथा अनुसन्धान कै क्रममा रहेका फरार अभियुक्तहरूको खोजीका लागि डिफ्युजन नोटिस, सनाखत नभएका मानव शवको पहिचान गर्नका लागि ब्ल्याक नोटिस, हराएका मानिसहरूको अन्तर्राष्ट्रिय स्तरमा खोजी कार्यका लागि एल्लो नोटिस, अपराधीले अपराध गर्न प्रयोग गरेका हतियार, बिष्फोटक पदार्थ तथा खतराजन्य अन्य चिजबस्तु लुकाएको स्थानको बारेमा जानकारी दिन ओरेन्ज नोटिस, आपराधिक कार्यविधिको बारेमा जानकारी दिन पर्पल नोटिस, व्यक्तिको आपराधिक क्रियाकलापकबाट सार्वजनिक सुरक्षामा हुनसक्ने सम्भावित खतराको बारेमा जानकारी गराउन ग्रीन नोटिस तथा अपराधमा संलग्न व्यक्तिको खोजतलास तथा जानकारी प्राप्त गर्न ब्लु नोटिस जारी हुने गर्छ ।
फरार अभियुक्त पक्राउ सम्बन्धमा प्रहरी नायव महानिरीक्षक ढकाल भन्छन, नेपालमा अपराध गरेर विश्वको जुनसुकै कुनामा गएपनि इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले छोड्दैन ।
सन् १९२३ मा स्थापना भएको इन्टरपोलमा हाल १ सय ९६ सदस्य राष्ट्रहरू छन् ।
नेपाल इन्टरपोलको १०० औं सदस्य राष्ट्र हो । हरेक सदस्य राष्ट्रमा विश्वभरिका सदस्य राष्ट्रहरूसंग सम्पर्क गर्न एक सम्पर्क केन्द्र स्थापना गरिएको हुन्छ, जसलाई नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) भनिन्छ । नेपाल प्रहरी संगठनका प्रहरी प्रमुखले हेड अफ एनसीबीको भूमिका निर्वाह गर्ने व्यवस्था छ । हाल प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर इन्टरपोल नेपालका प्रमुख छन् ।
View : 169
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved