विराटनगर । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरासम्म पुग्नका लागि निर्माण अघि बढाइएको केबुलकार परियोजनाको विरोधमा उत्रिएका नो केबुलकार अभियानका समर्थक र प्रहरीबीच बिहीबार फेरी झडप भएको छ । झडपका क्रममा १२ प्रहरी र एक प्रदर्शनकारीसहित १३ जना घाइते भएका छन् ।
केबलकारको विरोधमा रहेका आन्दोलनकारीहरूले वृहत सद्भावको नाममा केबलकार निर्माणस्थलको बेस स्टेसन पुगेका थिए ।
उनीहरूले ‘केबलकार बन्द गर’ भन्दै नाराबाजी गर्दै त्यहाँ सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीमाथि ढुंगा हानेपछि झडप भएको जनाइएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड अश्रुग्याँस प्रहार गरेको जनाएको छ ।
भिरालो जमिनको अग्लो स्थानमा रहेका आन्दोलनकारीहरूले होचो ठाउँमा रहेका प्रहरीमाथि ढुंगामुढा गरेको स्थानीय प्रशासनले जनाएको छ ।
घटनामा १२ जना सुरक्षाकर्मी र एक जना प्रदर्शनकारी घाइते भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
‘आन्दोलनकारीहरूले नाराबाजी गर्दै जबरजस्ती अघि बढ्न खोजेपछि प्रहरीले माइकबाट सम्झाउने प्रयास गरेको थियो, तर ढुंगामुढा प्रहार भयो, सम्झाउन खोज्दा पनि प्रहरीमाथि हातपात हुन थालेपछि अवस्था तनावग्रस्त बनेको हो’ प्रजिअ शर्माले भने, ‘प्रहरीले रोक्ने प्रयास गरेको थियो, तर आन्दोलनकारीहरूले केबलकारको बेस स्टेशनमा तोडफोड गर्न खोजे, प्रहरीले सात राउण्ड अश्रुग्याँस हानेको छ ।’
केबुलकारको विरोधमा रहेका आन्दोलनकारी समूहले फागुन ६ देखि पाथीभरामा पदयात्रा गर्दै क्षमा पूजासमेत गरेका थिए ।
उक्त पदयात्राको अन्तिम दिन बिहीबार भने उनीहरूले केबलकार निर्माणस्थलमा तोडफोडको प्रयास गरेको प्रहरीले जनाएको छ ।
झडपपछिको अवस्था भने सामान्य भइसकेको जनाइएको छ । बेस स्टेशनमा थप सुरक्षा सतर्कता अपनाइएको छ ।
उक्त स्थानमा गत माघ १२ मा पनि केबलकार निर्माणको विरोधमा रहेको समूहले प्रहरीमाथि ढुंगामुढा गर्दा भएको झडपमा प्रहरीको गोली लागेर १९ जना प्रहरी र ६ जना आन्दोलनकारी घाइते भएका थिए ।
घाइते मध्ये तेह्रथुमका यामबहादुर लिम्बू, पाँचथरका सगुन लावती र ताप्लेजुङका धर्म पालुङ्वालाई उपचारका लागि काठमाडौं लैजानु परेको थियो ।
सरकारले उनीहरूलाई नेपाली सेनाको जहाजबाट काठमाडौं पुर्याएको थियो ।
View : 21
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved