विराटनगर । कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले बेरोजगार जनशक्ति, तालिम प्रदायक संस्था र रोजगारदाताबीच एउटै प्रणालीबाट जोडिने गरी तयार पारेको श्रम संसार पोर्टलको सञ्चालन, प्रयोग र कार्यन्वयन सम्बन्धी निर्देशिकामाथि छलफल अघि बढाएको छ । मन्त्रालयले शुक्रबार विराटनगरमा सरोकारवालाबीच पहिलो चरणको छलफल गरेको हो ।
मोरङ– सुनसरी औद्योगिक क्षेत्रका तीनवटा पालिकाहरू हाल श्रम संसार पोर्टलमा औपचारिक रुपमा जोडिएका छन् । गत बुधबारदेखि विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका र दुहबी नगरपालिका श्रम बजारको सूचना प्रणालीका रुपमा विकास गरिएको श्रम संसारमा जोडिएका हुन् ।
उक्त पोर्टलको कोशी प्रदेशको सामाजिक विकास मन्त्रीको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री केदार कार्कीले औपचारिक रुपमा उद्घाटन गरेका थिए ।
सोही अवसरमा पोर्टल तथा मोबाइल एप्लिकेशनको सञ्चालनका लागि सामाजिक विकास मन्त्रालय, स्विस कन्ट्याक्ट र आसमान नेपालबीच श्रम संसार सञ्चालन र व्यवस्थापन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
सम्झौता अनुसार पोर्टल सञ्चालनका लागि आवश्यक निर्देशिकामाथि मन्त्रालयले थप छलफल अघि बढाउने जनाइएको छ ।
सामाजिक विकास मन्त्रालयका उपसचिव फडिन्द्र खत्रीले सरोकारवालाबीच प्रारम्भिक अवस्थाको छलफल सुरु गरेको बताए । उनले लाभग्राही सरोकारवालाहरूले बढि लाभ पाउन भनेर नै पहिलो चरणमा धेरै सङ्ख्यामा छलफल गरिएको बताए ।
निर्देशिकामा उल्लेख गरिएका विषयहरूबारे मन्त्रालयका कानुन अधिकृत निर्मल भट्टराईले प्रस्तुतिकरण गरेका थिए । छलफलका क्रममा श्रम संसार पोर्टललाई अझ प्रभावकारी बनाउन, सञ्चालनको संयन्त्रमा आर्थिक क्षेत्रका नेतृत्वदायी संस्थाहरूलाई समेट्न सहभागीहरूले आग्रह गरेका थिए ।
श्रम संसारले औद्योगिक क्षेत्रमा बेरोजगारहरूलाई रोजगारी तथा उद्यमशीलताका लागि रोजगारीका क्षेत्रसँग जोड्ने काम गर्दछ । स्टेप अप परियोजना अन्तरगत बेरोजगार युवा, वैदेशिक रोजगारीबाट फर्किएका र कोभिड १९ का कारण बेरोजगार भएकाहरूलाई रोजगारी तथा उद्यमशीलताको माध्यमबाट आयस्तर वृद्धिमा योगदान पुर्याउने उद्देश्य रहेको जनाइएको छ ।
श्रम संसार डटकम तथा त्यसको मोबाइल एप निर्माणको माध्यमबाट श्रमिक तथा बेरोजगारहरूलाई रोजगारदातासँग जोड्न स्विस कन्ट्याक्टले आर्थिक तथा प्राविधिक सहयोग गरेको हो । सञ्चालनको सहजीकरण भने आसमान नेपाल नामक संस्थाले गर्ने गरी सम्झौता भएको मन्त्रालयले जनाएको छ ।
उक्त पोर्टलमा हालसम्म तीनवटा पालिकाका ८० वटा रोजगारदाता र ३ हजार ४ सय बढी बेरोजगार व्यक्ति दर्ता भइसकेको जनाइएको छ ।
View : 140
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved