गोदामचौर, ८ कातिक । नेपाल महिला सङ्घ केन्द्रीय समितिले गोदावरी नगरपालिका–१ स्थित गोदामचौरमा बाढीपहिरो पीडितलाई केन्द्रित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
गोदावरी नगरपालिका स्वास्थ्य शाखाको समन्वय र वीर अस्पतालका चिकित्सकहरूको सहयोगमा आज एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
असोज ११ र १२ गतेको अविरल वर्षासँगै गएको बाढीपहिरोबाट प्रभावित स्थानीय तहमा नेपाली कांग्रेस केन्द्रीय समितिले आफ्ना भातृ तथा शुभेच्छुक सङ्घ संस्थालाई आवश्यक राहत र सहयोगका कार्यक्रम गर्न निर्देशन दिएको थियो ।
सोही निर्देशन बमोजिम स्वास्थ्य शिविर सञ्चालन गरिएको सङ्घका केन्द्रीय अध्यक्ष उषा राउतले जानकारी दिइन् ।
“यसअघि हामीले सङ्घको स्थापना दिवसका अवसरमा काभ्रेपलाञ्चोकका विभिन्न स्थानहरुमा मोबाइल स्वास्थ्य शिविर सञ्चालन गरेका थियौँ, यसपटक वर्षाका कारण प्रभावित गोदावरी नगरपालिका–१ मा शिविर सञ्चालन गरेका हौँ”, उनले भनिन् ।
प्राकृतिक विपद् पश्चात पानीजन्य रोग र सङ्क्रमणबाट मानिसहरू प्रभावित हुनेहुँदा उक्त समस्या समाधानका लागि शिविर सञ्चालन गरिएको उनको भनाइ छ ।
गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले बाढीपहिरोबाट प्रभावित नगरबासीहरुका निमित्त स्वास्थ्य शिविर सञ्चालन गरिनु सराहनीय कार्य भएको बताइन् ।
गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रेवतीरमण कार्कीले नगरवासीको हितका निमित्त शिविर सञ्चालन गरेकामा आयोजकलाई धन्यवाद दिँदै नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
शिविरमा खटिनुभएका वीर अस्पतालका डा अजय पासवानले जनस्तरमा स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा खुसी लागेको बताए ।
सो वडाका वडाअध्यक्ष श्रीराज थापाले शिविर सञ्चालनबाट बाढीपहिरो पीडितहरु लाभान्वित भएको बताए । रासस
View : 86
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved