Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

लिच्छविकालीन हाँडीगाउँलाई जीवन्त सांस्कृतिक सहरका रूपमा विकास गरिँदै

उद्‌घोष सम्वाददाता
१७ मंसिर २०८१, सोमवार

काठमाडौँ, १७ मङ्सिर । काठमाडौँ महानगरपालिकाको बीचभागमा रहेको लिच्छविकालीन हाँडीगाउँ क्षेत्रलाई जीवन्त सांस्कृतिक सहरका रूपमा विकास गर्न लागिएको छ ।

काठमाडौँ महानगरपालिका–५ मा पर्ने यो बस्ती लिच्छविकालीन सहर भए पनि आधुनिक विकासका कारण यहाँका मूर्त, अमूर्त सम्पदाको अस्तित्व सङ्कटमा पर्दै जान थालेका थिए । प्राचीनकालदेखि नै महत्वपूर्ण सम्पदा रहेकामा आधुनिक विकासका छायामा पर्न थालेका यी संरचना महानगरपालिकाको सक्रियतामा फेरि जीवन्त बनाउन लागिएको हो । 

हाल मुख्य सम्पदा क्षेत्रमा प्रत्येक हप्ताको शनिबार एक दिन सवारीसाधन निषेध गर्ने गरिएको छ । महानगरपालिका—५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिले सम्पदा क्षेत्रमा पैदलयात्रा गर्न सहज होस् भनी महानगरपालिकाकै सक्रियतामा यस्तो व्यवस्था गरिएको बताए ।

यहाँ मुख्य सम्पदा क्षेत्रका रूपमा रहेका थटुटोल मार्ग, डटुटोल, कोटालटोल, गहनापोखरी र ङयाल्माटोल क्षेत्रमा शनिबार सवारीसाधन निषेध गर्ने गरिएको उनले सुनाए । 

महानगर परिषद्ले हाँडीगाउँको मुख्य क्षेत्रमा बढीमा ५० फिटभन्दा अग्ला घर बनाउन नपाउने निर्णय पनि गरेको छ । यस क्षेत्रका घरको अगाडिको भाग मौलिक संस्कृति झल्कने गरी बनाउनुपर्ने व्यवस्था पनि गरिएको छ । 

यसरी मौलिक घर बनाउँदा नक्शा पासको ९० प्रतिशत शुल्क छुट गरिएको छ । मौलिक रूपमा निर्माण हुने घरलाई नक्शा पासमा छुटका साथै चार वर्ग छुट्याएर आठ लाखदेखि ३२ लाखसम्म अनुदान दिने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ । मुख्य सम्पदा क्षेत्रमा पर्ने ६४ घरलाई मौलिक स्वरूपमा निर्माण गर्न लागिएको छ ।

यहाँका पाँच वटा ढुङ्गेधारालाई व्यवस्थित बनाइँदै छ । प्राचीनकालमा यहाँ स्थापना भएर आधुनिकतासँगै पुरिएका तीन वटा इनार उत्खनन् गरिएका छन् । लुकमाचोकको इनार, तुँछेँ र हात्तीमहाँकाल मार्गका गरी तीन इनार उत्खनन् गरिएका हुन् । 
 
हाँडीगाउँ क्षेत्रका पुराना फल्चाको स्वरूपलाई आकर्षक बनाइँदै छ । प्रत्येक हप्ता शनिबार सवारी निषेध, सांस्कृतिक कार्यक्रम, परम्परागत नेवारी खाना प्रदर्शन गरी जीवन्त हाँडीगाउँका रूपमा सांस्कृतिक सहरको परिचय दिने गरी व्यवस्था गरिएको महानगर-५ को कार्यालयले जनाएको छ । 

यहाँको भीमसेनस्थानमा फल्चासहितको पुस्तकालय निर्माणका लागि बोलपत्रको तयारी गरिएको जनाइएको छ । दुई करोड ८० लाखको लागतमा सो पुस्तकालय निर्माण गर्न लागिएको हो ।

दुई महिनाभित्रमा हाँडीगाउँ क्षेत्रका सबै सडक कालोपत्र सकिने गरी काम अघि बढाइएको पनि वडाध्यक्ष प्रजापतिले जानकारी दिए । धनगणेश मन्दिर क्षेत्रको पुनःनिर्माण पनि अन्तिम चरणमा पुगेको जनाइएको छ । रासस

View : 103

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved